१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिँदै

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण  प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ । 

जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिँदै

जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब २ करोड रुपैयाँ (१५९.०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने छ ।

जापानको सहयोगमा काठमाडौं उपत्यकाको थापाथली, महाराजगञ्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण गरिने भएको हो ।

सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत ब्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ । आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरालगायत सहरमा प्रसारण चुहावट घट्ने; वितरण प्रणालीको क्षमता विस्तार हुने; विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने बताइएको छ ।

आयोजना कार्यान्वयनका लागि बुधबार नेपाल सरकारको तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरेका थिए । त्यसैगरी ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका थिए । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने बताइएको छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युत्‌गृहको जमिन प्रयोग गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?