पर्यटन बोर्डमा हचुवाको भरमा बजेट नल्याउन कर्मचारीको ज्ञापनपत्र- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन बोर्डमा हचुवाको भरमा बजेट नल्याउन कर्मचारीको ज्ञापनपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — विगत एक महिनादेखि बजेट बनाउने क्रममा रहेको नेपाल पर्यटन बोर्डको सञ्चालक समितिलाई त्यहाँ कार्यरत कर्मचारीले हचुवाको भरमा चुनावी बजेट नल्याउन हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् ।

बोर्डका एक प्रबन्धकका अनुसार सञ्चालक समितिले गठन गरेको बजेट उपसमितिले पर्यटकको संख्या ७ लाख पुग्ने अनुमानका आधारमा चालु वर्षमा १ अर्ब २० करोड रुपैयाँ आय/व्यय प्रक्षेपणसहितको बजेट नल्याउन आइतबार बिहान बैठक बसिरहँदा बोर्डका कर्मचारीहरूले हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका हुन् ।

‘संघ र प्रदेशको चुनावमा आफ्ना दलका नेतालाई खुसी बनाउन बोर्डमा रहेका ती दलका प्रतिनिधिले हचुवाको भरमा पूर्वाधारमा बजेट थोपरेका छन्,’ एक वरिष्ठ अधिकृतले भने, ‘पर्यटन मन्त्रालय, पर्यटन विभाग, स्थानीय तह, प्रदेश सरकार हुँदाहुँदै पूर्वाधारमा बोर्डको स्रोत दुरुपयोग गर्ने गरी बजेट बनाएको देखियो ।’ ती अधिकृतले पर्यटकबाट उठाइएको रकमको हालसम्मकै सबैभन्दा बढी दुरुपयोग भएको बताउँदै भने, ‘पर्यटन बोर्डको ऐनले जे गर्नु भनेको छ‚ त्यो कार्यका लागि बजेट छैन; यो बोर्डका सञ्चालक समितिका सदस्यहरूले अधिकार दुरुपयोग गरे । बजेटमा गृहकार्य पुगेकै देखिँदैन ।’

कर्मचारीले सञ्चालक समितिलाई चालु वर्षको बजेटले कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेकाले त्यसकै आधारमा बोर्डका कर्मचारीहरूको पनि तलब समायोजन गर्न माग गरेका छन् । ‘आइतबार बिहानै बोर्डका अध्यक्ष पर्यटनसचिव सुरेश अधिकारीलाई ज्ञापनपत्र दियौं । हाम्रा माग सम्बोधन नभए विरोधका कार्यक्रम घोषण गर्ने छौं,’ अर्का अधिकृतले भने ।

चुनावको आचारसंहिता लागू हुने भएकाले पर्यटन बोर्डले शुक्रबार बजेट पारित गर्न बैठक बोलाएको थियो ।

बजेट मस्यौदा सञ्चालक समितिको बैठकमा पेश हुनुअघि नै बाहिरिएको जनाउँदै बोर्ड सदस्यहरूले आपत्ति जनाएपछि अहिले बोर्डमा बजेट पारित गर्न बैठक बसिरहेको छ ।

बोर्डले चालु वर्ष नेपालमा ७ लाख पर्यटक आउने प्रक्षेपण गर्दै तीबाट प्रतिपर्यटक १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्क ७३ करोड संकलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै ती पर्यटक पदयात्रा जाँदा थप ९ करोड ५८ लाख उठाउने मस्यौदामा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र:

प्रकाशित : आश्विन २, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

१३ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले एक युवकलाई ललितपुरबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार दोलखाको शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अनिश भुजेलले भदौ ३० गते राति आफू कार्यरत भक्तपुर नगरपालिका–१ दूधपाटीमा रहेको म:म: एन्ड पिज्जा हाउसमा किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

भक्तपुरकै एक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कसुरमा संलग्न युवकलाई ललितपुर उपमहानगरपालिका–९ भुलढोकाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

प्रकाशित : आश्विन २, २०७९ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×