इट्टा उद्योगलाई कोइलाको समस्या, जीटूजीमार्फत् उपलब्ध गराइदिन आग्रह


धनगढी — नेपाल इट्टा उद्योग महासंघले जीटूजी प्रक्रियामार्फत् कोइला उपलब्ध गराइदिन सरकारसमक्ष आग्रह गरेको छ । वर्तमान समयमा इट्टा व्यवसायीहरूले कोइलाकै लागि ठूलो समस्या ब्यहोर्नुपरेको जनाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । धनगढीमा सम्पन्न महासंघको १४ औं वार्षिक साधारणसभा समापनका अवसरमा मंगलबार जारी घोषणा पत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

महासंघका अध्यक्ष शंकरबहादुर चन्दका अनुसार हाल कोइलाको उपलब्धता नै मुख्य समस्याका रुपमा देखा परेको छ । ‘इट्टा उद्योग नै सञ्चालन गर्न नसक्ने गरी कोइलाको मूल्य वृद्धि भएको छ भने सहज उपलब्ध पनि छैन’ अध्यक्ष चन्दले भने, ‘समयमै कोइला आपूर्ति सहज नभए उद्योग नै बन्द गर्नुपर्ने अवस्था देखिएको छ, यसप्रति सरकारको ध्यानाकर्षण गराएका छौँ ।’ जीटूजीमार्फत् कोइला उपलब्ध गराउन मन्त्री दिलेन्द्रप्रसाद बडूले आश्वासन दिएको उनले बताए ।
त्यस्तै सरकारद्वारा निर्माण गरिने भौतिक संरचनाहरूमा इट्टाको सट्टा वैकल्पिक निर्माण सामग्रीको प्रयोग हुँदै गइरहेकोमा पनि व्यवसायीले दुखेसो पोखेका छन् । सरकारद्वारा निर्माण गरिने भाैतिक संरचनामा स्वदेशी इट्टाको प्रयोगलाई अनिवार्य गर्न सरकारसंँग माग गर्ने निर्णय महासंघले गरेको छ । इट्टा उद्योगलाई थप यान्त्रीकरण र आधुनिकीकरण गर्दै लैजाने महासंघको साधारण सभाले निर्णय गरेको छ । दुई दिनसम्म सञ्चालन भएको वार्षिक साधारणसभाको मन्त्री बडूले उद्घाटन गरेका थिए । सभामा महासंघमा आवद्ध देशभरका इट्टा उद्योगीको सहभागिता रहेको थियो । साधारणसभाका सहभागीहरुले बैंकको चर्को ब्याज दरले पनि समस्या थपिएको गुनासो गरेका थिए ।