कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुग्ध पदार्थमा फेरि आयातकै भर

भारतबाट प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयातको प्रस्ताव
राजु चौधरी

काठमाडौँ — सरकारले धूलो दूध र बटरमा आत्मनिर्भरको घोषणा गरे पनि यी वस्तुमा अहिले आयातकै भर पर्नुपरेको छ । आत्मनिर्भर घोषणा भएको डेढ वर्ष नबित्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव अर्थ मन्त्रालयलाई गरेको छ ।

दुग्ध पदार्थमा फेरि आयातकै भर

‘कृषि मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीसहितको अध्ययनले बजारमा दुग्ध पदार्थ अभाव भएको निष्कर्ष निकाल्यो । त्यसपछि कृषिले प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्नुपर्ने निर्णयसहित स्वीकृतिका लागि अर्थमा पत्र पठाएको छ,’ स्रोतले भन्यो, ‘हचुवाको भरमा आत्मनिर्भर घोषणा भयो । तर आयातकै भर पर्नुपरेको छ ।’

०७७ चैत दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छीमन्त्री पद्मा अर्यालले दुग्ध पदार्थ (धूलो दूध र बटरमा) मा आत्मनिर्भर भएको घोषणा गरेका थिए । तर गत वैशाखदेखि नै यी वस्तुको अभाव छ । चाडबाड नजिकिँदै गर्दा बजारमा थप अभाव देखिएको उद्योगीहरू बताउँछन् । अभावकै कारण कृषि मन्त्रालय, डीडीसी र निजी डेरी आयात गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।

कृषि मन्त्रालयले १ लाख ३० हजार लिटर आयातको प्रस्ताव गरेको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले पुष्टि गरे । ‘डीडीसीकै लागि प्रतिदिन ५० हजार लिटर अभाव छ । दूध, दहीलगायतका उत्पादन नियमित बनाएर व्यापार बचाउन आवश्यक छ । आयातका लागि कृषिले निर्णय गरेर अर्थमा पठाएको छ,’ झाले भने, ‘तर, अर्थले जवाफ दिइसकेको छैन ।’ डीडीसीले प्रतिदिन औसतमा ९० हजार लिटर दूध संकलन गर्छ । तर, अहिले त्यो परिमाण घटेको छ । झोल दूधसँगै पाउडर दूधको पनि अभाव भएको उनले बताए । सरकारले धुलो दूध र सय ग्राममुनिको बटर आयातमा प्रतिबन्ध लगाएको छ । झोल दूध आयातमा प्रतिबन्ध छैन । तर अर्थले सहमति दिए डीडीसीले भारतको पटना डेरीबाट दूध ल्याउने योजना बनाएको छ ।

बजारको अवस्था र झोल दूध ल्याउने सन्दर्भमा मन्त्रायले सहसचिव सूर्य पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको डेरी उद्योग संघका पूर्वअध्यक्ष अरनिको राजभण्डारीको भनाइ छ । समितिले करिब ३ महिनाका लागि आयात खुलाउन सुझाएको थियो । कृषिले निर्णय गरे पनि आयातको सन्दर्भमा अर्थबाट पनि परामर्श लिन खोजिएको हो । सरकारले हचुवाको भरमा आत्मनिर्भर घोषणा गर्दा र आयात रोक्दा समस्या भएको संघका अध्यक्ष राजकुमार दाहालले बताए । ‘प्रतिदिन डेढ लाख लिटर दूध अभाव छ । कुनै डेरी उद्योगसँग धूलो दूध र बटर मौज्दात छैन,’ उनले भने ।

सरकारले दुग्ध पदार्थको आयात रोके पनि खुला सीमाका कारण अवैध आयात भइरहेको बताइन्छ । गत आर्थिक वर्षमा १ अर्ब ८१ करोड रुपैयाँको बटर, दही, चिजलगायतका दुग्ध पदार्थ आयात भएको भन्सार विभागको तथ्यांक छ । ०७७/७८ मा १ अर्ब ६७ करोड, ०७६/७७ मा २ अर्ब ३ करोडको आयात भएको छ । चालु आर्थिक वर्षको साउनमा मात्रै १८ करोडको आयात भएको उल्लेख छ । अवैधानिक रूपमा आयात हुने परिमाण जोड्दा अर्बौं रुपैयाँ पुग्ने अध्यक्ष दाहालको भनाइ छ । बैशाख–जेठदेखि भदौसम्म दूधको सुक्खा सिजनका रूपमा लिइन्छ । त्यस बेला चाडबाड सुरु हुने हुँदा स्थानीय तहमै खपत हुन्छ तर बजारमा पनि माग बढ्छ । असोजबाट उत्पादनमा केही वृद्धि हुने अनुमान छ ।

आखिर किन भयो अभाव ?

