सहुलियत पसलका नाममा डीडीसीको बेइमानी

पनिर, चिज र घिउमा निजी डेरीभन्दा डीडीसी उत्पादन महँगो, चिजको मूल्यमा किलोमै २ सयको अन्तर
राजु चौधरी

काठमाडौँ — चाडबाडलाई लक्ष्य गरी सरकारले खाद्य वस्तुमा छुट दिने निर्णय गरे पनि बिक्री मूल्य भने निजी क्षेत्रको तुलनामा महँगो राखेको छ । असोज १ देखि सञ्चालन हुने सहुलियत पसलमा सरकारले दुग्ध विकास संस्थान (डीडीसी) मार्फत घिउ, चिज, पनिर, दहीमा छुट दिने निर्णय गरेको छ । घिउमा प्रतिकिलो ५०, चिजमा २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने प्रतिबद्धता जनाएको डीडीसीले बजारमूल्य भने निजी डेरीभन्दा महँगो राखेको हो ।

सहुलियत पसलका नाममा डीडीसीको बेइमानी

डीडीसीले दूध उत्पादन घटेको जनाउँदै गत फागुनमा यी उत्पादनमा १० देखि २० प्रतिशत मूल्य बढाएको थियो । अहिले त्यही बढेको मूल्यमा छुट दिन लागेको डीडीसी स्रोत बताउँछ । ‘छुट दिए पनि तुलनात्मक रूपमा मूल्य निजी डेरीकै सस्तो छ, सरकारको निर्णयअनुसार डीडीसीले छुट दिए पनि नाम मात्रैकै छुट दियो,’ ती अधिकारीले भने, ‘छुट दिए पनि बजारमूल्य निजी डेरीकै सस्तो छ ।’ डीडीसीले घिउ (गाई र भैंसीको मिश्रण) को मूल्य प्रतिलिटर १ हजार १ सय, गाईको घिउको मूल्य प्रतिलिटर १ हजार २ सय ५० रुपैयाँ, याक चिज प्रतिकिलो १ हजार ६ सय ६० रुपैयाँ, कञ्चन चिज १४ सय, पनिर ८ सय ६० रुपैयाँ र दही प्रतिलिटर १ सय ५० रुपैयाँमा बेच्दै आएको छ । उक्त मूल्यमा छुट दिने डीडीसीले जनाएको छ । तर निजी डेरीले प्रतिलिटर घिउ ११ सयदेखि ११ सय ८० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । कञ्चन चिजको मूल्य किलोमै २ सय रुपैयाँ सस्तो गरी १२ सय रुपैयाँमा बिक्री गरेका छन् । पनिरमा पनि ३० रुपैयाँ सस्तोमा बिक्री गरिरहेका छन् ।

‘सहुलियतका नाममा डीडीसीबाट ठगी भएको छ, बजार हस्तक्षेप भनिए पनि निजी डेरीको तुलनामा मूल्य महँगो छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सहुलियत/छुटका नाममा उपभोक्तालाई भ्रमित पार्ने काम भयो । यो बेइमानी हो । सरोकारवाला निकायले हस्तक्षेप गर्नुपर्छ ।’ डीडीसीबाहेक मुलुकमा मुख्यतः नेपाल डेरी र गायत्री डेरीले चिज उत्पादन गर्ने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल बताउँछन् । डीडीसीको भन्दा ती डेरीले सस्तोमा बिक्री गरिरहेको उनको भनाइ छ ।

‘चिज, पनिर सामान्यतः उच्च वर्गकाले नै उपभोग गर्छन् । दूधको मूल्य बढ्दा आम उपभोक्तालाई असर पर्छ । सबैलाई थाहा पनि हुन्छ । तर चिज पनिरको मूल्य बढ्दा त्यति असर गर्दैन, त्यति जानकारी पनि हुँदैन,’ दाहालले भने, ‘त्यही भएर दूधबाट उत्पादन हुने वस्तुमा मूल्य बढाउँछन् । त्यसले त्यति असर पनि हुँदैन ।’ दाहालको भनाइलाई नेपाल डेरी र गायत्री डेरीले पनि पुष्टि गर्छन् । चिजको एमआरपी मूल्य प्रतिकिलो १२ सय रुपैयाँ पर्ने गायत्री डेरीका सञ्चालक निराजन कोइरालाले जनाए । यसैगरी घिउ प्रतिलिटर ११ सय र पनिर प्रतिकिलो ८ सय ३० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए । ‘९० प्रतिशत गाई र १० प्रतिशत भैंसीको दूधबाट घिउ उत्पादन गर्छौं, बल्कमा खरिद गरे थप सस्तोमा दिने गरेका छौं,’ कोइरालले भने । नेपाल डेरीका सञ्चालक अरनिको राजभण्डारीले पनि प्रतिलिटर घिउ ११ सय ८० रुपैयाँ, चिज प्रतिकिलो १२ सय रुपैयाँ र पनिर ८ सय ३० रुपैयाँमा बिक्री गरिरहेको बताए ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले भने निजी डेरीहरूको मूल्य तलमाथि भइरहँदा डीडीसीको एकरूपता हुने दाबी गरे । डीडीसी किसानमुखी निकाय भएकाले दूरदराजबाट संकलित दूध प्रशोधन गरेर बिक्री गर्दा नोक्सानी हुने र त्यही भएर अन्य उत्पादन महँगो भएको उनको भनाइ छ । ‘प्रशोधित दूधको मूल्य उपभोक्तामुखी हुन्छ । हामीले मूल्य स्थिर गर्छौं,’ उनले भने, ‘दूधसँगै जोडिएका उत्पादनको लागत र मूल्य केही बढी नै हुन्छ ।’

निजी डेरीहरूले उपत्यका र आसपासका जिल्लाबाट मात्रै ढुवानी गर्छन् । तर, डीडीसीले दुगर्मबाट समेत ढुवानी गर्छ, त्यसले गर्दा लागतमा केही महँगो परेको दाबी छ । दुधको मूल्य बढेको जनाउँदै डीडीसीले गत वर्षको तुलनामा प्रतिलिटर घिउमा १ सय, याक चिजमा २ सय ६०, पनिरमा ४५ र कञ्चन चिजमा २८० रुपैयाँ मूल्य बढाएको छ ।

प्रकाशित : भाद्र २६, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?