कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
चाबहिल–जोरपाटी–साँखु सडक विस्तार

चार पटक म्याद थप्दा पनि सकिएन काम

कालोपत्र गरिएको चाबहिल क्षेत्रमा ठाउँ–ठाउँमै खाल्डा
दक्षिणढोका–थली, वाग्मती पुल–थली उकालो र ब्रह्मखेल–सम्बुटार खण्डको विस्तार ७ वर्षसम्म पनि पूरा भएन
विमल खतिवडा

काठमाडौँ — कोटेश्वर बस्ने चिकित्सक सन्तोष विक्रम भण्डारी शंखरापुर नगरपालिका–७ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुग्न हरेक बिहान ६ बज्नुअगावै घरबाट निस्कन्छन् । नियमित कामका लागि उनलाई ८ बजेभित्र अस्पताल पुग्नै पर्छ । तर, सडकको दुरवस्थाका कारण सबेरै यात्रा तय गर्दै आएका छन् । ‘सडकको समस्या ७ वर्षदेखि झेल्दै आएको छु,’ उनले भने, ‘१४ वर्षयता अहिले जस्तो सडककै कारण सास्ती कहिल्यै खेप्नु परेको थिएन ।’

चार पटक म्याद थप्दा पनि सकिएन काम

सडक विस्तार थाल्नुअघि कोटेश्वरबाट उनी आधा घण्टामा अस्पताल पुग्थे । अहिले डेढ घण्टाभन्दा बढी लाग्छ । ‘सडक भत्काउनुअघि धेरै सास्ती हुँदैन थियो,’ उनले भने, ‘अहिले सडक खनेर अलपत्र छ । जताततै खाल्डैखाल्डा छन् । सडकै कारण समयमै अस्पताल पुग्न धौधौ पर्छ ।’ चावहिल–जोरपाटी–साँखु सडकअन्तर्गत दक्षिणढोकाबाट उकालो लागेपछि सास्ती सुरु हुन्छ । ‘अस्पतालमा विशेषगरी आगोले पोलेका, एसिड प्रहार भएका लगायत समस्या लिएर शल्यक्रिया गर्नुपर्ने बिरामी आउँछन्,’ उनले भने, ‘सडकको हालत यति खराब छ कि बिरामीलाई समयमै अस्पताल पुर्‍याउन धेरै सकस हुन्छ ।’

यो सडकका कारण सास्ती खेप्ने उनी एक्ला होइनन् । यात्रु, स्थानीय र व्यवसायी सबै वर्ग मारमा परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा कपडा पसल गर्दै आएकी शान्ति चौलागाईंका अनुसार पसलमा मास्क नलगाई बस्न सकिन्नँ । पानी नपर्दा सडकमा धुलो उडेर नजिकैको पनि केही देखिँदैन । ‘धूवाँधूलोले रुघाखोकी लागिरहन्छ । बिहान उठ्दा घाँटी दुखेर हैरान भइएको छ,’ उनले सुनाइन्, ‘धूलोले पसलका नयाँ कपडा बिग्रिएर बिक्री गर्नै समस्या छ ।’

उनका अनुसार विस्तार सुरु भएयता थलीमा मात्र कालोपत्रे गर्ने भन्दै ३ पटकसम्म ग्राभेल गरिएको थियो तर भएन । ‘बर्खा लाग्ने बेला ग्राभेल गरिन्छ, त्यसपछि पानीले बगाएर खाल्डाखुल्डी हुन्छ । फेरि डोजर ल्याएर खाल्डाखुल्डी सम्याउने गरिन्छ,’ उनले भनिन्, ‘केही समयअघि स्थानीयले आन्दोलन गरेर सडक अवरुद्ध गरेपछि अहिले बनाउन सुरु गरेको जस्तो भने गरेका छन् ।’ तर, उनलाई यस पटक पनि कालोपत्र हुने आस छैन ।

सडकमा भएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिमसमेत बढेको चालकहरू नै बताउँछन् । अर्कोतर्फ सवारी साधन चाँडै बिग्रने र पुरानोसमेत हुने गरेको उनीहरूको भनाइ छ । कागेश्वरी मनोहरा–५ का अध्यक्ष शंकर पाण्डे बर्खा सकिएपछि निर्माण व्यवसायी सडक कालोपत्र गर्न तयार रहेको दाबी गर्छन् । ‘यत्रो वर्षदेखि अलपत्र बाटो पानी परेको बेला हिलो हुँदैन त ?,’ उनले प्रतिप्रश्न गरे, ‘हामी निर्वाचित भएर आएदेखि नै यही काममा लागिरहेका छौं । ठेकेदारहरूसँग कुरा भइरहेकाले उनीहरू छिटो काम सक्न तयार छन् ।’

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकलाई चारखण्डमा विभाजन गरी ठेक्का लगाएको हो । पहिलो खण्ड चाबहिल क्षेत्रको काम सकिएको छ । तर, ठाउँठाउँमा कालोपत्र उप्किसकेको छ । दक्षिणढोका खण्डबाट सडकको बेहाल सुरु हुन्छ । कतै खाल्डैखाल्डा छन् त कतै कालोपत्रको नामोनिसान भेटिँदैन । नाली बनाइएको छैन । दक्षिणढोकाबाट थलीसम्म बर्खाले सडक हिलाम्मे छ । घाम लाग्दा सडक धूलोले कुहिरीमण्डल बन्छ ।