कोभिड कालअघि दूध उत्पादन पर्याप्त थियो । कोभिड कालसँगै खपत घटेको भन्दै डेरी उद्योगहरूले किसानको दूध संकलन गरिदिएनन् । कतिपय डेरीले दूध संकलन गरे पनि भुक्तानी रोकिदिए । निजी डेरीसँगै सरकारी दुग्ध विकास संस्थानले पनि ३ महिनासम्म बक्यौता राख्यो । किसानले दूधको पैसा समयमै नपाउँदा गाईभैंसीलाई पर्याप्त पशु आहार व्यवस्थापन गर्न सकेनन् । ‘किसानले पौष्टिक दाना खुवाउन नपाउँदा समयमै बाली भएनन्, गाईबस्तु ब्याए पनि राम्रो आहार नहुँदा दूध उत्पादन घट्यो,’ संघका अध्यक्ष दाहालले भने ।

संघका पूर्वअध्यक्ष राजभण्डारीले २ वर्ष किसान निरुत्साहित हुँदा समग्र बजारलाई असर पुगेको बताए । ‘कोभिडको समयमा किसानबाट दूध उठाउन सकेनौं, समयमै भुक्तानी पनि दिएनौं,’ उनले भने, ‘त्यसको प्रतिफल अहिले अभाव भएको हो ।’ यीबाहेक डेरी उद्योग सुगम क्षेत्रलाई मात्रै प्राथमिकता दिँदा उपत्यकामा अभाव देखिएको हो ।

सडक यातायात, ढुवानी खर्च, चिस्यान केन्द्रलगायत अप्ठ्यारा देखाएर उनीहरू दुर्गममा जाँदैनन् ।

बजारको कुल मागको ४० प्रतिशत डीडीसी र बाँकी निजी डेरीले पूर्ति गरिरहेका छन् । दूध संकलन गर्न निजी डेरीहरू दुर्गममा गएका छैनन् । दुर्गमका किसानले मूल्य पाएका छैनन्, उपत्यकामा भने दूध अभाव भइरहन्छ । संघका अध्यक्ष दाहालले पनि आफूहरू दुर्गममा जान नसकेको स्विकारे । ‘करोड लगानी गरेर ३/४ वर्षमा बजार बनाएका हुन्छौं, संकलन बढ्न थालेपछि किसानले अरू डेरीसँग जुधाइदिन्छन्,’ दाहालले भने, ‘किसान अन्त गएपछि लगानी गरेका उद्योगीलाई घाटा मात्रै हुन्छ । नयाँ बजार खोज्न इच्छुक हुँदाहुँदै नोक्सानी हुने डरले दुर्गममा जान सकेनौं ।’

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले भने दुर्गममा एक ट्यांकर दूध संकलन हुने ठाउँमा ढुवानी गरिरहेको दाबी गरे । ‘एक ट्यांकरमा ६ हजारदेखि ९ हजार लिटर दूध अट्छ । त्यस्ता ठाउँबाट ढुवानी गरिरहेका छौं,’ उनले भने । पछिल्लो समय खुला डेरी धेरै बढेको र दूध पनि छरिएको उनीहरूको दाबी छ । छुर्पी निर्यात बढेकाले केही दूध त्यता पनि खपत भएको पूर्वअध्यक्ष राजभण्डारीको भनाइ छ । ‘एक वर्षमा ३ अर्ब रुपैयाँको छुर्पी निर्यात भएको छ,,’ उनले भने, ‘यिनै विविध कारणले अभाव देखिएको हो ।’

प्रकाशित : आश्विन २, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?