१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खुल्यो रसुवागढी नाका, आउन थाल्यो सामान

बलराम घिमिरे

रसुवा — चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका बिहीबार बिहानबाट खुलेको छ । कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

खुल्यो रसुवागढी नाका, आउन थाल्यो सामान

तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले साउन २२ गतेदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाएपछि दसैं र तिहारका लागि आयात गरिएको व्यापारीका अर्बौ मूल्य बराबरको सामान तिब्बतमा रोकिएको थियो । नाका खुलेपछि बिहीबार बिहान ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको विषयमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेका थिए ।

रसुवागढी नाकाको नेपालतर्फ 'चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’ अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको सम्पूर्ण तयारी पूरा गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले कान्तिपुरलाई बताए । बिहीबार बिहान ७ वटा चिनियाँ कन्टेनरमा सामान आयात भएको उनले जानकारी दिए । ती कन्टेनरहरु चिनियाँ पक्षले नेपाली भूभागमै ल्याइदिने गरेको छ । केरुङमा रोकिएका कन्टेनर बिहीबार बिहानबाट आउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । 'चिनियाँ पक्षले चौबिसै घन्टा सामान पठाउन हामी तयार छौं भनेका छन्,' जैसीले भने ।

बिहीबार बिहान आयात भएको ७ चिनियाँ कन्टेनरमा रेडिमेड सामानहरु रहेका छन् । नाका बन्द हुँदा दसैं, तिहार र जाडोको लागि आयात गरिएको अर्बौं मूल्य बराबरका सामान केरुङमै रोकिएको व्यापारी धर्म पौडेलले बताए । राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ । 'केरुङमा रोकिएको ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो,’ उनले भने, ‘ती कन्टेनरमा तीज, दसैं र तिहारका सामान लोड थिए ।’ त्यस्तै नेपाली २ सय ५० कन्टेनर सामान सिगात्से, केरुङ, न्यालम, ल्हासामै थन्किएको उनले बताए ।

चीनको सिगात्से, केरुङ, न्यालम, ल्हासामै रोकिएका दसैं–तिहार लक्षित सामग्री सेप्टेम्बर २७ सम्ममा नेपाल पठाइसक्ने जानकारी चिनियाँ पक्षले दिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले कान्तिपुरलाई बताए । 'नाका आइपुगेका कन्टेनरको आवश्यक प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर राजधानी तथा सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको छ', उनले भने । दसैंमा चिनियाँ तयारी पोसाकको माग बढी हुने गरेको छ । ती तयारी पोसाक रसुवागढी नाकाबाट भित्रने गरेको छ । चाडबाडको मुखैमा नाका बन्द भएर आयात रोकिँदा सबैभन्दा बढी व्यवसायीहरु मर्कामा परेका छन् ।

चाडबाडको सामान समयमै काठमाडौं पुर्‍याउन सकिएन भने व्यापारीहरुले व्यवसायबाटै हात धुनपर्ने अवस्था आउने हिमालय सिमापार व्यापार संघको निवर्तमान उपाध्यक्ष मिनबहादुर श्रेष्ठले बताए । 'सामान आयात गर्न व्यापारीको खर्बैं लगानी रहेको छ,'उनले भने, 'सामान रोकिँदा ब्याज तिर्नै सकिँदैन ।' चाडबाडको मुखमा समयमा समान रोकिँदा बजारमा सामानको अभाव हुने, महँगी बढ्ने लगायतको समस्या हुने व्यापारी बताउँछन् । तिब्बत अटोनमस रिजन (टार) ले तिब्बत क्षेत्रमा ७ अगस्ट अर्थात् साउन २२ गतेदेखि गरेको लकडाउनलगत्तै उत्तरी तातोपानी र केरुङ नाका एकैपटक ठप्प बनेका थिए । तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालमजस्ता बोर्डर एरियामा निषेधाज्ञा अझै जारी छ । दिनहुँ पीसीआर चेक भइरहेको छ ।

रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३१ महिना भयो । मानिसको आवतजावत पनि बन्द छ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको थियो । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात, निर्यात थप प्रभावित भएको हो । यसअघि पनि साढे पाँच महिना कोरोना महामारीका कारण नाका ठप्प रहेको थियो ।

प्रकाशित : भाद्र ३०, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?