स्याउ प्रतिकिलो ५० रुपैयाँमा बेच्न किसान बाध्य

डीबी बुढा

जुम्ला — पातारासी- ६ का मुनबहादुर बुढाले यो वर्ष ५ टन स्याउ फलाए । बगैंचामा स्याउ लटरम्म फलेको देखेका उनी निकै खुसी देखिन्थे । यो पटक स्याउ राम्रो फलेकाले राम्रै कमाइ हुनेमा ढुक्क थिए । तर प्रतिकेजी ५० रुपैयाँभन्दा कम दरमा स्याउ बेच्न बाध्य भएपछि उनी निरास बने ।  उनले भने, ‘स्याउ फलाएर क्या गर्नु ? स्याउको बजार छैन । स्याउले मूल्य पाउँदैन भने फलाउन गरेको मेहनतको के अर्थ ?’

स्याउ प्रतिकिलो ५० रुपैयाँमा बेच्न किसान बाध्य

उनको बगैंचामा स्याउका ३ सय बोट फलेका थिए । १० क्विन्टल स्याउ त प्रतिकेजी २० रुपैयाँमै बेचे । उनकोमा मात्रै नभइ जुम्लाभरि स्याउ टन्न फलेको छ । तर स्याउ लैजान उचित बजारको व्यवस्था नहुँदा कम मूल्यमै बेच्न किसान बाध्य छन् । यो समग्र कर्णालीका स्याउ उत्पादक किसानका लागि निराशाजनक हो ।

अहिले सुर्खेत, नेपालगञ्ज, कोहलपुर, पोखरा, काठमाडौं, विराटनगर, बुटवलका बजारमा जुम्ली स्याउ पुगेको छ । तर मूल्य पाउन नसकेको किसानको गुनासो छ । स्याउ किसान रतन रावतले भने, ‘स्याउको बजार खोज्दैछौं । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १५ देखि मात्र स्याउ टिप्न भनेको थियो । किसानले साउन महिनामै काँचो स्याउ बजारमा लगेपछि जुम्ली स्याउको स्तर र बजार खस्केको हो ।’

जुम्लामा सोमबारदेखि स्याउ महोत्सव चलिरहेको छ । स्याउ नै समृद्धिको आधार मान्दै महोत्सव सुरु भए पनि उचित बजारीकरण र प्रशोधनका लागि व्यवस्थापकीय उपाय छैन । स्याउ महोत्सवको पहिलो दिनमा आयोजित स्याउ किसानसँगको अन्तरक्रियामा रामकृष्ण बुढ्थापाले स्याउको उचित बजार व्यवस्था गर्न माग गरे । ‘हामी स्याउका मात्र कुरा गरिरहेका छौं । स्याउभित्र लागेको रोग, कीराको बारेमा सचेत छैनौं । स्याउ फलाएको मात्र रटान गरिरहेका छौं’ उनले भने ‘बजार अभावले कौडीको भाउमा बेच्न बाध्य किसानको मर्का सम्बोधनका लागि पहल गरिरहेका छैनौं । कसरी बन्छ जुम्ला स्याउबाट आत्मनिर्भर ?’

कार्यक्रममा किसान र कृषि प्राविधिकबीच दोहोरो छलफल चलेको थियो । कृषि प्राविधिकलाई किसानले स्याउमा लागेको रोग र कीरा नियन्त्रण गर्न, बगैंचा व्यवस्थापन, गुणस्तरीय स्याउ उत्पादनदेखि बजारसम्मको अवस्थाबारे गहन अध्ययन गर्न सुझाव दिए । स्याउको बजार सुनिश्चितता नभएसम्म जुम्ली स्याउले मूल्य नपाउने किसानको भनाइ छ । किसानका अनुसार स्याउमा कालोतुसारो लागेको तीन वर्ष बित्यो । तर कालोतुसारोबाट बच्ने उपाय अझै अवलम्बन भएको छैन । प्राविधिक जनशक्ति कालोतुसारोकाे अनुसन्धानमै रुमल्लिएका छन् । स्याउ किसान धनबहादुर थापाले भने, ‘स्याउको उचित रेखदेख नगर्नु र गुणस्तरीय उत्पादन गर्न नसक्नु किसानको समस्या होला तर स्याउमा लागेको रोग नियन्त्रणको काम कृषि प्राविधिकहरुकै हो । हामीलाई विश्वसनीय समाधान चाहिन्छ । अनि मात्र जुम्ली स्याउको बजारको ग्यारेन्टी हुन सक्छ ।’

