१०६१ मेगावाटको अपर अरुणमा एचआईडीसीएलले ५३ अर्ब लगानी गर्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

१०६१ मेगावाटको अपर अरुणमा एचआईडीसीएलले ५३ अर्ब लगानी गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपान्तरणकारी आयोजनाको रुपमा रहेको १०६१ मेगावाट उत्पादन क्षमताको अपर अरुण जलविद्युत् आयोजनामा सरकारी कम्पनी हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लगानी गर्ने भएको छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा रहेको अपर अरुण हाइड्रो–इलेक्ट्रिक कम्पनीबाट प्रवर्द्धन तथा विकास भइरहेको यो आयोजनामा एचआईडीसीएलले ५३ अर्ब १५ करोड रुपैयाँ बराबर लगानी गर्ने भएको हो ।


अपर अरुण हाइड्रोइलेक्ट्रिसिटी लिमिटेड (युएएचईएल) र एचआइडीसीएलको सहवित्तीयकरणमा लगानी गर्नेसम्बन्धी बिहीबार सम्झौता हुँदैछ । हालसम्मको अध्ययन अनुसार आयोजनाको कुल लागत अनुमान निर्माण अवधिको ब्याज, मूल्यवृद्धि सहित १ अर्ब ७५ करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) रहेको छ । कर बाहेक आयोजनाको कुल लागत १ अर्ब ३८ करोड अमेरिकी डलर बराबर अनुमान गरिएको छ ।

आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सहुलियत ऋण तथा सेयर लगानीवाट गरिने छ । हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको लागि ऋण लगानी जुटाउन समन्वय भइरहेको छ । आयोजनाको अध्ययनका लागि आर्थिक सहयोग गरिरहेको विश्व बैंकले आयोजना निर्माणको लागी ऋण लगानी गर्ने आशय व्यक्त गरेको छ । यही परिपेक्षमा विदेशी वित्तीय संस्थाहरुबाट ऋण लगानी जुटाउन विश्व बैंकको नेतृत्वमा पहल भइरहेको छ भने स्वदेशी लगानीतर्फ जलविद्युत् लगानी तथा विकास कम्पनी नेतृत्वको सहवित्तीयकरणमार्फत् ५३ अर्ब १४ करोड लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर हुँदैछ ।

सन् २०२४ को अन्त्यतिर सुरु भई सन् २०३० को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाइन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनोट गर्ने कार्य भइरहेको छ । आयोजनाको पूर्व तयारी कार्यमध्ये २१ किलोमिटर लामो पहुँचमार्ग निर्माणको लागि बोलपत्रदाता छनोट गर्न प्राप्त बोलपत्रहरुको मूल्यांकन कार्य भइरहेको छ भने आयोजनाको लागि आवश्यक करिब २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा छ । आयोजनाबाट करिब २२ घरधुरी भौतिक रुपमा विस्थापित हुनेछन् भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभाव तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ । पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पुर्वार्द्धबाट सुरु गर्ने योजना छ ।


संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिङ रन–अफ–रिभर आयोजनाको हालसम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मिटर लामो र करिब १०० मिटर उचाइको बाँध निर्माण गरी ८.५ किलोमिटर लामो सुरुङमार्फत् पानी ल्याई छोंग्राकस्थित भूमिगत जलविद्युत् गृहमा खसालिने छ । आयोजनाबाट वार्षिक करिब ४५१२ गिगावाट आवर अर्थात ४ अर्ब ५१ करोड युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युतलाई पावर हाउसदेखि करिव ६ किलोमिटर ४०० के.भी. डबल सर्किटको प्रशारण लाइन निर्माण गरी हाइटार संखुवासभास्थित सबस्टेसनमा जोडिने योजना छ ।

प्रकाशित : भाद्र ३०, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्

साउनमा २० प्रतिशत बढ्यो रेमिट्यान्स

कान्तिपुर संवाददाता

काठमाडौँ — साउन महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार यो साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २०.३ प्रतिशत बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ । 

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।


प्रकाशित : भाद्र ३०, २०७९ १६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×