यो खण्डको ठेक्का बज्रगुरु–बिरुवा–खानी जेभीले लिए पनि काम बिरुवा कन्स्ट्रक्सनले गर्दै आएको छ । २०७२ असोज १३ मा भएको सम्झौताअनुसार २०७५ वैशाख १४ भित्र निर्माण सक्नुपर्ने थियो । तर, चार पटक म्याद थप गर्दा प्रगति ७५ प्रतिशत मात्र छ । ४५ करोड ६९ लाखमा ठेक्का लागेकोमा ३१ करोड ४६ लाख ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । तर, योजनाको लागत बढाएर ५० करोड ७१ लाख ४४ हजार रुपैयाँ पुर्‍याइएको छ । ३ किलोमिटर लामो यो खण्डमध्ये बढी समस्या थलीको ७ सय मिटर क्षेत्रमा छ । सम्झौताअनुसार काम गर्न नपाउँदा ढिलाइ भएको बिरुवा कन्स्ट्रक्सनले दाबी गर्दै आएको छ ।


स्थानीयले सडकमा पर्ने घरलगायतका संरचना भत्काउन नदिँदा समस्या भएको कन्स्ट्रक्सनका इन्जिनियर उमेश पौडेलले बताए । ‘हाल थली क्षेत्रमा सडकको पेटी बनाउने काम भइरहेको छ,’ उनले दाबी गरे, ‘मौसमले साथ दिए दसैंअघि कालोपत्रको काम पनि सक्छौं ।’ यो खण्डमा अब २ किमि सडक कालोपत्र गर्न बाँकी रहेको उनले बताए ।

तेस्रो खण्ड नारायणटारस्थित वाग्मती पुलदेखि थली उकालोसम्म पर्छ । बज्रगुरु–च्याङमिला–खानी जेभीले ठेक्का लिएको २.४ किमि लामो यो खण्डको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । एक वर्षयता १ प्रतिशत मात्र काम सकिएको छ । सम्झौताअनुसार २०७५ पुस १४ मै विस्तार सकिनुपर्ने हो तर ४ पटक म्याद थपिइसकेको छ । ३१ करोड ८१ लाख ४७ हजारमा ठेक्का लागेकोमा अहिले लागत ३६ करोड ४८ हजार पुगिसकेको छ । निर्माण कम्पनीले २६ करोड ६७ लाख ७१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।


यसैगरी, ब्रह्मखेलदेखि सम्बुटारसम्म २.४६ किमि सडक विस्तारको ठेक्का बीटी–सुनकोसी–वर्ल्डवाइड जेभीले लिए पनि काम पूरा भएको छैन । यो खण्डको पनि चौथो पटक म्याद थप भइसकेको छ तर भौतिक प्रगति ८२ प्रतिशत मात्र छ । सम्झौताअनुसार २०७५ पुस १४ मा काम सकिनुपर्ने हो । निर्माण कम्पनीले २७ करोड ७५ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । २६ करोड ६४ लाख १८ हजार रहेको प्रारम्भिक ठेक्का रकम संशोधन भएर ३२ करोड १४ लाख ५० हजार रुपैयाँ पुगेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले भने यो खण्डको काम अन्तिम चरणमा रहेको दाबी गरेको छ ।

आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बाँकी रहेको खण्डमा असोजबाट कालापत्रको काम सुरु गर्ने तयारीमा रहेको बताए । ‘सबैतिरका पुराना ठेक्का सक्ने योजना हो । असारसम्म ठेक्का टुंग्याउन सकिएला भन्ने थियो, त्यो हुन सकेन,’ उनले भने, ‘थली खण्डमा सडकमा पर्ने स्थानीयका घर, संरचना हटाउन नसक्दा काममा ढिलाइ भएको हो ।’ निर्माण कम्पनी चाँडो काम सक्न तयार रहेकाले जनप्रतिनिधिमार्फत निर्माणमा अवरोध नगर्न र सडकमा पर्ने संरचना हटाइदिन उनले स्थानीयलाई आग्रह गरिएको सुनाए । पुससम्म म्याद थप गरिएकाले यो बेलासम्म सबै काम पूरा हुने उनको भनाइ छ । ‘पुससम्म पनि नसकिए ठेक्का तोड्नुको विकल्प छैन,’ उनले भने ।

थलीमा स्थानीयकै कारण सडक बनाउन समस्या भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत दाबी गरे । ‘ग्राभेल गर्दा बाँस गाडेर काम गर्न दिएनन् । स्थानीयकै कारण बनाउन समस्या भएको हो,’ उनले भने, ‘सडकमा पर्ने घर भत्काउन नदिएपछि उपलब्ध चौडाइमा सडक सम्पन्न गरिनेछ ।’

प्रकाशित : भाद्र २३, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?