कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रेमिट्यान्सको ठूलो भाग आयातमा खर्च हुँदा अर्थतन्त्रमा चुनौती : गोल्छा

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र रहेका चुनौती दीर्घकालीन रहेको बताएका छन् । उनले नेपालको अर्थतन्त्र निर्यातको सट्टा आयातमा निर्भर रहेको र रेमिट्यान्सको ठूलो हिस्सा त्यो आयातमा लागेकाले अर्थतन्त्रमा चुनौती आएको धारणा राखे । 

रेमिट्यान्सको ठूलो भाग आयातमा खर्च हुँदा अर्थतन्त्रमा चुनौती : गोल्छा

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र 'आयात निषेध कि निर्यात वृद्धि' शीर्षकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले आयातलाई प्रतिस्थापन गर्नका लागि दीर्घकालीन योजनासहितका नीति ल्याउनुपर्ने बताए ।

'नेपालको अहिलेको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको छ । विगतका चुनौतीहरूभन्दा अहिलेका चुनौतीहरू गम्भीर छन् । अहिलेको चुनौती दीर्घकालीन रूपमा रहन्छ भन्ने मलाई लाग्छ । त्यसको कारण के हो भने ग्रासरुट तहमा समस्या आएको छ । एकातिर सोधनान्तर स्थितिको जुन धेरै कुरा गरिन्थ्यो, त्यसमा सुधार त भइसकेको छ तर अहिले लघुवित्त र सहकारीले गर्दाखेरि समग्र आर्थिक क्षेत्रमा तरलताको अभाव भएको छ,' उनले भने, 'हाम्रो निर्यातमूखी अर्थतन्त्र नभएर आयातमा आधारित अर्थतन्त्र मात्रै भैरहेको छ । जति पनि रेमिट्यान्स देशमा आएको छ; त्यसको धेरैजस्तो भाग आयातमा खर्च भएको छ । त्यसैले अर्थतन्त्रमा चुनौती आएको छ ।'

अर्थतन्त्रमा देखिएका चुनौतीको तत्काल समाधान गर्नका लागि कसैसँग पनि 'मन्त्र' नभएको गोल्छाको भनाइ छ । उनले नेपाली वस्तुलाई कसरी गुणस्तरीय बनाएर अगाडि बढ्ने भन्नेबारे नीति बनाउनुपर्ने बताए । 'अर्थतन्त्रका चुनौती र आधारभूत समस्या समाधान गर्नका लागि यति चाँडै कुनै मन्त्र पक्कै पनि छैन होला,' उनले भने । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने उपाय भनेको निर्यातमूखी नीति लिएर आयातलाई प्रस्तिस्थापन गर्दै जानेबारे सोच्नुपर्ने उनको भनाइ छ ।

मूल्य वृद्धि भइरहनु र माग घट्नु पनि अर्थतन्त्र समस्यामा रहेको संकेत भएको गोल्छाले बताए । उनले अहिले नेपालको अर्थतन्त्रमा गम्भीर समस्याको अवस्थामा रहेको अर्थशास्त्रीहरूले पनि स्वीकार गरेको बताए ।

प्रकाशित : भाद्र २६, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?