१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बंगलादेशले नेपालको बिजुली लैजान भारतसँग माग्यो मार्ग

अन्तरदेशीय विद्युत् व्यापारका लागि द्विपक्षीय र बहुपक्षीय सहमति गर्न सकिने भारतको जवाफ
हेमन्त जोशी

काठमाडौँ — बंगलादेशले नेपालको बिजुली लैजान बाटो खोलिदिन भारतसँग आग्रह गरेको छ । सेप्टेम्बर ५ देखि ८ सम्म भारत भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटका क्रममा नेपाल र भुटानमा उत्पादित बिजुली भारतीय भूमिबाट लैजाने अनुमतिका लागि आग्रह गरेकी हुन् ।

बंगलादेशले नेपालको बिजुली लैजान भारतसँग माग्यो मार्ग

‘बंगलादेशले नेपाल र भुटानबाट बिजुली लैजान भारतको अनुमति मागेको छ,’ भारतीय विदेश मन्त्रालयले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । भारतीय पक्षले भने यसअघि नै अन्तरदेशीय विद्युत् व्यापारका लागि गाइडलाइन तयार पारिसकेकाले सोहीअनुसार अघि बढ्न सकिने जवाफ दिएको छ । भारतको विद्युत् मन्त्रालयले सन् २०१८ मा ‘गाइडलाइन फर इम्पोर्ट/एक्सपोर्ट (क्रस बोर्डर) अफ इलेक्ट्रिसिटी’ जारी गरेको छ । उक्त गाइडलाइनअनुसार अन्तरदेशीय विद्युत् व्यापारका लागि द्विपक्षीय र बहुपक्षीय सहमति गर्न सकिने जवाफ भारतले बंगलादेशलाई दिएको हो ।

संयुक्त विज्ञप्तिअनुसार ऊर्जा क्षेत्रमा क्षेत्रीय सहकार्यका लागि अन्तरदेशीय विद्युत् कनेक्टिभिटी निर्माणमा दुवै देश सहमत भएका छन् । बिहारको कटिहारदेखि बंगलादेशको पार्वतीपुर हुँदै असमसम्म ७६५ केभी प्रसारण लाइन बनाउन प्रस्ताव गरिएको छ । प्रसारण लाइन बनाउन दुवै देशले संयुक्त कम्पनी स्थापना गर्नेछन् । बंगलादेशले नेपालबाट बिजुली किन्न चाहिरहेको छ भने नेपाल पनि वर्षायाममा बढी भएको बिजुली बंगलादेशलाई बेच्न तयार छ । तर नेपालको बिजुली भारतीय प्रसारण प्रणाली प्रयोग गरेर मात्रै बंगलादेश पुग्न सक्छ । यसकारण अन्तरदेशीय बिजुली व्यापारका लागि तीनवटै देशको सहमति आवश्यक छ ।

यही भदौ ८ र ९ मा काठमाडौंमा बसेको नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी (जेएससी) र सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रुप (जेडब्लूजी) को चौथो बैठकले दुई देशबीच तत्काल ५० मेगावाट बिजुली किनबेच गर्न सकिने सहमति भएको थियो । नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँका सरोकारवाला निकायसँग त्रिपक्षीय छलफल गर्ने विषयमा पनि दुवै देशका अधिकारी उक्त बैठकबाट सहमत भएका थिए । भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालको बिजुली सोझै बंगलादेश जाने भने होइन । बंगलादेशले अहिले भारतबाट बिजुली किनिरहेकामा त्यही प्रणालीबाट जाने गरी नेपालको बिजुली माग गरिरहेको छ ।

भारतले अन्तरदेशीय विद्युत् व्यापारका लागि एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई अधिकार दिएको छ । नेपाल र भारत तथा भारत र बंगलादेशबीच अहिले भइरहेको विद्युत् व्यापारमा भारतीय कम्पनी एनभीभीएनले मध्यस्थकर्ताका रूपमा काम गरिरहेको छ । यसकारण नेपाल–बंगलादेशबीचको विद्युत् व्यापारमा पनि एनभीभीएनको भूमिका खोजिँदै आएको छ । नेपाल–बंगलादेश जेएससी र जेडब्लूजीको चौथो बैठकका क्रममा नेपालले एनभीभीएनलाई बिजुली उपलब्ध गराउने र सोही परिमाण बराबर एनभीभीएनले बंगलादेशलाई दिने गरी त्रिपक्षीय सम्झौता आवश्यक पर्ने औंल्याइएको थियो । विगतदेखि नै यस्तो त्रिपक्षीय छलफलका लागि पहल हुँदै आएको छ तर हालसम्म पनि ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय बैठक बस्न सकेको छैन ।

प्रकाशित : भाद्र २४, २०७९ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?