२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

हेजिङ चाहिन्छ भन्दा देश बर्बाद पार्‍यो भनिन्छ, राष्ट्र बैंक र कर्मचारीले कुरै बुझेनन् : अर्थमन्त्री शर्मा

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरूले नबुझेको दाबी गरेका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

हेजिङ चाहिन्छ भन्दा देश बर्बाद पार्‍यो भनिन्छ, राष्ट्र बैंक र कर्मचारीले कुरै बुझेनन् : अर्थमन्त्री शर्मा

उनले आफू उर्जामन्त्री भएका बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा 'मन्त्रीले देश बर्बाद बनायो' भन्ने आरोप लागेको गुनासो गरे ।

विगत लोमो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैंक ब्युरोक्रेसीलाई बुझाउन नसक्दा ठूलो लडाइँ लडेर अहिले मन्त्रिपरिषद्‍बाट हेजिङ सम्बन्धी नियमावली पास भएको जानकारी दिए ।

मन्त्री शर्माले नेपालको जलविद्युत् क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता भए पनि हाइड्रो व्यवसायीहरूले नै चाहिँदैन भनेको बताए । उनले विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानी सम्बन्धी नीति निकै कसिलो भएको बताए । तर वैदेशिक लगानी सम्बन्धी कसिलो नीतिले देश विकास हुन नसक्ने भन्दै नीति र सोचमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, मन्त्री शर्माले पहाड खनेर ढुंगा बिक्री गर्ने प्रस्ताव गर्दा देश बिक्री गरेको आरोप लाग्ने गरेको पनि गुनासो गरे । उनले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनै पनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने दाबी गरेका थिए ।

‘वैदेशिक लगानी ल्याउनका लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ । हाम्रो नीति, कानुन र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ । सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ । ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुंगा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, हाम्रो जडिबुटी बिक्री गर्न नमिल्ने ? हाम्रो स्रोत प्रयोग गर्न नहुने अनि विकास गर्ने केबाट ? गर्ने कसरी ? गम्भीर प्रश्न छ । पहाड फोरेर ढुंगा चलाउनै हुन्न रे ! कुनै ठाउँ नचलाउने होला । एउटा पहाड खनेर बिक्री गर्न किन मिल्दैन ? काठ बिक्री गर्न नमिल्ने, अदालतले पनि ढुंगामा, जंगलमा र प्राकृतिक स्रोतका हातै लगाउन मिल्दैन भन्छ । यहाँ कसैले पनि सबै जंगल काट्ने र सबै पहाड फोड्ने कुरा गरेको छैन नि !’मन्त्री शर्माले भने ।

उनले यस्ता स्रोतबाट पुँजी निर्माण गर्नसक्ने पनि औंल्याएका थिए । यस क्रममा उनले आफू उर्जामन्त्री हुँदा नै हेजिङ आवश्यक रहेको भनेको तर अहिलेसम्म फाइनल नभएकोमा उनले असन्तुष्टि व्यक्त गरेका थिए । मन्त्री शर्माले भने, 'मैले राष्ट्र बैंकलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु । ब्युरोक्रेसीलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु तर बुझ्दैनन् । हेजिङ चाहिन्छ यो देशलाई भन्दा देश बर्बाद पार्‍यो मन्त्रीले भन्ने गरिन्छ । हेजिङ जलविद्युतलाई आवश्यक छ तर उसैले चाहिँदैन भन्छ । सबैभन्दा बढी उसैलाई चाहिएको छ । अहिले मुस्किलले ठूलो लडाइँ लडेर मन्त्रिपरिषद्‍बाट नियमवाली पास भएको छ । हामीले हाम्रो सोच परिवर्तन गर्नैपर्छ ।’

प्रकाशित : भाद्र २४, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?