१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माथिल्लो कर्णाली हाम्रो सपना हो, जसरी पनि बनाउँछौं : जीएमआर सीईओ बार्दे

काठमाडौँ — माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले उक्त आयोजना जसरी पनि निर्माण गर्ने बताएका छन् ।

माथिल्लो कर्णाली हाम्रो सपना हो, जसरी पनि बनाउँछौं : जीएमआर सीईओ बार्दे

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको 'पावर प्वाइन्टदेखि पावर लाइन्ससम्म' शीर्षकको तेस्रो सत्रमा बोल्दै जीएमआरका प्रमुख कार्यकारी अधिकृत सञ्जय नारायण बार्देले माथिल्लो कर्णाली आयोजना बनाउने भनेर कुनै सपना देखाइएको नभई त्यसलाई जतिसक्दो चाँडो बनाउन चाहेको बताए ।

‘आयोजना बनाउनेबारे हामीसँग स्पष्ट नियत छ । जीएमआर व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने कम्पनी हो,’ सीईओ बार्देले भने, ‘यो आयोजना बनाउनु नेपालको मात्र हाम्रो पनि सपना हो ।’ जतिसक्दो चाँडो आयोजना बनाउन चाहेको उनले स्पष्ट पारे ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि जीएमआरले लाइसेन्स पाएको ८ वर्ष बितिसक्दा पनि लगानी जुटाउन सकेको छैन । गत महिनामात्र सरकारले जीएमआरलाई लगानी जुटाउन थप २ वर्ष समय थप्ने निर्णय गरेको थियो ।

त्यसैगरी बार्देले सार्क राष्ट्रहरूमा विद्युत्‌को आवश्यकताको प्रकृति पूरक रहेको बताएका छन् । नेपालमा विद्युत्‌को अत्यधिक माग हुने बेला भारतमा न्यून माग हुने र भारतमा उच्च माग हुने सिजनमा नेपालमा न्यून माग हुने भन्दै एकअर्कासँग लेनदेन गर्न सकिने उनको भनाइ थियो । बांग्लादेशमा पनि त्यस्तै प्रकृतिको विद्युत आवश्यकताको अवस्था रहेको उनले बताए ।

प्रभावकारी रूपमा विद्युत्‌को आदानप्रदान हुनसके सबै राष्ट्रका लागि त्यो 'विन-विन' को अवस्थामा हुने उनले बताए । भारतलाई हरित ऊर्जाको आवश्यकता रहेको र त्यसका लागि नेपालसँग प्रभावकारी रूपमा विद्युत् आदानप्रदान गर्नुपर्ने उनको भनाइ छ । बंगलादेशमा पनि सोही प्रकृतिको विद्यत् आवश्यकता रहनु नेपाल र भारतका लागि समान अवस्था रहेको र प्रभावकारी रूपमा आदानप्रदान गर्न सकिने उनले बताए ।

विद्युत्‌को आदानप्रदान सरकारी स्तर (जीटूजी) स्तरमा मात्रै सीमित राखेर समाधान नहुने बार्देले बताए । नेपालमा ठूलो मात्रामा ऊर्जा केन्द्र स्थापना गर्नुपर्ने साथै बजार विस्तार र प्रसारण लाइन निर्माण हुनुपर्ने उनको भनाइ थियो ।

नेपालमा विद्युत् क्षेत्रमा लगानी ल्याउनका लागि ठूलो मात्रामा प्रसारण लाइन निर्माण गर्नुपर्ने बार्देले सुझाव दिए । 'ठूला परियोजना निर्माण कार्य पूरा नगरेसम्म बैंकहरूले लगानी नगर्ने भएकाले अर्बौं डल प्राप्त गर्नका लागि लागि प्रसारण लाइन विस्तार गर्नुपर्ने हुन्छ,' उनले भने । त्यो लगानी ल्याउन भारत निर्यात गर्ने गरी ठूला प्रसारण लाइन बनाउनुपर्ने उनको भनाइ थियो ।

विद्युत् व्यापार गर्नका लागि अन्तरसीमा व्यापारको संरचना निर्माण गर्नुपर्ने पनि बार्देको भनाइ थियो । उनले दुई देशका सरकारको तहमा मात्रै अन्तरसीमा व्यापार सीमित हुन नहुने बताए । उनले सरकारी तहमा नियामक निकाय रहनुपर्ने र अन्तरसीमा व्यापार निजी क्षेत्रबीच हुनुपर्ने उनको सुझाव थियो । दुवै मुलुकहरूले त्यसका लागि कानुन, नीति र निर्देशिका बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित : भाद्र २५, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?