सरकारी कमजोरीकै कारण कोरियामा रहेका कामदारले हुन्डीमार्फत् पैसा पठाउनुपर्‍यो : अर्थमन्त्री - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी कमजोरीकै कारण कोरियामा रहेका कामदारले हुन्डीमार्फत् पैसा पठाउनुपर्‍यो : अर्थमन्त्री 

गोकुल थोकर

सोल — दक्षिण कोरियामा मंगलबारदेखि हुने हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन आएका अर्थमन्त्री जनार्दन शर्माले यहाँ रहेका धेरै नेपालीले हुन्डीमार्फत् पैसा पठाउनुमा सरकारको कमजोर नीति नै प्रमुख कारण रहेका बताएका छन् । सोमबार सोलमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।  


‘वैधानिक बाटोबाट पैसा पठाउँदा देश र घर समाजलाई नै फाइदा हुने हो । अझ हामी पैसा पठाउने व्यक्तिलाई तत्काल र दीर्घकालमा फाइदा हुने खालका नीति पनि बनाउँदै छौं । अहिले भएका नीति कसरी सच्याउने भन्ने बारेमा छलफल गरिरहेका छौं । नयाँ र सहज नीति आएपछि वैधानिक बाटोबाटै नेपाल पैसा पठाउने वातावरण हुनेछ’ अर्थमन्त्री शर्माले भने ।

दक्षिण कोरियामा काम गर्ने आधाभन्दा बढी कामदारले हुन्डीमार्फत् पैसा पठाइरहेको अनुमान छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् आएका कामदार अहिले ४० हजारभन्दा बढी छन् । कोरियामा रहेका कामदारको न्यूनतम ज्याला मासिक झण्डै १ लाख ८० हजार हुन्छ । ‘कोरियामा रहेका सबै नेपालीले वैधानिक बाटोबाट रकम पठाउने हो भने न्यूनतम नै एक महिनामा ६ अर्ब भन्दा बढी हुन्छ । अहिले त्यसको आधा जति पैसा मात्रै रेमिट्यान्समार्फत् नेपाल गएको पाइन्छ’ स्टार रेमिट नेपाल विभागका निर्देशक अशोक मैनालीले भने ‘हुन्डी अवैधानिक भए पनि रेमिट्यान्सको शुल्कभन्दा धेरै सस्तो भएकोले त्यसैमार्फत् रकम पठाउँछन् ।’

अहिले यहाँबाट रेमिट्यान्समार्फत् पैसा पठाउने १२ वटा कम्पनी छन् । यहाँ रेमिट्यान्स कम्पनी खुलेको सन् २०१७ पछि मात्रै हो । यसअघि दक्षिण कोरियामा अधिकांश नेपालीले अवैधानिक बाटोबाटै नेपाल पैसा पठाउँथे । छल्लानाम्दोको प्लास्टिक कम्पनीमा काम गर्ने ईश्वर सापकोटाले भने ‘म सन् २०१४ मा कोरिया आउँदा कुनै रेमिट्यान्स कम्पनी थिएन । दुई चार वटा बैंकमार्फत् नेपाल पैसा त पठाउन सकिन्थ्यो तर अति महँगो । यता बैंकले पनि सेवा शुल्क काट्ने, उता नेपालमा पनि । त्यसमाथि झन्झटिलो थियो । विकल्प भनेकै अवैधानिक बाटोबाट पैसा पठाउनु पर्थ्यो । कति पैसा त हुन्डी गर्ने मान्छेले खाएर भाग्थे ।’

अहिले भने नेपाल पैसा पठाउन सजिलो रहेको उनी बताउँछन् । सबै रेमिट्यान्स कम्पनीका मोबाइल एपमार्फत् नै कारोबार हुन्छ । तर पनि रेमिट्यान्स सेवातिर कामदारको आकर्षण बढेको छैन । दुई महिनाअघि मात्रै कोरिया आइपुगेका अजय सोडारी भने राज्यले वास्ता नगरेका कारण यस्तो अवस्था आएको महसुस गर्छन् । ‘यहाँ हुन्डी सस्तो हुने भयो । अनि वैधानिक बाटोबाट महँगोमा पैसा पठाउँदा पनि राज्यले केही सुविधा दिने होइन । त्यसैले सस्तोमै पैसा पठाउँ भन्ने महसुस धेरैलाई हुँदो रहेछ । अन्य देशका कामदारले रेमिट्यान्स कम्पनीबाटै पैसा पठाउँदा त्यहाँको सरकारले प्रोत्साहन स्वरुप विभिन्न प्रकारका स्किमहरु दिने रहेछ । हाम्रोमा छैन’ उनले भने ।

