ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्री शर्माको भनाइ- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्री शर्माको भनाइ

‘यही साता निर्णय हुन्छ’
कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कर्जाको ब्याजदर पनि आकासिएको भन्दै यसले लगानी निरुत्साहित हुने र अर्थतन्त्रमा समस्या आउने बताएका छन् । एकातिर बैंक तथा वित्तीय संस्थामा लगानी गर्न पैसा नभएको र अर्कातिर ब्याजदर अकासिएकाले लगानी निरुत्साहित हुने भएकाले अर्थतन्त्रमा समस्या आउने मन्त्री शर्माले बताएका हुन् ।

बिहीबार ‘नाडा ईभी एक्स्पो २०२२’ को उद्घाटनका क्रममा अर्थमन्त्री शर्माले बैंकले बढाएको यही ब्याजदरलाई इंगित गर्दै त्यसमा सरकारले हस्तक्षेप गर्ने बताएका हुन् । ‘जुन देशमा बैंकमा पैसा राखेर १३ प्रतिशत, १४ प्रतिशत, १५ प्रतिशतसम्म आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन,’ उनले भने, ‘यहीँनिर समस्या छ । यो समस्यालाई हल गर्नु छ ।’

ब्याजदरका विषयमा आफूले सम्बन्धित निकायका प्रतिनिधिहरूसँग छलफल गरिरहेको मन्त्री शर्माको भनाइ छ । उनले व्यवसायी, बैंक र अर्थ मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर आउने हप्ता गम्भीर छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन् । ‘त्यसका लागि मैले निर्देशन गरिसकेको छु,’ उनले भने, ‘यसको केही न केही हल निकाल्नैपर्छ ।’ यस्तै, उत्पादनमूलक क्षेत्रलाई आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडेर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याउने पनि उनले बताए ।

बैंकहरूमा पैसा राख्दा १५ प्रतिशतसम्म ब्याज पाइने भएपछि नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेको उनले बताए । उद्योगमा लगानी गर्दा ८/१० प्रतिशत ब्याज आउने तर बैंकमा राख्दा १५ प्रतिशत र जग्गामा लगाउँदा दुई गुणा बढी ब्याज प्राप्त हुने भएपछि उत्पादनमूलक क्षेत्रमा लगानी निरुत्साहित भइरहेको अर्थमन्त्री शर्माको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाले यही असोज एक गतेदेखि निक्षेपको ब्याज बढाएका छन् । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको १२.१३ प्रतिशत पुर्‍याएका छन् । त्यस्तै, केही बैंकले रेमिट्यान्समार्फतको निक्षेपमा १५‍.१३ प्रतिशत ब्याज दिने घोषणा पनि गरेका छन् ।

प्रकाशित : आश्विन ६, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा स्थापना हुने चिडियाखानाको वनमन्त्रीद्वारा शिलान्यास

भूषण यादव

वीरगन्ज — वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका-३२ मा स्थापना हुने चिडियाखाना (प्राणी उद्यान) को शिलान्यास गरेका छन् । एक अर्ब रुपैयाँभन्दा बढी लागतमा चिडियाखाना स्थापना हुने वनमन्त्री यादवले जनाएका छन् । 

‘वीरगन्जको रामवनमा स्थापना हुन लागेको यो चिडियाखाना समग्र मधेस प्रदेशको एउटा प्रमुख पर्यटकीय स्थलको रुपमा विकास हुने छ,’ वनमन्त्री यादवले भने, ‘साथै यसले यहाँको विकास र समृद्धिका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’

मन्त्री बनेपछि यादवले पर्सामा चिडियाखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भदौ २७ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको थियो । ‘चालू आर्थिक वर्षमा चिडियाखाना स्थापनाका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ,’ वनमन्त्रीले भने, ‘यसलाई हामीले नेपाल सरकारको बहुवर्षीय योजनामा राखेका छौँ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की संयोजक रहेको ८ सदस्यीय स्थलगत अध्ययन कार्यदलले प्रस्तावित क्षेत्रमा सरोकारवालासँग छलफल, राय सुझाव संकलन, सन्दर्भ सामग्रीहरूको अध्ययन तथा तथ्यांक संकलन गरेको थियो । मन्त्रालयको साउन ४ को निर्णयले कार्यदल गठन भएको थियो ।

प्रस्तावित क्षेत्र समथर भू-भाग रहेको, सहज पहुँच भएको, पानीको स्रोत रहेको, विद्युत्‌को पहुँच भएको बताउँदै कार्यदलले ३.१ हेक्टर जमिनमा विद्यमान अतिक्रमण हटाई सबैया साझेदारीसँग जोडिएको क्षेत्रमा तारबार लगाएर चिडियाखाना स्थापना गर्दा उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन कार्यदलले मन्त्रालयलाई पेश गरेका थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार वीरगन्ज ३१ को सोलखपुर र ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । चिडियाखानाको क्षेत्रफलभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएका सबैया साझेलदारी वन क्षेत्रको सिमानामा तारबार गरिने छ ।

सबैया साझेदारी वनको पूर्वी सिमानामा पर्ने प्रस्तावित चिडियाखानको क्षेत्रफल ५० हेक्टर रहेको छ । जसमा घाँस बुट्यान क्षेत्र ३९.४ हेक्टर, सघन क्षेत्र ७.५ र अतिक्रमण क्षेत्र ३.१ हेक्टर रहेको छ । उष्ण साल वन क्षेत्र रहेको त्याहाँ साल, कर्मा मुख्य प्रजाति रहेको छ । कहिलेकाही घुमन्ते बाघसमेत देखिने गरेको छ । अन्य वन्यजन्तुमा चित्तल, खरायो, वन बिरालो, दुम्सी, पुड्के बँदेल, चौँका, गरुड, सारस पनि देख्न पाइन्छ । घस्रिने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यस क्षेत्रमा चिडियाखाना बनाउन उपयुक्त रहेको मन्त्री यादवले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १४:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×