कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुड्खु–तीनपिप्ले सडकको ठेक्का कमलजीत-ड्रागन जेभीलाई दिइँदै

काठमाडौँ — बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डको ठेक्का कमलजीत–ड्रागन जेभीलाई दिने तयारी भएको छ । सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गरेको उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी रहेको सडक विभागले जनाएको छ ।

मुड्खु–तीनपिप्ले सडकको ठेक्का कमलजीत-ड्रागन जेभीलाई दिइँदै

रानीपौवा–त्रिशूली सडक विस्तार आयोजनाका प्रमुख गौतम श्रेष्ठका अनुसार ठेक्का सम्झौता हुने क्रममा छ । ‘कम्पनी छनोट भएको भन्ने आशयको सूचना निकालीसकिएको छ,’ उनले भने, ‘अन्य कुनै कम्पनीले उजुरबाजुर नगरे केही दिनभित्रमा ठेक्का स्म्झौता गरिनेछ ।’ ठेक्का रकम १५ करोड रुपैयाँ रहेको र चार महिनाभित्र सडक निर्माणको काम सकिसक्नुपर्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘११ करोड रुपैयाँ रकमान्तर गरेर अर्थ मन्त्रालय पठाइएको छ, थप चार करोड पनि रकमान्तर गर्ने तयारी भएको छ,’ उनले भने, ‘केही दिनभित्र अर्थ मन्त्रालयबाट सहमति प्राप्त हुनेछ ।’

तोकिएको समयमा सडक निर्माणको काम नसकिए ठेक्काको म्याद नथपिने सडक विभागले जनाएको छ । बालाजु–रानीपौवा सडक टुक्र्याएर ५.५ किलोमिटर दूरीको बीचको खण्ड ‘फास्ट ट्रयाक’मा स्तरोन्नति गर्न ठेक्का गरिएको हो । बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन । पटक-पटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेपछि उक्त ठेक्का तोडेर नयाँ ठेक्का गर्ने तयारी भएको छ । यही सडकमध्ये मुड्खु–तीनपिप्ले एउटा खण्ड रहेको महानिर्देशक थापाले बताए ।

सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोडेको थियो । ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखिसकेको छ । ‘मुड्खुदेखि तीनपिप्लेसम्मको सडकमा समस्या छ, फोहोर बोकेर बन्चरेडाँडा जाने सडक पनि यही हो,’ महानिर्देशक थापाले भने, ‘यसलाई मूल ठेक्काबाट छुट्याएर छिटो विधिबाट काम गर्न मन्त्रिपरिषद्मा सहमतिका लागि पठाइएको थियो । त्यहीअनुसार ठेक्का सम्झौताको अन्तिम तयारीमा छौं ।’ काठमाडौंको फोहोर लैजान सडकका कारण समस्या भइरहेकाले चाँडो निर्माण सक्नेगरी ठेक्का गरिएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ४, २०७९ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?