फरक फरक रेमिट्यान्स कम्पनीका पैसा पठाउँदा लाग्ने शुल्क पनि फरक छन् । ‘नेपालमा भएको पार्टनर कम्पनीले डलरको भाउको आधारमा नै नेपाल पैसा पठाउने रेट निर्धारण गर्छ, त्यसैले कम्पनी अनुसार थोरै रेट फरक पर्न पनि सक्छ’ स्टार रेमिटका मैनालीले भने । रेमिट्यान्स कम्पनीमार्फत् नेपालमा एक लाख रुपैयाँ पैसा पठाउँदा सोमबारको दरअनुसार यहाँबाट १० लाख ८८ हजार वन पठाउनुपर्छ । तर हुन्डीमार्फत् पठाउने हो भने १० लाख २० हजारदेखि ३५ हजारसम्म मात्रै भए पुग्छ । एक लाख नेपाली रुपैयाँ पठाउँदा नै कम्पनी र हुन्डीबीच पाँच हजारदेखि सात हजार रुपैयाँसम्म फरक पर्ने गरेको छ ।

प्रकाशित : भाद्र २७, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

कोरियामा नेपालीबाटै नेपालीको हत्या

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियाको राजधानी सोलभन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । मंगलबार राति भएको उक्त घटनाका आरोपित यूवालाई प्रहरीले पक्राउ गरेको छ ।


रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो । ६ महिनाअघि मात्र कोरिया आएका उनकै कम्पनीमा काम गर्ने पाँचथरका राजेश बुढाथोकीले उनको हत्या गरेको खुलासा भएको हो । राजेश तीन हप्ताअघि मात्रै कोरिया आएका थिए ।

‘उनीहरू कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे । यसअघि कुनै झगडा भएको थाहा भएन,’ घटना भएको कम्पनीमा ९ वर्ष देखि काम गर्दै आएका गोविन्द अघिकारीले भने । ‘हिजो राति एक्कासी यस्तो घटना भयो हामी पनि आश्चार्यमा छौं ।’

घटना भएकै खिसुक्सा (होस्टेल)मा बस्ने गरेका कृष्ण आलेले मंगलबार राति साढे ११ बजे ठूलो स्वर सुनेर कोठा बाहिर निस्कँदा प्रकाश भुइँमा लडिरहेको बताए ।

‘हामी सबैले ८ बजेसम्म सँगै काम गरेका थियौं । म १० बजेतिर नुहाएर बाहिर निस्कँदा भाइहरूको कोठाको बत्ती निभेको थियो । मैले सुतिसकेछन् भनेर आफ्नो कोठामा ढोको लगाएर घरतिर कुरा गर्दै थिएँ । एक्कासी ठूलो स्वरमा केही खसे जस्तो सुनियो । म बाहिर निस्केर हेर्दा ऊ लडिरहेको थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौं ।’

प्रहरी आएर हेर्दा प्रकाशको मृत्यु भइसकेको थियो । आरोपित बुढाथोकी भने कोठामै बसेको र उनको पनि घाँटीमा घाउ रहेको प्रहरीले बताएको छ । अहिले उनको उपचार भइरहेको र थप अनुसन्धानपछि मात्रै घटनाको बारेमा विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।

सोलमा रहेको नेपाली राजदूतावासले घटनाबारे अनौपचारिक रुपमा जानकारी भए पनि कोरियाली प्रहारी मार्फत् आधिकारिक जानकारी भने अझै नआएको जनाएको छ । ‘गम्भीर खालको घटनामा अनुसन्धान गर्न केही समय लाग्ने भएकोले पनि उनीहरुले जानकारी नगराएको हुनसक्छ,’ सोलस्थित कार्यवाहक राजदूत रामसिंह थापाले भने ।

‘कोरियामा भएको आपराधिक घटनाको कोरियाली कानुन अनुसार नै कारबाही हुन्छ । अन्य विषयमा कोरियाली प्रहरीले हामीलाई जे जानकारी दिन्छ त्यसपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।

सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कोरियामा आउन थालेका हुन् । यसअघि नेपाली कामदार कुनै गम्भीर खालका अभियोगमा कारागार पुगेका छैनन् ।

प्रकाशित : भाद्र १५, २०७९ १७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×