दूध आयात खोलेको भन्दै चितवनका किसान विरोधमा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

दूध आयात खोलेको भन्दै चितवनका किसान विरोधमा

रमेशकुमार पौडेल

चितवन — सरकारले दूध आयात खोलेको भन्दै दूध उत्पादन गर्ने चितवनका किसानहरूले उक्त निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन राखेर दूध आयात खोल्ने सरकारको निर्णयको विरोध गरेको छ ।

'आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न हामीले केन्द्रीय संघलाई अनुरोध गरेका छौं । केन्द्रले आन्दोलन घोषणा गर्नेमा हामी आशावादी छौं । गरेन भने चितवन नै आन्दोलनमा उत्रन्छ,' संघका जिल्ला अध्यक्ष रत्नमणि न्यौपानेले भने ।

संघका जिल्ला उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले ७५ सालयता रोकिएको आयात सरकारले चार दिनअघि खोल्ने निर्णय गरेको बताए । डेरी उद्योगीलाई भारतबाट दैनिक डेढ लाख लिटर दूध आयात गर्न सरकारले स्वीकृति दिएको उनको भनाइ छ ।

देशको उत्पादनले माग धान्ने अवस्था रहँदा रहँदै आयात खोलेको हुँदा नेपाली किसान मर्कामा पर्ने संघका सचिव किशोर बगालेको भनाइ छ । डेरी उद्योगीहरूले नेपाली किसानबाट उधारोमा किनेको दूधको भुक्तानीसमेत लामो समयदेखि नदिएको उनले बताए । 'नेपाली किसानले उधारोमा दूध दिएका छन् । दसैंका बेलामा पनि भुक्तानी पाउन गाह्रो छ । यस्तो अवस्थामा के देखेर सरकारले दूध आयात खुला गरेको हो ? हामी छक्क परेका छौं,' बगालेले भने ।

प्रकाशित : आश्विन ४, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

नारायणी पुलबाट एकपछि अर्को आत्महत्या

भदौमा ५ जनाले हाम फाले, एकको मात्रै जीवितै उद्धार
पुल दायाँबायाँ छेकबार आवश्यक रहेकोमा सरोकारवालाको जोड
रमेशकुमार पौडेल

चितवन — गत भदौ ७ गते दिउँसो ३ बजेतिर खैहरनी नगरपालिका–७ सुर्तनाकी २६ वर्षीया रिचा उप्रेतीले नारायणी पुलबाट नदीमा हाम फालिन् । त्यसको भोलिपल्टै (भदौ ८) दिउँसो पौने ४ बजेतिर भरतपुर–४ वैदिक टोलका ४९ वर्षीय पुरुष उक्त पुलबाटै नदीमा हेलिए । ४ दिनपछि पनि त्यस्तै घटना दोहोरियो । भदौ १२ मा एक पुरुष पुलमा स्कुटर रोकेर नदीमा हाम फाले ।



यो सिलसिला यसै रोकिएन । चितवन प्रहरीका अनुसार भदौ २१ गते बिहान ९ बजेतिर अर्का एक २५/३० वर्षका पुरुष पुलबाटै नदीमा हाम फाले । भदौ ३० गते साँझ ७ बजेतिर कालिका नगरपालिका–७ का ३२ वर्षीय अनुप पोखरेल पनि नारायणी नदीमा हाम फाले । पोखरेल पनि स्कुटर चढेरै पुलसम्म आएका थिए । नदीमा हाल फाल्नुअघि उनले मोबाइलसमेत पुलमै छाडेका थिए ।

नारायणगढ र गैंडाकोट जोड्ने नारायणी नदीको पुलबाट गत भदौमा मात्रै ५ जना भेलमा हेलिए । तीमध्ये एक जनाको मात्रै उद्धार हुन सक्यो । बाँकी ४ जना बेपत्ता छन् । ५ सय मिटर लामो पुलको दायाँबायाँ करिब ३ फिट मात्रै अग्लो रेलिङ छ । ‘महिना दिनभित्रै भएका यति धेरै घटनाले अवस्था चिन्ताजनक छ भन्ने दर्शाएको छ,’ चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले भने । उनका अनुसार गत साउन र भदौमा मात्रै जिल्लाभर २५ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा २ सय १४ जनाले आत्महत्या गर्दा नारायणीमा हाम फाल्नेहरू ४ जना थिए । तर, अहिले यो सिलसिला निकै बढेको हो ।

