दूध आयात नगर्न किसानको माग

रमेशकुमार पौडेल

चितवन — सरकारले दूध आयात खुला गरेको भन्दै चितवनका किसानले विरोध गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर दूध आयात गरे आन्दोलनमा जाने चेतावनी दिएको छ । ‘आयात गर्ने निर्णय गरेको भन्ने सूचना हामीलाई आएको छ । चार दिनअघि यस्तो निर्णय भएको रहेछ । निर्णय फिर्ता नलिए हामी आन्दोलन गर्छौं,’ संघका चितवन अध्यक्ष रत्नमणि न्यौपानेले भने ।

दूध आयात नगर्न किसानको माग

आन्दोलनका कार्यक्रम घोषणा गर्न दुग्ध उत्पादक केन्द्रीय सहकारीलाई अनुरोध गरिएको उनले बताए । चितवन संघले २०/२२ दिनअघि नै आयात नखोल्न पहल गर्न भन्दै केन्द्रीय संघलाई जानकारी दिएको उनको भनाइ छ । ‘तर दिनको एक लाख २० हजार लिटर दूध आयात गर्न दिने भनेर सरकारले निर्णय लिँदा केन्द्रीय संघका पदाधिकारीहरूको पनि सहमति छ भन्ने सुन्नमा आएको छ,’ न्यौपानेले भने ।

दूध आयात गर्ने निर्णयले देशका किसानलाई विस्थापित गर्ने भएले केन्द्रीय संघले त्यस्तो निर्णयलाई साथ दिन नहुने उनको धारणा छ । ‘हामीले केन्द्रीय संघले नै आन्दोलन घोषणा गरोस् भनेका छौं । नभए चितवन जिल्लाले नै आन्दोलन आह्वान गर्नेछ,’ न्यौपानेले भने । सरकारले ०७५ सालमा दूध आयात रोकेको संघका जिल्ला उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । ‘त्यसयता दूध पुगेकै थियो । अहिले एक्कासि के आपत् आयो र दूध पुगेन भनियो, बुझ्न सकिएन । माग धान्न सक्ने दूध देशमै उत्पादन भइरहेको छ । त्यसैले आयात गर्नुपर्ने अवस्था देखिँदैन,’ सापकोटाले भने । चितवनमा मात्रै दैनिक साढे तीन लाख लिटर दूध उत्पादन हुन्छ । त्यसको ४५ प्रतिशत बाहिरी जिल्ला जान्छ ।

किसानले भुक्तानीसमेत नपाएको समयमा विदेशबाट दूध ल्याउने तयारी गर्नु दुःखद भएको संघका चितवन सचिव किशोर बगालेको भनाइ छ । ‘भारतबाट दूध ल्याउँदा उधारोमा ल्याउने त हैन होला ? हामीले त उधारोमा उद्योगीलाई दूध दिएका छौं । कैयौं डेरी उद्योगले भुक्तानी दिएका छैनन् । २०/२५ लाखदेखि करोड रुपैयाँसम्म भुक्तानी दिन बाँकी छ । यस्तो समयमा स्वदेशी किसानको दूध नै नकिन्ने योजना किन बन्दै छ,’ बगालेले भने ।

देशलाई जति चाहिने हो, त्यति दूध उत्पादन गर्न किसान सक्षम भएको उनले बताए । ‘किसानले घाटा सहेरै दूध उत्पादन र बिक्री गर्दै आएका छन् । तर कहिले खपत भएन भनिन्छ, कहिले माग धान्न सकिएन, आयात गर्नुपर्‍यो भनिन्छ । यस्तो किन भइरहेको छ ? यसले देशका किसानलाई निराश बनाएको छ । पेसाबाटै विमुख बनाउने अवस्था समेत आउने देखेको छु,’ बगालेले भने ।

प्रकाशित : आश्विन ५, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?