‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त’

सुरज कुँवर

काठमाडौँ — सर्वोच्च अदालतको परमादेशअनुसार सरकारले एक महिनाअघि गठन गरेको ११ सदस्यीय नेपाली विज्ञ समूहले बाराको निजगढमै पूर्ण क्षमताको वातावरणमैत्री अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित समूहको प्रतिवेदनले काठमाडौं–तराई द्रुतमार्ग र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा र बकैया नदीबीचको करिब ९ हजार हेक्टर क्षेत्रफलभित्रको करिब ४ हजार हेक्टर क्षेत्रभित्र विमानस्थल उपयुक्त हुने भनेको छ । अब निर्माणमा ढिलाइ गर्दा लागत वृद्धि हुने भएकाले अधिकारसम्पन्न संस्था गठन गरेर त्यसमार्फत विमानस्थल निर्माण थालिहाल्न सरकारलाई सुझाएको छ ।

विशेष अधिकारसम्पन्न विकास संस्था गठन गरी यसलाई समयबद्ध रूपमा छिटो निर्माण गर्नुपर्ने सुझावसमेत विज्ञ समूहको छ । पहिलो पटक ०५१ सालमा सरकारमातहतको सरकारी इन्जिनियरहरूको संस्थाले गरेको अध्ययनपछि यो नेपालीले गरेको दोस्रो र कोरियन कम्पनी एलएमडब्लूले ०६८ मा गरेको विस्तृत अध्ययनलाई समेत समेट्दा विमानस्थल निर्माण गर्न सकिने आशयमा भएको यो तेस्रो अध्ययन हो । समूहले पहिलो चरणमा विमानस्थल निर्माण गर्न टागिया बस्ती रहेको ३ सय ९३ हेक्टर र पातलो वन क्षेत्र भएको कोल्हवी नगरपालिकाको वडा नम्बर ३, ६ र ८ भित्र पर्ने १ हजार ५ सय ४० गरी १ हजार ९ सय ३३ हेक्टर क्षेत्रमा विमानस्थल निर्माण गर्न सकिने राय दिएको छ । यसअघि स्मार्ट सिटीसहित विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर क्षेत्रफल चाहिने र २४ लाख रूख काट्नुपर्ने देखिएको थियो । वातावरण अभियन्ताहरूले यसको विरोध गरेका थिए । अहिले भने विज्ञ समूहले स्मार्ट सिटी बनाउनु नपर्ने उल्लेख गरेको छ ।

प्रतिवेदनले विमानस्थल निर्माण गर्न करिब १ खर्ब २० अर्ब रुपैयाँ हाराहारी लगानी आवश्यक पर्ने जनाएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । ‘प्रतिवेदनले बारामा पूर्ण क्षमताको विमानस्थल निर्माण गर्न ७ वर्ष समय लाग्ने भनेको छ,’ उनले भने, ‘यसका लागि सरकारले ६० र प्राधिकरणले ४० प्रतिशत लगानी साझेदारीमा निर्माण गर्न सक्ने छ ।’ पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि बाराको कोल्हवी नगरपालिका उपयुक्त भएको प्रतिवेदनको दाबी छ । ‘चराचुरुंगीहरूको हकमा लामो दूरीको अन्तर्राष्ट्रिय बसाइँसराइ गर्ने तथा हवाई दुर्घटनाका कारक हुन सक्ने ठूला प्रजातिका चरा जस्तै हाँस, चील, गिद्धहरूको मार्ग निर्माणस्थल नजिक देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनले बारामा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए भारत र चीन जोड्ने नेपालको हवाई आकाशमाथि उड्ने गरी प्रस्ताव गरिएको हिमालय–२ रुट (काठमाडौं–गुवाहाटी–कुनमिङ) र काठमाडौं–महेन्द्रनगर–दिल्ली जोड्ने लिमा–६२६ रुटलाई दुईतर्फी बनाउनुपर्ने सुझाएको छ ।

चार पाँच दशकपछिसम्म नेपालमा बढ्दो हवाई ट्राफिक तथा नयाँ ठूला विमानको सञ्चालन धान्न सक्ने गरी चरणबद्ध विकास गर्न सकिने वातावरणमैत्री अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भएकाले बारामा विमानस्थल उपयोगी भएको पनि प्रतिवेदनले बताएको छ ।

प्रधानमन्त्री देउवाले विमानस्थलको काम चाँडै काम थाल्ने बताएको र विज्ञ समूहको सुझावअनुसार निर्माण अघि बढाइने पर्यटनमन्त्री जीवनराम श्रेष्ठले प्रतिक्रिया दिए । विज्ञ समूहमा पूर्वसचिव रामेश्वर खनाल, योजनाविज्ञ सूर्यराज आचार्य, सहरी विकासविज्ञ संगीता सिंह, वन्यजन्तु तथा वातावरण विज्ञ प्रेमबहादुर बुढा, वनस्पति तथा वातावरण विज्ञ सुरेशकुमार घिमिरे, समाजशास्त्री लछी सिंह, नेपाल वायुसेवा निगमबाट अवकाशप्राप्त पाइलट कृष्णविक्रम पौडेल, वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली र हवाई रुट विज्ञ महेशकुमार बस्नेत सदस्य थिए ।

