१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

करका दर पुनरावलोकनपछि वायर उद्योग पुनः सञ्चालनमा

विनोद भण्डारी

विराटनगर — उद्योगीको सडक आन्दोलनपछि सरकारद्वारा विवादित करको दरमा हेरफेरको निर्णयले सुनसरी मोरङ औद्योगिक क्षेत्रमा बन्द भएका वायर उद्योग दुई महिनापछि पुनः सञ्चालनमा आएका छन् । यससँगै रोजगारी गुमाएका करिब दुई हजार मजदुर काममा फर्किएका छन् ।

करका दर पुनरावलोकनपछि वायर उद्योग पुनः सञ्चालनमा

चालु वर्षको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले ‘नीतिगत भ्रष्टाचार’ गरी सीमित उद्योगलाई संरक्षण गर्दै एमएस वायर उद्योगको कच्चापदार्थको भन्सार महसुल ५ प्रतिशतबाट १० प्रतिशत र अन्तशुल्क प्रतिटनमा २ हजार ५ सयबाट ४ हजार ५ सय रुपैयाँ कायम गरेपछि चार दशक पुरानो हुलास वायरसहित पायोनियर वायर, प्रिमियर वायर, कमला रोलिङ र अरिहन्त वायर उद्योगले मजदुर कटौती गरेर उत्पादन बन्द गरेका थिए ।

सरकारले पछिल्लो पटक एमएस वायरको कच्चा पदार्थमा भन्सार शुल्क ५ प्रतिशत र अन्तशुल्क प्रतिटन २ हजार ५ सय कायम गरेपछि बन्द उद्योगले उत्पादन सुरु गरेर निकालिएका मजदुर कर्मचारीलाई फर्काएका हुन् ।

त्यसैगरी सेनिटरी प्याड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा ५ प्रतिशत अन्तःशुल्क हटाउँदै पाम, भटमास, सूर्यमुखी, तोरी र सर्स्यु तेल उत्पादनमा प्रयोग हुने कच्चापदार्थ आयातमा दिइँदै आएको ५० प्रतिशत भन्सार छुटलाई ९० प्रतिशत पुर्‍याइएको छ ।

उद्योगीको आन्दोलनका कारण सरकारले गल्ती सच्याउँदै करका दरमा संशोधन गरेपछि बन्द गरिएका वायर उद्योग पुनः सञ्चालनमा आएको पायोनियर वायर उद्योगका सञ्चालक अनिल सारडाले बताए । ‘सरकारले कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क ह्वात्तै बढाएपछि कच्चा पदार्थ आयात नै रोकेर उद्योग बन्द गरेका थियौं,’ उनले भने ।

मासिक दुई हजार टन वायर र चार लाख टन जाली उत्पादन गर्दै आएको यस उद्योगले २ सय ८० मजदुरलाई बिदा दिएको थियो । सरकारले विवादित करमा संशोधन गरे पनि अन्तःशुल्क ऐन वायर निकासीका लागि बाधक भएको उनको भनाइ छ ।

सारडाका अनुसार यहाँका वायर उद्योगले वार्षिक करिब ६ अर्ब बराबरको वायर निकासी गर्छन् । तर अन्तःशुल्क ऐनका कारण भारतमा नेपाली उत्पादनको माग बढे पनि निकासी गर्न गाह्रो भएको छ । अन्तःशुल्क फिर्ता नहुने प्रावधानले वायर निकासी गर्न नसकिएको उनले बताए ।

चार दशक पुरानो हुलास वायरले पनि कटौती गरेका श्रमिकलाई फर्काएर उत्पादन सुरु गर्ने तयारीमा रहेको उद्योगकी निर्देशक युक्ति गोल्छाको भनाइ छ । मासिक ४ हजार टन जीआई वायर र ७ सय टन जाली उत्पादन गरेर तीन हजार टन वायर निकासी गर्दै आएको यस उद्योगले ३ सय मजदुरलाई निकालेको थियो । ‘स्थानीय उत्पादनका लागि मात्र सरकारले सहज गर्‍यो,’ उनले भनिन्, ‘निकासीका लागि अझै अड्चन बाँकी नै छ ।’

यहाँको कमला रोलिङ मिलले पनि वायर उत्पादन पुनः सुरु गरेको छ । ८५ वर्षको उमेरमा पहिलो पटक सरकारको गलत कर नीतिविरुद्ध सडकमा उत्रिएर आफनो लगानीको संरक्षण गर्न बाध्य भएको उक्त उद्योगका सञ्चालक जगदीश अग्रवालले बताए । लाग्ने भन्सार महसुल र अन्तःशुल्कका कारण कच्चापदार्थ आयात गरेर उत्पादन गर्नुभन्दा तयारी वस्तु नै आयात गर्दा सस्तो पर्ने स्थिति भएपछि उद्योग बन्द गरेर मजदुरलाई बिदा गरिएको थियो ।

प्रिमियर वायर उद्योगका सञ्चालक पवनकुमार सारडाले पनि बिदा दिइएका मजदुरलाई काममा फर्काएर उत्पादन गरिरहेको जनाए । डेढ अर्ब लगानीको यो उद्योगले दैनिक सय टन जीआई वायर उत्पादन गर्छ । कर नीतिका कारण उद्योगले ३ सय ५० मजदुर कटौती गरेको थियो । सरकारले सीमित उद्योगलाई फाइदा पुग्ने गरी बजेटमार्फत वायर उद्योगको कच्चा पदार्थमा भन्सार र अन्तःशुल्क बढाएको विरोधमा मोरङ व्यापार संघको अगुवाइमा यहाँका उद्योगी व्यवसायी सडकमा उत्रिएका थिए ।

सरकारको गलत नीतिलाई उद्योगी व्यवसायीले पहिलो पटक सडकमा उत्रिएर रोक्न सफल हुँदा अर्बौंको लगानी डुब्नबाट जोगाउँदै झन्डै दुई हजार मजदुरको रोजगारी सुरक्षित गरेको संघका अध्यक्ष नवीन रिजालको भनाइ छ । पूर्वका उद्योगीको उक्त सडक आन्दोलन नजिर नै बनेको उनको बुझाइ छ ।

प्रकाशित : आश्विन २, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?