२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राजस्व, भन्सार र सशस्त्रको तालमेल नमिल्दा अन्तरदेशीय व्यापारमा सकस

पर्वत पोर्तेल

झापा — गत बुधबार राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले मोरङको भाउन्नेमा चार भारतीय गाडीलाई नियन्त्रणमा मात्रै लिएन कारबाही प्रक्रिया नै अघि बढायो । राजस्वका अनुसार प्रक्रिया नपुऱ्याई प्रवेश गरेका कारण गाडी नियन्त्रणमा लिइएको हो । राजस्व अधिकृत तीर्थराज खनालले भने, ‘भन्सार र पटके रुढ परमिट नलिई दादागिरी शैलीमा प्रवेश गरेका कारण गाडी नियन्त्रणमा लिइएको हो ।’ 

राजस्व, भन्सार र सशस्त्रको तालमेल नमिल्दा अन्तरदेशीय व्यापारमा सकस

सोही दिन पश्चिमबाट पूर्वतिर आएका दुई भारतीय गाडी रोक्ने क्रममा सशस्त्र प्रहरीले चालकहरूलाई दुर्व्यवहार गरेको थियो । सवारी पक्राउ र चालकमाथिको दुर्व्यवहारपछि भारतीय नाका पानीट्यांकीमा शुक्रबार अपराह्न भारतीय चालकहरूले नेपाली मालवाहक ट्रक र तेलका ट्यांकर प्रवेशमा अवरोध खडा गरेका थिए ।

‘करिब ४० वटा इन्धनका ट्यांकर र अन्य मालवाहक ट्रक र कन्टेनर नाकामा रोकियो,’ मेची भन्सार प्रमुख केशव ओलीले भने, ‘राजस्वको अनावश्यक गतिविधिले अन्तरसीमा व्यापारमै समस्या हुने सम्भावना बढेको छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, मेची भन्सार र प्रहरीको समन्वयमा राजस्वले पक्राउ गरेका भारतीय गाडी छाड्न अनुरोध गर्ने भनिएपछि भारतीय चालकले अवरोध हटाएका थिए । राजस्वले शनिबार चारवटै गाडी छाडेको छ । लाखौं रुपैयाँ बराबरको तरकारी गाडीमै कुहिएको व्यापारी बाबुराम बस्नेतले जनाए ।

राजस्व, भन्सार र सशस्त्र प्रहरीबीच तालमेल नहुँदा अन्तरदेशीय व्यापारमै समस्या देखिन थाल्छ । शुक्रबार रातिको घटनापछि दुवै देशका व्यवसायीहरू चिन्तित देखिएका छन् । स्थानीय व्यवसायी बाबुराम बस्नेतले भने, ‘नेपाली गाडीहरू भारत जानै रोक्ने र भारतबाट आएकालाई पनि प्रवेशमा अवरोध पुऱ्याउने घटनाले दुई देशबीचको व्यापार र सम्बन्ध दुवै बिग्रिने सम्भावना देखिएको छ ।’ उनले राजस्व अनुसन्धानकै अत्याचारका कारण समस्या जटिल बनेको दाबी गरे ।

मेची भन्सारका एक कर्मचारीले नकलवन्दा र तिरिङ नाकावाट महिना दिनदेखि कपडाको तस्करी जारी भएपनि राजस्व अनुसन्धान, सशस्त्र, नेपाल प्रहरीजस्ता निकाय मुकदर्शक बनेको आरोप लगाए । ती नाकाबाट दैनिक ५ करोडभन्दा बढीको कपडा तस्करी भइरहेको छ । राजस्व अनुसन्धान, प्रदेशका दुवै प्रहरी प्रमुखलाई ‘सेटिङ’ गरेको एक कपडा कारोवारीले जानकारी दिए ।

३२, असारमा पूर्व-पश्चिम राजमार्गको सशस्त्र प्रहरी चेकपोस्टले ५ लाख २१ हजार भारुसहित पाँच भारतीय यात्रीलाई नियन्त्रणमा लिएपछि राजस्व नियन्त्रणको जिम्मेवारीमा रहेका यी निकायबीच ‘टसल’ सुरु भएको हो ।

त्यसअघि लालीगुँरास नामको एक व्यापारिक फर्मले प्रज्ञापन पत्र नक्कली बनाएर कर छली गर्न खोजेको आशंकामा सशस्त्रले त्यही चेकपोस्टबाट डब्लुबी ३७ बी ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० नम्बरका ट्रकहरू नियन्त्रणमा लिएको थियो । त्यो घटनामा सशस्त्रले भन्सारले ‘सेटिङ’ मा गाडी छाडेको आरोप लगाएको थियो । तर, वास्तविकता अर्कै रहेको भन्सार प्रमुख ओलीको भनाइ छ । ओलीले भने, ‘उक्त फर्मले फोटोसपको प्रयोग गरेर नक्कली प्रज्ञापनपत्र बनाएको रहेछ ।’

यतिबेला भन्सार तिरेर पश्चिमतिर हिडेका अधिकांश गाडीप्रति राजस्व र सशस्त्र प्रहरीले निगरानी गर्ने गरेका छन् । जसका कारण मेची भन्सारको राजस्व असुलीमा प्रत्यक्ष असर पुगेको भन्सारको भनाइ छ । ‘मेची भन्सारको कारोबार लगभग शून्य नै छ भन्दा पनि हुन्छ,’ प्रमुख ओलीले भने, ‘यो नाका प्रयोग गर्न व्यापारी डराउन थालेका छन्।’

राजस्व असुली इन्धनले थेगेको थियो । त्यसमा पनि भारतीय अवरोध सुरु भएको छ । ‘अनावश्यक सास्ती र आतंकले यो रुटबाट व्यापारीले सामान मगाउनै छाडे,’ ओलीले भने ।

उच्च अदालतको आदेशमा जोरसिमलको चेकपोस्ट हटेपछि सशस्त्रले पूर्वाग्रही बनेको आरोप भन्सारको छ । यो चेकपोस्टले दैनिक १० लाख रुपैयाँ असुली गर्दै आएको थियो । चेकपोस्ट हटेपछि सशस्त्रले चलाउँदै आएको ‘लाइन’ बिग्रिएको र उनीहरू तिल्मिलाएको आरोप भन्सारको छ । ‘भन्सार प्रमुखकै पहलमा चेकपोस्ट हट्यो भन्ने सशस्त्रको बुझाइले तस्करी नियन्त्रणमा समस्या भइरहेको छ । राजस्वको स्टन्टले थप समस्या उत्पन्न गरेको छ ।’

प्रकाशित : आश्विन २, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?