प्रकाशित : आश्विन ३, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्

विवादपछि पर्यटन बोर्डको १ अर्ब रुपैयाँको बजेट पारित भएन  

सुरज कुँवर

काठमाडौँ — बजेट मस्यौदा सञ्चालक समितिको बैठकमा पेस हुनुअघि नै बाहिरिएपछि पर्यटन बोर्डले शुक्रबार ल्याउने तयारी गरेको १ अर्ब २० करोड रुपैयाँको प्रस्तावित बजेट, नीति तथा कार्यक्रम स्थगन भएको छ ।

चालु आर्थिक वर्षका लागि १ अर्ब २० करोड ३६ लाख रुपैयाँ आय प्रक्षेपित गरिएको बजेटका लागि बोर्डको सञ्चालक समितिका सदस्य सचिव धनञ्जय रेग्मीले बिहीबार बोर्डका अध्यक्ष पर्यटन सचिवसहित १० जना सञ्चालक समिति सदस्यलाई ३ सय २७ औं बैठकमा उपस्थितिका लागि डाकेका थिए ।

‘सञ्चालक समितिको बैठकमा शुक्रबार बजेटको एजेन्डा थियो,’ छलफलमा सहभागी एक बोर्ड सदस्यले कान्तिपुरसँग भने,‘छलफलमा ल्याइनुअघि नै बोर्ड बजेट मस्यौदा बाहिरिएको भन्दै सदस्य मिलन देवकोटाले विरोध जनाउनु भयो । अर्का सदस्य कृष्ण कुमार साहले कार्यक्रमहरु नसमेटिएकोमा असहमति जनाएपछि बोर्डको बैठक नै नबसी स्थगन भयो ।’

पर्यटन सचिव अध्यक्ष रहने बोर्डको सञ्चालक समितिमा निजी क्षेत्रका ५ जना पर्यटन व्यवसायी र सरकारतर्फका ५ जना पदाधिकारी गरी १० जना सदस्य रहन्छन । बजेट बनाउने उपसमितिका संयोजक मदन आचार्यका अनुसार, निजी क्षेत्रका ५ जना व्यवसायी प्रतिनिधि र अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीमात्रै उपस्थित थिए । उनका अनुसार, पर्यटन सचिव (अध्यक्ष) सुरेश अधिकारीले अस्वस्थ्य रहेकाले अपस्थित हुन नसक्ने भनेका थिए । बोर्डका सदस्य कृष्ण कुमार साहले चाँडै चुनावको आचारसंहिता लागू हुने भएकाले बजेट पारित गर्न बैठक डाकिएको बताए ।

बोर्डले चालु वर्ष नेपालमा ७ लाख पर्यटक आउने प्रक्षेपण गर्दै प्रतिपर्यटक १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्क ७३ करोड संकलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै ती पर्यटक पदयात्रा जाँदा थप ९ करोड ५८ लाख उठाउने मस्यौदामा उल्लेख गरिएको छ । तर, बोर्डका केही निर्देशक, प्रबन्धक र सञ्चालक समितिका सदस्यहरुले ७ लाख पर्यटक नेपालमा आउने अनुमान हचुवा भएको जनाउँदै नजिकिँदै गरेको संघीय र प्रदेश चुनावमा नेताहरू रिझाउन बोर्डका सीईओ धनञ्जय रेग्मी र बजेट उपसमितिका संयोजक आचार्यले बजेटको अंक अत्यधिक वृद्धि गरेको आरोप लगाएका छन् ।

पछिल्ला वर्ष पर्यटक आगमन अत्यधिक न्यून रहेको छ । गत वर्ष ३ लाख हाराहारी पर्यटक आउँदा बोर्डले ३० करोड, त्यसअघि २२ करोड र ०७७/७८ मा ५ करोड रुपैयाँ पर्यटन सेवा शुल्कबाट संकलन गरेको थियो । नेपालबाट फर्किने विदेशीसँग त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा टिकटबाट संकलन गरिने एक हजार रुपैयाँ नै बोर्डको मुख्य आम्दानीको स्रोत हो । यसैबीच बोर्डले सञ्चित गरेर राखेको पदयात्री पर्यटन व्यवस्थापन शुल्क (टिम्स) बाट ३० प्रतिशत रकम २६ करोड रुपैयाँ पनि चालु वर्ष रकमान्तर गर्ने प्रस्तावित बजेट मस्यौदामा उल्लेख गरिएको छ ।

बोर्डले यस वर्ष विदेश भम्रण (सेल्स मिसन, मेलामा सहभागी) का लागि २९ करोड रुपैयाँ, पर्यटन सम्पदा विकास निर्माणका लागि १५ करोड रुपैयाँ, प्रचारप्रसारका लागि ९ करोड, अनुसन्धानका लागि ९ करोड, कार्यालय सञ्चालनतर्फ २२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बोर्डको बजेट विवादबारे सीईओ रेग्मीसँग कान्तिपुरले प्रतिक्रिया माग्दा उनले जवाफ दिएनन् । बोर्ड सञ्चालक समितिको अर्को बैठक आइतबार बिहान बोलाइएको छ ।

प्रकाशित : आश्विन १, २०७९ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×