कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

देशभर पुग्दै टीकापुरको केरा

५ सय हेक्टरमा ३५० भन्दा बढी किसानले गर्छन् खेती, वर्षमा करिब साढे १७ हजार टन बिक्री
मोहन बुडाऐर

धनगढी — कैलालीको टीकापुर नगरपालिका–४ बागमाराका ४२ वर्षीय टेकेन्द्र धामीलाई अहिले केराको अग्रिम बुकिङ लिन र माग भएको ठाउँमा पठाउन भ्याइनभ्याई छ । उनको बारीबाट दैनिक ४/५ गाडी केरा नेपालका मध्य तथा पूर्वी सहरतिर पैठारी भइरहेको छ ।

देशभर पुग्दै टीकापुरको केरा

एक गाडी केरा धनगढी, अत्तरिया र दिपायलसम्म पठाइरहेका छन् । उनले १३ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । अहिले पाक्ने समय भएकाले उनलाई केरा काट्न र बिक्री गर्न भ्याइनभ्याई भएको हो । ‘यो सिजनमा करिब ४ सय टन केरा उत्पादन हुने अपेक्षा छ । त्यसैअनुसार व्यापारीबाट बुकिङ लिइरहेको छु,’ उनले भने ।

पश्चिम नेपालमा केराको व्यावसायिक उत्पादन गर्ने क्षेत्रका रूपमा कैलालीको टीकापुर पर्छ । अहिले यहाँका केरा बगानबाट मुलुकका विभिन्न सहरमा केरा पैठारी भइरहेको छ । जसमा राजधानी काठमाडौंदेखि पोखरा, बुटवल, नारायणगढ, धनगढीलगायत सहर छन् । दाङदेखि पश्चिमतर्फ जाँदा टीकापुरमै सबैभन्दा धेरै क्षेत्रफलमा केरा खेती भइरहेको छ । जहाँ व्यावसायिक रूपमै केरा खेती गर्ने किसानको संख्या ३ सय ५० भन्दा बढी छ । कुल ५ सय हेक्टरमा खेती भइरहेको छ । प्रतिहेक्टर ३५ टनसम्म उत्पादन हुने गरेको छ । जसअनुसार वर्षमा साढे १७ हजार मेट्रिक टन उत्पादन हुने गरेको केरा व्यवसायी संघले जनाएको छ ।

‘टीकापुरका किसान केरा खेतीमा अझै धेरै लगानी र मिहिनेत गरेर उत्पादन बढाउन सक्ने क्षमता राख्छन्,’ संघका सचिवसमेत रहेका धामीले भने, ‘तर सरकारले भारतबाट हुने केरा आयात सम्बन्धमा कडा नीति बनाइदिनुपर्ने अवस्था आएको छ ।’ भारतबाट आयात हुने केरासँग नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । सरकारले नाकामा केराको गुणस्तर जाँचमा मात्रै कडाइ गरिदिने हो भने नेपाली केराले राम्रो बजार पाउने उनको दाबी छ ।

‘भारतबाट गुणस्तरहीन विषादीयुक्त केरा सस्तो मूल्यमा नेपाली बजारमा आउँछ, त्यसमाथि भारत सरकारले उत्पादनमा अनुदान दिएकाले उत्पादन लागत नै कम पर्न आउँछ,’ उनले भने, ‘तर तुलनात्मक रूपमा लागत बढी पर्ने भएकाले नेपाली केराले भारतको केरासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन ।’ किसानले प्रतिकिलो ३० रुपैयाँमा व्यापारीलाई बेच्नुपरेको उनको भनाइ छ । ‘उत्पादन गरेर पनि राम्रो मूल्य मिल्दैन, न त सरकारले नै तालिम, औजार, विषादीमा कुनै अनुदान नै दिन्छ,’ उनले गुनासो गरे । केरा किसानलाई प्राविधिक ज्ञान तथा मेसिनरी औजारमा अनुदान दिँदै आएको रानी–जमरा सिँचाइ आयोजनाका कृषि कार्यक्रम प्रमुख गोविन्द जोशीको दाबी छ । आयोजनाको सिञ्चित क्षेत्रभित्र १० कट्ठाभन्दा बढी जग्गामा केरा खेती गर्ने किसानलाई अनुदान दिने गरिएको उनले जनाए । ‘केराको लागत मूल्यको मूल्यांकन गरी प्रतिबोटमा ५० प्रतिशत र अन्य प्रविधिमा ७५ प्रतिशतसम्म अनुदान दिइने गरेको छ,’ उनले भने, ‘अहिलेसम्म टीकापुरका ३ सय ५० जना किसानलाई सहयोग गरिसकिएको छ ।’

आयोजनाले केराको बेर्ना, थोपा सिँचाइ र मलखादमा बढी अनुदान दिने गरेको छ । केरा पकाउन च्याम्बर खरिदका लागि १ करोड ९० लाख रुपैयाँ उपलब्ध गराइए पनि किसानले विभिन्न कारण सञ्चालन गर्न भने सकेका छैनन् ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?