२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अलैंची प्रतिस्थापन गर्दै सुकुमेल

सीमा तामाङ

काठमाडौँ — नेपालमा उत्पादन हुने अलैंचीमध्ये ४ प्रतिशत मात्रै घरेलु बजारमा खपत हुन्छ । बाँकी अलैंची भारतमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइन्छ । तर, अलैंचीको ठाउँमा आयातित सुकुमेलको प्रयोग बढ्दो छ । यसरी अलैंचीलाई घरेलु बजारमा शतप्रतिशत आयात हुने सुकुमेलले प्रतिस्थापन गरिरहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

अलैंची प्रतिस्थापन गर्दै सुकुमेल

नेपाली बजारमा सय ग्राम अलैंची १ सयदेखि १५० रुपैयाँसम्ममा बिक्री हुन्छ । उपभोक्ताले भने सय ग्राम सुकमेललाई ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ तिरेर खरिद गरिरहेको महासंघको भनाइ छ । अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्त्वपूर्ण सामग्रीका रूपमा बढाउनेछ । साथै यसले आर्थिक गतिविधिसमेत बढाउने बताइएको छ । महासंघले गत साउनदेखि कृषि मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोग एवं होटल संघ नेपाल (हान) सँगको सहकार्यमा ‘वाह π अलैंची’ अभियान सुरु गरेको थियो ।

नेपालमा वार्षिक साढे ५ हजार टन अलैंची उत्पादन हुने भए पनि घरेलु बजारमा सय टनभन्दा कम खपत हुने गरेको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए । ‘नेपाली अलैंचीको आफ्नो ब्रान्ड छैन, आन्तरिक बजारमा स्वदेशी उत्पादन ४ प्रतिशत मात्रै खपत हुन्छ । बाँकी भारतीय बजारमा जान्छ,’ ढुंगानाले भने, ‘अन्तर्राष्ट्रिय मेला महोत्सवमा जाँदा प्रडक्ट अफ इन्डिया भनेर लेखेको देखिन्छ, त्यसैले पनि वाह π अलैंची अभियान सुरु गरेका हौं ।’

अभियानलाई सहयोग गर्न अलैंची उत्पादनदेखि निकासीसम्मलाई समेट्ने गरी डकुमेन्ट्रीसमेत बनाइरहेको ढुंगानाले बताए । अलैंचीको आन्तरिक बजार के–कस्तो छ भनेर थप अध्ययन गरिरहेको समेत उनले जनाए । हानको सहयोगमा ६० वटा परिकारमा सुकुमेलको ठाउँमा अलैंची प्रयोग गर्न सकिने किताब तयार गरिरहेको महासंघले जनाएको छ ।

बर्सेनि सुकुमेल आयात बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७७/७८ मा ३९ करोड १ लाख १५ हजार रुपैयाँको २ लाख ७८ हजार ४९४ किलो आयात भएको थियो । गत आर्थिक वर्ष ४४ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको २ लाख ९९ हजार ६१ किलो आयात भएको थियो । चालु आर्थिक वर्षको साउनमा ४ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको ३० हजार ५ किलो सुकुमेल आयात भएको विभागको तथ्यांक छ ।

अलैंची प्रवर्द्धन गर्ने अभियानका ब्रान्ड एम्बेस्डर सेफ सन्तोष शाहले पहिलो चरणमा इलाममा गएर किसानसँग छलफल गरिसकेको हानका सीईओ टेकबहादुर महतले बताए । ‘किसानलाई उनले अलैंची र आयातित मसलाबारे जनचेतना जगाउने काम गरिसकेका छन्, हामीले भने आफ्नो उत्पादन बेच्ने र महँगोमा आयातित सुकुमेललगायत मसला किन्ने गरेका छौं,’ उनले भने, ‘त्यसैले अभियानअन्तर्गत विराटनगर, चितवन, काठमाडौंका स्कुल/कलेजका विद्यार्थीबीच अलैंची राखेर बनाइएका परिकारबीच प्रतिस्पर्धा गरेर नै औपचारिक रूपमै प्रवर्द्धनको काम सुरु गरिसकेका छौं ।’

हानले सधैं आदिवासी सम्पदा प्रवर्द्धनको काम गरिरहेको र स्थानीयस्तरमा उत्पादित कृषि उपज प्रयोग गरी नेपाली खानाको विश्वव्यापीकरण गर्ने अभियानसमेत गरिरहेको महतको भनाइ छ । त्यसैमध्ये एउटा उद्देश्य नेपालबाट धेरै निर्यात हुने अलैंचीलाई खानाका परिकारको स्वादमा मिसाई आयातित सुकुमेललगायत मसलाजन्य वस्तु प्रतिस्थापन गर्नु रहेको उनले बताए । ‘आन्तरिक बजारमै अलैंचीको प्रवर्द्धन गर्दा किसानसँग पनि सामीप्य जोडिन्छ, कृषि–पर्यटनलाई पनि प्रत्यक्ष जोड्ने काम गर्छ,’ उनले भने, ‘नेपालको मौलिक खानामा अलैंचीको प्रयोग गरियो भने त्यसको गुणस्तर र मौलिकताको पहिचान हुन्छ ।’

नेपाली अलैंचीको मुख्य बजार भारत हो । गत आर्थिक वर्ष पनि भारतमा सबैभन्दा धेरै निर्यात भएको छ ।

गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको थियो । भारतमा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो र पाकिस्तानमा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको ७० हजार किलो अलैंची निर्यात भएको छ ।

चालु आर्थिक वर्षको साउनमा २२ करोड ८५ लाख ८६ हजार रुपैयाँ बराबरको २ लाख ७७ हजार ८७० किलो अलैंची भारत निर्यात भएको विभागले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?