गत जेठ ६ को साँझ आएको हावाहुरीले पुलको दायाँतर्फ रहेका बिजुलीका सबै पोलहरू ढलाएको थियो । अहिले पुल खुला देखिन्छ । ‘पुलमा नदीमा हाम फाल्न नमिल्ने गरी छेकबार लगाउनुपर्ने हो तर त्यस्तो छैन । खुला छ,’ डीएसपी पण्डितले भने, ‘पोखराको महेन्द्रपुलमा बार लगाएको देखेको थिएँ । अब यहाँ पनि त्यसो गर्नु आवश्यक देखिन्छ ।’ आत्महत्या गर्न पुलबाट फाल हाल्ने समस्या नौलो पनि होइन ।

३ वर्षअघि पनि यस्तै घटना दोहोरिएका थिए । २०७६ कात्तिक १० मा एकै पटक २ जना पुलबाट नदीमा हेलिएका थिए । त्यस वर्षको जेठ, असार र साउनमा पनि यस्तै १/१ वटा घटना भएका थिए । हरेक महिनाजस्तै अत्महत्याका घटना दोहोरिन थालेपछि रोकथामका लागि पहल गर्न युवाहरूले स्थानीय तहलाई झकझक्याएका पनि हुन् । भरतपुर महानगर युवा सञ्जालले तत्कालीन भरतपुर महानगर प्रमुख रेनु दाहाललाई कात्तिक १८ मा ज्ञापनपत्र बुझाएको थियो । सञ्जालले तत्कालीन गैंडाकोट नगरप्रमुख छत्रराज पौडेललाई पनि ज्ञापनपत्र बुझाएर आत्महत्याविरुद्ध अभियान चलाउन र नारायणी पुलबाट हुने आत्महत्याका घटना रोक्न पुलमा बार लगाउन आवश्यक पहल गर्न अनुरोध गरेको थियो । तर, पुलको किनारामा छेकबार लगाउन कसैको ध्यान गएन ।

मानसिक रोग विशेषज्ञ डा. सीपी सेढाईं नारायणी पुलबाट लगातारजसो यस्ता घटना हुनु चिन्ताको विषय भएको बताउँछन् । ‘यस्तो हुनु ज्यादै नराम्रो हो । लगातार जसो घटना हुन थालेपछि प्रहरीले त्यो क्षेत्रमा सक्रियता बढाउनुपर्छ । यसलाई गम्भीर रूपमा लिएर पुलमा छेकबार बनाउनुपर्छ,’ डा. सेढाईंले भने । जनचेतनाका अलावा छेकबार बनाइनु पनि आत्महत्या रोकथामका लागि सहयोगी हुने उनको भनाइ छ ।

‘मर्छु भन्ने मन बनाएर गएको मान्छे पुलमा पुग्दा केही नदेखेपछि आत्महत्या गर्ने हो । यदि त्यहाँ सुरक्षा प्रबन्ध छ भने उसको विचार बदलिन सक्छ । एक पटक विचार बदलेपछि दोहोर्‍याएर आत्महत्या गर्ने विचारमा पुग्ने मान्छे कमै हुन्छन्,’ उनले भने । सुरक्षा र उद्धार प्रहरीको जिम्मेवारीभित्र पर्छ । आत्महत्याका घटना बढ्न थालेपछि गैंडाकोट र नारायणगढको प्रहरी संयन्त्र सतर्क बनेको डीएसपी पण्डितले दाबी गरे ।

तर, प्रायः घटना भएपछि मात्रै प्रहरी सक्रिय हुने गरेको छ । भदौमा भएका ५ मध्ये एउटा घटनामा मात्रै प्रहरीले हाम फाल्ने व्यक्तिको जीवितै उद्धार गर्न सकेको थियो । नारायणी पुलबाट मात्रै होइन, मुग्लिङ पुलबाट पनि भदौ ३१ गते साँझ साढे ५ बजेतिर एक व्यक्ति पुलमा मोटरसाइकल र झोला राखेर त्रिशूली नदीमा हाम फालेका थिए । ती व्यक्तिलाई खोज्न तत्कालै प्रहरी जुटेको थियो । तर, उनको शव आइतबार मात्रै मंगलपुर गणेश मन्दिरपारि नारायणीको भंगालोमा भेटिएको थियो ।

प्रहरीले खोजतलास गरेर नभई, स्थानीयले दिएको सूचनाका आधारमा उक्त शव भेटिएको थियो । विपद्का घटनामा उद्धारमा खट्ने प्रहरीहरू नै नदीमा हाम फालेको व्यक्तिको खोजीमा जुट्ने गरेको डीएसपी पण्डित बताउँछन् । तर, खोजीका लागि केही सामग्री भए पनि पर्याप्त भने नभएको उद्धारमा खटिने सुरक्षाकर्मीको भनाइ छ ।

प्रकाशित : आश्विन ४, २०७९ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×