स्याउको रेखदेख संरक्षण, अध्ययन अनुसन्धान गर्नको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुपरजोन स्याउ, बागवानी अनुसन्धान केन्द्र राजीकोट र जिल्ला कृषि विकास कार्यालय जुम्लामै छन् । तर किसानको घरदैलोसम्म कृषि प्राविधिकको ज्ञान र सीप पुग्न सकेकै छैन । स्याउ सुपरजोनका बागवानी अधिकृत विवश कुमार रोकाया स्याउमा लागेको रोग, कीराको नियन्त्रणमा अधिकतम समय बितेको दाबी गर्छन् । ‘पहिले रोग पत्ता लगाउने कार्यमा जुटेका छौं । त्यसपछि मात्र नियन्त्रणको काम हुनेछ’ उनले भने, ‘गुणस्तरीय स्याउ उत्पादन नहुँदासम्म बजारको मूल्य पाउन कठिन हुन्छ । जसका लागि नर्सरीदेखि नै स्वच्छ बिरुवा खरिद गरेर लैजानेदेखि माटोको जाँच, मलखादको व्यवस्थापन, बगैंचाको काँटछाँट महत्त्वपूर्ण हुन्छ ।’

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुुसार कुल ४ हजार २ सय हेक्टरमा स्याउ खेती भइरहेको छ । यो पटक १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । स्याउबाट चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ आम्दानी हुने कृषि प्राविधिक लछिराम महतले जानकारी दिए । बर्सेनि बिरुवा बाँडिन्छ । व्यवसायमुखी भन्दा पनि निर्वाहमुखी खेती भइरहेको छ । जुम्लामा १२ जातको स्याउ पाइन्छ । जसमध्ये ५ जातको स्याउ मात्र अस्तित्वमा छन् । स्याउका लागि जुम्लामा ‘एक घर एक स्याउ बगैंचा’, ‘चक्लाबन्दी कार्यक्रम’ लागू भएका छन् । कृषि प्रावधिक महतले भने, ‘जुम्ली स्याउको चर्चा धेरै भएपनि बजार निकै कम छ । जसका कारण किसानले स्याउ लैजान पाइरहेका छैनन् । बिचौलियाले बजारमा लैजाँदा स्याउको पहिचान खस्कने संभावना बढ्दो छ ।’

जुम्लामा २ सय ९ नर्सरी छन् । खाद्य तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय जुम्लाका प्रमुख डा. इश्वर सुवेदी स्याउको उत्पादनपछि हुने प्रशोधन र बजारीकरणमा निकै ठूलो समस्या देखिएको बताए । किसानले आफैं स्याउ फलाउने, आफैं संकलन गर्ने र आफैं बजारसम्म लैजानाले पनि समस्या देखिएको हुन सक्ने उनले औंल्याए । उनले बजारमा जान नसकेको स्याउको विभिन्न परिकार बनाएर बेच्न सकिने बताए । 'अहिले स्याउको चाना र रक्सी मात्र बन्छ भनिरहेका छौं, त्यति मात्रै होइन' उनले भने, ‘जाम, जेकली, जुस र साइटर बनाएर पनि बजारमा लैजान सकिन्छ ।'


प्रकाशित : भाद्र २८, २०७९ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?