जहाँ चाडबाडकै बेला पुग्दैन चामल

सिमकोटमै चामल नभएपछि श्रीनगर, सर्केगाड, बालुकुना, खार्पुनाथ, छतेला र लिमी डिपोमा मौज्दात शून्य
राजबहादुर शाही

मुगु — ठेक्का प्रक्रियामा ढिलाइ हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चामल ढुवानी बल्ल सुरु गरेको छ । साउन पहिलो सातादेखि नै ढुवानी हुनुपर्ने चामल झन्डै ३ महिनापछि सुरु हुन थालेको हो । सडकको पहुँच नपुगेको हुम्लामा त यो वर्षको चामल अझै ढुवानी भएको छैन । 

जहाँ चाडबाडकै बेला पुग्दैन चामल

गत वर्षको झन्डै २१ सय क्विन्टल चामल आपत्कालीन अवस्थाका लागि राखिएपछि यहाँ डेढ महिनादेखि बिक्रीवितरण बन्द छ । हुम्लामा चामल वितरण गर्न कम्तीमा २२ सय क्विन्टल हुनु अनिवार्य रहेको कम्पनीका निमित्त प्रमुख नवीनप्रसाद अर्यालले बताए । उनका अनुसार यो वर्षका लागि जिल्लाभरि २३ हजार क्विन्टल खाद्यान्न कोटा तोकिएको छ । सदरमुकाम सिमकोटमै चामल नभएपछि श्रीनगर, सर्केगाड, बालुकुना, खार्पुनाथ, छतेला र लिमी डिपोमा चामलको मौज्दात शून्य रहेको उनले बताए । ‘यहाँ जहाजबाट मात्र चामल ढुवानी हुन्छ, टेन्डर प्रक्रिया टुंगिन अझै १५ दिन लाग्ने जानकारी केन्द्रीय कार्यालयले दिएको छ,’ उनले भने, ‘यो वर्ष दसैंअघि त चामल ढुवानी हुने सम्भावनै छैन ।’ ५ वर्षयता कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्लामा असोजअघि कहिल्यै चामल आएको छैन । दसैंको मुखमा मात्र चामल ढुवानी हुन थालेपछि स्थानीय कम्पनीको भर पर्न छोडेका छन् । ‘हामीलाई मुख्य रूपमा चामल चाहिने भनेकै हिमपात र वर्षाका बेला हो,’ मुगुको गमगढीका छत्रबहादुर शाहीले भने, ‘अरू बेला त बारीमा उब्जिएको अन्न पनि भकारीमा हुन्छ ।’ गाउँका डिपोमा त कहिल्यै चामल नपुग्ने उनले बताए । कम्पनीले चामल ढुवानी प्रक्रिया भदौपछि मात्र सुरु गर्दा हिमाली जिल्लाका खाद्य डिपोहरू तीन महिना बन्द हुने गरेका छन् ।

करिब एक महिनादेखि बन्द गमगढीस्थित कम्पनीको शाखा कार्यालयमा चामल आइपुगेको छ । वितरण सुरु भएको छ । कर्णालीवासीलाई दसैंमा मात्र चामल चाहिन्छ भन्ने मानसिकताले सधैं ढिलो गरी चामल आउने गरेको छायानाथरारा नगरपालिकास्थित रुघागाउँका धनजित लावडले बताए । कम्पनीको चामल नपाउँदा बजारको महँगो चामल किन्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘पाँच महिनाजति त हाम्रै अन्नले पुग्छ, खाद्यान्न अभाव हुने भनेकै असारदेखि भदौसम्म हो,’ उनले गुनासो गरे, ‘त्यो बेला पहिलेको अन्न खाइसकिएको हुन्छ, बारीको अन्न पाकेकै हुँदैन, अहिले त धान र मकै पाक्ने बेला भइसक्यो, नचाहिएको बेला चामल आएर के काम ?’

खाद्यान्न ढुवानी सुरु भएको एक सातामा गमगढीमा कम्पनीले झन्डै ७ सय क्विन्टल चामल ढुवानी गरेको थियो । श्रीकोट, सोरुकोट, पुलु, कालै र रातापानी डिपो भने चामल नभएपछि रित्तो छन् । मंगलबारसम्म थप ९ सय क्विन्टल चामल आएको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए । उनका अनुसार यो वर्ष जिल्लाभर झन्डै १६ हजार क्विन्टल खाद्यान्नको कोटा तोकिएको छ । स्थानीय भने यो वर्ष पनि खाद्यमा दसैंभरि पुग्ने गरी चामल नआउने चिन्ता गर्छन् । ‘बारीको अन्न पाकेको छैन, खाद्यमा चामल नआए कसरी दसैं मनाउने ?’ सोरु गाउँपालिकाका रग नेपालीले भने, ‘सदरमुकाममा त चामल आयो भन्छन्, यहाँ कहिले पुग्छ ?’

सोरुकै प्रेमबहादुर विकका अनुसार कम्पनीमा ४९ रुपैयाँ प्रतिकिलो पाइने मोटा चामल बजारमा कम्तीमा ९० रुपैयाँ पर्छ । ‘अरू चामल त पाइँदैन, मोटा चामल पनि दोब्बर मूल्यमा किन्नुपर्छ,’ उनले भने, ‘कच्चे, तारापानी, नुवाकोट, सिप, बुम्च, कालै, सिडडी र खनायाका स्थानीयलाई लक्षित गरी सोरुको कालैमा बिक्री केन्द्र खोलिए पनि असारदेखि रित्तो छ ।’ डिपोमा कर्मचारी नहुँदा ठेकेदारले चामल ल्याएर आफूखुसी बिक्री गरी सहर फर्किने गरेको उनले सुनाए । डोल्पामा पनि दसैंको मुखमा मात्र चामल आउने समस्याले स्थानीय आजित छन् । ‘हामीलाई चामल चाहिने भनेकै बर्खा र हिमपातअघि हो,’ शेफोक्सुन्डो–३ का जवाहन लामाले भने, ‘तर त्यो बेला कहिल्यै चामल हुँदैन, चैतदेखि जेठसम्म ३ महिना हाम्रै उत्पादनले पनि खान पुग्छ ।’ पाँच वर्षयता दसैं–तिहारमा पनि फोक्सुन्डोका बासिन्दाले चामल पाएका छैनन् । अनुदानको चामल गाउँमा नआउँदा स्थानीयले प्रतिक्विन्टल १२ हजारदेखि २० हजार रुपैयाँसम्म तिर्नुपर्ने लामाले बताए । गत वर्ष माथिल्लो डोल्पाका डिपोमा कम्पनीले मंसिर १७ पछि मात्रै चामल पठाएको थियो ।

शे–फोक्सुन्डो डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो । गाउँपालिकामा झन्डै ४७ सय जनाको बसोबास छ, जहाँ चीनको बाटो भएर चामल ढुवानी हुन्थ्यो । ‘कोरोनाको कारण देखाउँदै चीनले ३ वर्षदेखि चामल ढुवानी गर्न दिएको छैन,’ गाउँपालिका अध्यक्ष धावासुन्दुक गुरुङले भने, ‘हाम्रा जनताले चाडबाडमा पनि पेटभरि चामल खान पाउँदैनन् ।’ ५ हजार क्विन्टल चामल माग गरिए पनि गत वर्ष कम्पनीले १ हजार ७ सय ६७ क्विन्टल मात्र पठाएको उनको भनाइ छ । यस वर्ष पनि ५ हजार क्विन्टल चामल माग गरिएकामा कति चामल आउने हो, केही थाहा नभएको उनले गुनासो गरे ।

प्रकाशित : आश्विन ५, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?