कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नोटको जतन गरौं भन्ने सन्देशसहित भिडियो सार्वजनिक

काठमाडौँ — राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ ।

नोटको जतन गरौं भन्ने सन्देशसहित भिडियो सार्वजनिक

नेपाल राष्ट्र बैंकले कागजी नोटको जतन गरौं भन्ने सन्देश बोकेको चेतनामूलक भिडियो सार्वजनिक गरेको छ । दसैं र तिहारमा बढी नगद कारोबार हुने अवसर पारेर राष्ट्र बैंकले उक्त भिडियो सार्वजनिक गरेको हो । भिडियोमार्फत राष्ट्र बैंकले नोट राष्ट्रको सम्पत्ति हो, सभ्यताको प्रतिक हो, जतनसाथ प्रयोग गरौँ भन्ने सन्देश दिन खोजेको छ ।

नोटलाई जतनसाथ आवश्यक कामका लागि मात्र प्रयोग गर्न, नोटमा रंग नलगाउन, केरमेट नगर्न, पानीमा नभिजाउन, टाँका वा स्टिच नलगाउन र नच्यात्न राष्ट्र बैंकले भनेको छ । उल्लिखित कारणले नोटको आयु घट्ने भएकाले नोटको जतनसाथ प्रयोग गर्न राष्ट्र बैंकले सबैलाई अनुरोध गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपाली नोटहरूको सरदर आयु साढे ३ वर्षमात्र रहेको छ ।

मन्दिर र पुजाआजा गर्दा सुक्खा नोटमात्रै चढाउने, नोट खामभित्र हालेर या डिजिटल वालेटबाट दक्षिणा दिने, नोटलाई पटुका तथा थैलीमा खुम्च्याएर नराख्न पनि राष्ट्र बैंकले भन्दै आएको छ । हिन्दु परम्परामा पूजाआजा गर्दा होस् वा दक्षिणा दिँदा नोटमा टीका लगाउने चलन छ । रंग लागेको हातले दिने र नोटमा टीका छर्किने गर्दा नोट बिग्रन्छ । कतिपयले त नोटलाई खुम्च्याएर राख्छन्, यसरी पनि नोट बिग्रन्छ । यस्ता क्रियाकलापले नोट झुत्रा हुने तथा आयु घट्ने भएकाले त्यसो नगर्न राष्ट्र बैंकले अनुरोध गरेको हो ।

सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सीधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ ।

प्रकाशित : आश्विन ६, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?