विवादपछि पर्यटन बोर्डको १ अर्ब रुपैयाँको बजेट पारित भएन  

सुरज कुँवर

काठमाडौँ — बजेट मस्यौदा सञ्चालक समितिको बैठकमा पेस हुनुअघि नै बाहिरिएपछि पर्यटन बोर्डले शुक्रबार ल्याउने तयारी गरेको १ अर्ब २० करोड रुपैयाँको प्रस्तावित बजेट, नीति तथा कार्यक्रम स्थगन भएको छ ।

विवादपछि पर्यटन बोर्डको १ अर्ब रुपैयाँको बजेट पारित भएन  

चालु आर्थिक वर्षका लागि १ अर्ब २० करोड ३६ लाख रुपैयाँ आय प्रक्षेपित गरिएको बजेटका लागि बोर्डको सञ्चालक समितिका सदस्य सचिव धनञ्जय रेग्मीले बिहीबार बोर्डका अध्यक्ष पर्यटन सचिवसहित १० जना सञ्चालक समिति सदस्यलाई ३ सय २७ औं बैठकमा उपस्थितिका लागि डाकेका थिए ।

‘सञ्चालक समितिको बैठकमा शुक्रबार बजेटको एजेन्डा थियो,’ छलफलमा सहभागी एक बोर्ड सदस्यले कान्तिपुरसँग भने,‘छलफलमा ल्याइनुअघि नै बोर्ड बजेट मस्यौदा बाहिरिएको भन्दै सदस्य मिलन देवकोटाले विरोध जनाउनु भयो । अर्का सदस्य कृष्ण कुमार साहले कार्यक्रमहरु नसमेटिएकोमा असहमति जनाएपछि बोर्डको बैठक नै नबसी स्थगन भयो ।’

पर्यटन सचिव अध्यक्ष रहने बोर्डको सञ्चालक समितिमा निजी क्षेत्रका ५ जना पर्यटन व्यवसायी र सरकारतर्फका ५ जना पदाधिकारी गरी १० जना सदस्य रहन्छन । बजेट बनाउने उपसमितिका संयोजक मदन आचार्यका अनुसार, निजी क्षेत्रका ५ जना व्यवसायी प्रतिनिधि र अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीमात्रै उपस्थित थिए । उनका अनुसार, पर्यटन सचिव (अध्यक्ष) सुरेश अधिकारीले अस्वस्थ्य रहेकाले अपस्थित हुन नसक्ने भनेका थिए । बोर्डका सदस्य कृष्ण कुमार साहले चाँडै चुनावको आचारसंहिता लागू हुने भएकाले बजेट पारित गर्न बैठक डाकिएको बताए ।

बोर्डले चालु वर्ष नेपालमा ७ लाख पर्यटक आउने प्रक्षेपण गर्दै प्रतिपर्यटक १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्क ७३ करोड संकलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै ती पर्यटक पदयात्रा जाँदा थप ९ करोड ५८ लाख उठाउने मस्यौदामा उल्लेख गरिएको छ । तर, बोर्डका केही निर्देशक, प्रबन्धक र सञ्चालक समितिका सदस्यहरुले ७ लाख पर्यटक नेपालमा आउने अनुमान हचुवा भएको जनाउँदै नजिकिँदै गरेको संघीय र प्रदेश चुनावमा नेताहरू रिझाउन बोर्डका सीईओ धनञ्जय रेग्मी र बजेट उपसमितिका संयोजक आचार्यले बजेटको अंक अत्यधिक वृद्धि गरेको आरोप लगाएका छन् ।

पछिल्ला वर्ष पर्यटक आगमन अत्यधिक न्यून रहेको छ । गत वर्ष ३ लाख हाराहारी पर्यटक आउँदा बोर्डले ३० करोड, त्यसअघि २२ करोड र ०७७/७८ मा ५ करोड रुपैयाँ पर्यटन सेवा शुल्कबाट संकलन गरेको थियो । नेपालबाट फर्किने विदेशीसँग त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा टिकटबाट संकलन गरिने एक हजार रुपैयाँ नै बोर्डको मुख्य आम्दानीको स्रोत हो । यसैबीच बोर्डले सञ्चित गरेर राखेको पदयात्री पर्यटन व्यवस्थापन शुल्क (टिम्स) बाट ३० प्रतिशत रकम २६ करोड रुपैयाँ पनि चालु वर्ष रकमान्तर गर्ने प्रस्तावित बजेट मस्यौदामा उल्लेख गरिएको छ ।

बोर्डले यस वर्ष विदेश भम्रण (सेल्स मिसन, मेलामा सहभागी) का लागि २९ करोड रुपैयाँ, पर्यटन सम्पदा विकास निर्माणका लागि १५ करोड रुपैयाँ, प्रचारप्रसारका लागि ९ करोड, अनुसन्धानका लागि ९ करोड, कार्यालय सञ्चालनतर्फ २२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बोर्डको बजेट विवादबारे सीईओ रेग्मीसँग कान्तिपुरले प्रतिक्रिया माग्दा उनले जवाफ दिएनन् । बोर्ड सञ्चालक समितिको अर्को बैठक आइतबार बिहान बोलाइएको छ ।

प्रकाशित : आश्विन १, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?