भारतबाट घटेर आयो पेट्रोलको मूल्य - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट घटेर आयो पेट्रोलको मूल्य 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो ।

त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ । हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ । निगमले सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणालीबाट मूल्य तय गर्नुपर्ने व्यवस्था छ । यद्यपि हाल निगमले पहिलेको सञ्चित घाटा देखाउँदै मूल्य घटेर आउँदा पनि समायोजनमा बेवास्ता गर्ने तर बढेर आउँदा बढाउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार (साढे १ बजे) डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ तथा ब्रेन्टको ९१ डलर हाराहारीमा कारोबार भएको छ ।


प्रकाशित : भाद्र ३१, २०७९ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्

जनताको घाँटीमा अड्किएको कुरालाई सदनमार्फत उजागर गर्‍यौं : डिला संग्रौला

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डिला संग्रौलाले गएको पाँच वर्षमा जनताका समस्यालाई सदनमार्फत उजागर गर्ने आफूहरूको प्रयासलाई इतिहासले मूल्यांकन गर्ने बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद संग्रौलाले गएको पाँच वर्षमा जनताको घाँटीसम्म आएर अड्किएको कुरालाई आफूहरूले सदनमार्फत उजागर गरेको र त्यो प्रयासलाई इतिहासले मूल्यांकन गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

‘म यसबेला हाम्रा प्रिय नेता जननायक बीपी कोइरालालाई सम्झन चाहन्छु । एक जना पत्रकारले एक पटक उहाँलाई सोधे- तपाईं आफूलाई नेपाली जनताले कसरी सम्झून् भन्ने चाहनुहुन्छ ? बीपीले भन्नुभयो- मैले जनताको घाँटीमा अड्केर बसेको कुरालाई सार्वजनिक गर्ने प्रयास गरें; त्यसै रुपमा मलाई सम्झनु भए हुन्छ‚’ सांसद संग्रौलाले भनिन्‚ ‘गएको पाँच वर्षमा जनताको घाँटीसम्म आएर अड्किएको कुरालाई हामीले कुन हदसम्म यो सदनमार्फत उजागर गर्न सक्यौं; इतिहासले त्यसको अवश्य मूल्यांकन गर्ने नै छ ।’

गएको झन्डै ५ वर्षदेखि सदनको सदस्यको रुपमा प्रतिनिधि सभाको काम कारबाहीमा सहभागी हुन पाएको खुसी व्यक्त गर्दै उनले आफूले सदनमा कयौं कुरा सिक्ने मौका पाएको र जनताका दैनिक सवालहरू उठाउने मौका पाएको बताइन् । ‘अलि दुःख पनि लाग्छ- दुई-दुई पटक जनताको प्रतिनिधि थलो प्रतिनिधिसभालाई समयअगावै भंग गर्ने प्रयासहरू पनि गरियो तर संवैधानिक चेक एन्ड ब्यालेन्सको पद्धतिले गर्दा प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न पाएको छ ।’

सदनमा पुनः फर्केर आउन सफल हुनेहरूले जनताको पीर‚ मर्का र राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राख्दै काम गर्नका लागि शुभेच्छा प्रकट गरिन् । ‘प्रजातन्त्रको सौन्दर्य पनि त्यहि हो । यस अवसरमा सम्माननीय सभामुख महोदयलगायत सम्पूर्ण संसद् सचिवालयप्रति आभार व्यक्त गर्न चाहन्छु‚’ उनले भनिन्‚ ‘आगामी दिनमा कुनै न कुनै रुपमा अवश्य भेट हुने नै छ।’

प्रकाशित : भाद्र ३१, २०७९ १३:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×