कमिसनको स्वार्थमा दूध आयात खुला: कृषक समूह महासंघ- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमिसनको स्वार्थमा दूध आयात खुला: कृषक समूह महासंघ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय कृषक समूह महासंघले कमिसनको प्रलोभनमा भारतबाट दूध आयात खुला भएको आरोप लगाएको छ । दूध आयात खुला गर्ने सरकारको निर्णयले दूग्ध उत्पादक किसानहरू पलायन हुुने महासंघले जनाएको छ ।

‘२०७५ सालदेखि आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेर दूध उत्पादक किसानलाई पलायन गर्ने षड्यन्त्र भइरहेको छ,’ महासंघका अध्यक्ष नवराज बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘किसानलाई तहसनहस बनाउँदै कमिसनको स्वार्थमा आयात गर्न खोजिएको छ । दूध आयात गर्ने निर्णयको महासंघ आपत्ती प्रकट गर्दछ ।’ दूग्ध उत्पादक किसान र सरोकारवाला संघ-संगठनसँग छलफल नगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णय आपत्तीजनक रहेको बस्नेतको भनाइ छ । सरकारको निर्णयले किसानहरू अपमानित भएको उनले बताए ।

डेरीहरूले सुगम क्षेत्रबाट मात्रै दूध संकलन गर्दा बजारमा अभाव देखिएको हो । अध्यक्ष बस्नेतका अनुसार डेरीहरू सहरमा मात्रै केन्द्रित छन् । पूर्वका रामेछाप, खोटाङ, ओखलढुङ्गा, पश्चिममा अछाम, बैतडी, डेटी लगायत पहाडी क्षेत्रमा पुगेका छैनन् । ‘पहाडका किसानले पशुपक्षी पाल्छन्, तर डीडीसी र निजी डेरीहरू त्यहाँ पुग्दैनन,’ उनले भने, ‘जसले गर्दा बजारमा अभाव भएको हो ।’ कोभिड कालअघि दूध उत्पादन पर्याप्त थियो । कोभिड कालसँगै खपत घटेको भन्दै डेरी उद्योगले किसानको दूध संकलन गरिदिएनन् । कतिपय डेरीले दूध संकलन गरे पनि भुक्तानी रोकिदिए । निजी डेरीसँगै सरकारी दूग्ध विकास संस्थानले पनि ३ महिनासम्म बक्यौता राख्यो । किसानले दूधको पैसा समयमै नपाउँदा गाईभैंसीलाई पर्याप्त पशु आहार व्यवस्थापन गर्न सकेनन् । त्यसले गर्दा पनि अभाव भएको हो ।

प्रकाशित : आश्विन ५, २०७९ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्

दौड जित्नेलाई पोखराको प्याकेज

कान्तिपुर संवाददाता

काठमाडौँ — उज्ज्वल तारा स्कुलले हरेक वर्ष गर्दै आएको ‘उज्ज्वल तारा दसैं रन फर गुड हेल्थ दौड’का विजयीलाई यसपालि नगदसहित पोखराको पाँचतारे होटेलमा खानेबस्ने सुविधाको पुरस्कार दिने घोषणा गरेको छ ।

हरेक वर्ष घटस्थापनाअघिको शनिबार हुने दौड यसपालि असोज ८ गते हुनेछ । कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित स्कुल हाताबाट ५ किलोमिटर दुरीमा दौड हुनेछ । दौडमा सात विधा रहेको छ ।

संयोजक महासेनानी विष्णु कार्कीका अनुसार १८ वर्षमाथिका महिला र पुरुष खुला विधाका शीर्ष तीन स्थानका विजेतालाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

अभिभावक विधाका विजेता महिला र पुरुषलाई पोखराको क्राउन हिमालय होटलमा दुई रात खानेबस्ने सुविधाको पुरस्कार प्रदान गरिनेछ । श्रीमान र श्रीमती विधाका दौड विजेता हुनेलाई पोखराको पाँचतारे ग्रान्डी होटलमा एक रातको खानेबस्ने सुविधासहित दुवैलाई आतेजाते हवाई टिकट व्यवस्था गरिएको संयोजक कार्कीले बताए ।

५५ वर्षमाथि समूहका विजेता पुरुष धावक (२ जना) लाई ग्रान्डी होटलमै एक रात बस्नेखाने व्यवस्था तथा विजेता महिला (२ जना) लाई पोखराकै सहारा होटलमा दुई रात खानेबस्ने सुविधाको फुरस्कार व्यवस्था गरिएको छ ।

दौडको तयारीबारे बुधबार जानकारी गराएको थियो । कार्कीका अनुसार दौडमा हालसम्म २ सय जनाले नाम दर्ता गरिसकेका छन् ।

प्रकाशित : आश्विन ५, २०७९ २१:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×