भारतले चामल निर्यातमा लगायो २०% कर, नेपालमा महँगिने 

एजेन्सी

काठमाडौँ — भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । बासमती र उसिना बाहेक निर्यात हुने अन्य चामलमा भारतले २० प्रतिशत कर लगाएको हो । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले धान र चामल निर्यातमा बिहीबार कर लगाउने निर्णय गरेको हो । शुक्रबारदेखि नै बढेको कर लागू भएको छ ।

भारतले चामल निर्यातमा लगायो २०% कर, नेपालमा महँगिने 

भारतको प्रधानमन्त्री गरिब कल्याण योजनाका लागि पर्याप्त स्टक रहनुपर्ने जनाउँदै खाद्य मन्त्रालयले निर्यात कम गर्ने लक्ष्यस्वरुप २० प्रतिशत कर लगाएको हो । पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादनमा समेत कमी आएको खाद्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एबीपीले जनाएको छ । माैसम प्रतिकुलका कारण भारतभर यो वर्ष चामल उत्पादन करिब ७० लाख टन घट्ने अनुमान छ । विश्वमा धान उत्पादनमा भारत चीनपछिको दोस्रो ठूलो मुलुक हो ।

भारतले चामल निर्यातमा कर लगाएसँगै नेपालमा पनि चामलको भाउ बढ्ने भएको छ । नेपालमा वार्षिक करिब ५० अर्बको धान र चामल आयात हुने गरेको छ, भारतबाट आउने परिमाण उच्च छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल ४७ अर्ब ३५ करोड रुपैयाँको धान र चामल आयात भएको छ । कुल आयात हुने वस्तुमा धान र चामलको हिस्सा २.५ प्रतिशत छ ।


प्रकाशित : भाद्र २४, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?