पूर्वका व्यापारिक घरानाको पुस्तान्तरण : अर्बौंको कारोबार सम्हाल्ने ७ युवा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

पूर्वका व्यापारिक घरानाको पुस्तान्तरण : अर्बौंको कारोबार सम्हाल्ने ७ युवा

सुनसरी मोरङ औद्योगिक क्षेत्रका दर्जनभन्दा बढी उद्योगको नेतृत्वमा युवा पुस्ता, नयाँनयाँ प्रविधिदेखि उत्पादनमा गुणस्तर दिनेमा जोड 
विनोद भण्डारी

विराटनगर — २७ वर्षीया युक्ति गोल्छा आफ्नो उमेरभन्दा १४ वर्ष जेठो करिब साढे चार अर्ब पुँजीको हुलास वायरको नेतृत्वमा छिन् । कर्मचारी र मजदुर गरेर ६ सय जनालाई रोजगारी दिइरहेको गोल्छा अर्गनाइजेसनको पुरानो उद्योगको नेतृत्व नयाँ पुस्ताकी युक्तिले सम्हाल्न थालेको ५ वर्ष भयो । 

भारतको नयाँ दिल्लीबाट मार्केटिङ संकायमा स्नातक युक्तिलाई उद्योग नै चलाउने रहर थिएन । तर परिवारका कारण उनी नेतृत्वमा आइपुगिन् । जसलाई उनले कुशलतापूर्वक नेतृत्व मात्रै गरेकी छैनन्, उनले नयाँ पुस्ता पनि अर्बौं रुपैयाँका उद्योग सम्हाल्न सक्षम छन् भनेर सन्देश दिइरहेकी छन् ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रमा अर्बौं रुपैयाँ लगानीका ठूला उद्योगको नेतृत्व सम्हाल्ने नयाँ पुस्तामा युक्ति एक्लो पात्र होइनन्, युक्तिलाई उद्योग सञ्चालनमा बेलायतबाट अर्थशास्त्रमा स्नातक सकेका उनका भाइ २२ वर्षीय पारसले पनि साथ दिँदै आएका छन् ।

युक्ति र पारस उद्योगी स्वर्गीय महेन्द्र गोल्छाका सन्तान हुन् । महेन्द्रको निधन हुँदा युक्ति १४ र पारस ९ वर्षका थिए । ६ वर्षअगाडि गोल्छा परिवारमा लोकमान्य, दिवाकर, महेन्द्र, दिनेश र राजकुमार गोल्छाबीच अंशबन्डा हुँदा हुलास वायर महेन्द्रको भागमा पर्‍यो । युक्तिका अनुसार बाबाको भागमा यो उद्योग परेपछि यसको नेतृत्व लिने परिवारमा कोही नभएपछि उनले २२ वर्षकै उमेरमा बागडोर सम्हालिन् ।

‘शून्य अनुभवबाट सुरु भएको हामी दुई दिदीभाइको औद्योगिक यात्रा सफलतातर्फ उन्मुख छ,’ उनले भनिन्, ‘मिहिनेत र प्रयास गर्दा सफलता टाढा रहेनछ ।’ वार्षिक सरदर ८ अर्ब रुपैयाँसम्मको कारोबार गर्ने यो उद्योगले युक्तिकै नेतृत्वमा हुलासले लगातार दुई वर्ष उत्कृष्ट निकासीकर्ताको सम्मान पनि पायो ।

टीएमटी, पाइप, जीआई वायर, वायर, ग्याल्बनाइज र स्क्र्याप उत्पादन गर्ने उद्योगमा कोरोनाकालपछि अप्ठ्यारा दिन सुरु भएका थिए, जुन चालु वर्षको बजेटमा सरकारले लिएको नीतिले झनै अप्ठ्यारो थपेको युक्तिको भनाइ छ । चालु वर्षको बजेटले सरकारले वायर उद्योगको कच्चा पदार्थमा भन्सार शुल्क र अन्तःशुल्क बढाएको छ । सरकारी नीतिपछि उद्योगले अहिले जीआई वायर उत्पादन बन्द गर्‍यो । त्यसमा कार्यरत सयभन्दा बढी मजदुर–कर्मचारीलाई बिदा गर्नुपर्‍यो । ‘औद्योगिक घरानाका युवा पुस्ता औद्योगिक क्षेत्रमा लगानी गर्न तयार छन् । तर सरकारी विभेदपूर्ण कर नीतिका कारण पलायन हुने स्थिति आएको छ,’ युक्तिले गुनासो गरिन् ।

कम्पनीले हुलास वायरकै शाखाका रूपमा सुनसरीको खनारमा २ अर्ब ५० करोड लागतमा आधुनिक पाइप युनिट स्थापना गरेको छ । युक्तिका अनुसार दसैंपछि सञ्चालनमा आउने उक्त युनिटले अटो मेसिनमार्फत हाई स्प्रिडमा अनलाइनबाट रड, पाइप र फलामजन्य वस्तु उत्पादन गर्नेछ, जसले थप ३ सयलाई रोजगारी दिनेछ ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रमै छन्, शिवम् अर्गनाइजेसनका विभिन्न १४ उद्योग एवं फर्म । करिब ६ अर्ब रुपैयाँ लगानी रहेको यी उद्योगको नेतृत्वमा छन्, ३२ वर्षीय प्रतीक र ३० वर्षीय प्रत्यूष राउत । पछिल्ला ५ वर्षयता उनीहरूले शिवम् फुटवयर, मारुती सिमेन्ट उद्योग, शिवम् मल्टिपर्पोज र राउट कन्स्ट्रक्सनसहितका उद्योग र फर्मको नेतृत्व सम्हालेपछि अभिभावक तथा अर्गनाइजेसनका अध्यक्ष राजेन्द्र राउतलाई जिम्मेवारीको बोझ घटे जस्तो भएको छ ।

वार्षिक ३ अर्बभन्दा बढीको कारोबार गर्दै आएको यो समूहले प्रत्यक्ष र अप्रत्यक्ष ८ सय जनालाई रोजगारी दिएको छ । भारतको बैङ्गलोरबाट एमबीए अध्ययन गरेका दुई दाजुभाइले अध्ययन सकेलगत्तै व्यवसायी पिता राजेन्द्रको व्यवसाय सम्हाल्न थाले । ‘केही समय पितासँग काम सिक्यौं,’ अर्गनाइजेसनका निर्देशक प्रतीकले भने, ‘अहिले बजारको मागअुनसार आफ्नै बुझाइ र ज्ञानका आधारमा कारोबार गर्दै आएका छौं ।’

व्यवस्थापनमा स्नातकोत्तर ३१ वर्षीय सौरव सारडाले पाँच वर्षदेखि सारडा समूहको नेतृत्व गरिरहेका छन् । उद्योगी पवन सारडाका छोरा सौरवको नेतृत्वमा करिब ३ अर्ब रुपैयाँमा खुलेको प्रिमियर स्टिल र डेढ अर्ब रुपैयाँमा खुलेको प्रिमियर वायर उद्योग छन् । यी दुवै उद्योगले वार्षिक करिब १० अर्ब रुपैयाँको कारोबार गर्छन् । गत वर्षसम्म प्रिमियर वायरको वार्षिक कारोबार पौने चार अर्बको थियो । प्रिमियर स्टिलको वार्षिक कारोबार अहिले साढे पाँच अर्ब रुपैयाँको छ । सरकारले बजेटमार्फत कच्चा पदार्थमा भन्सार शुल्क ५ बाट १० प्रतिशत र अन्तशुल्क प्रतिटन २ हजार ५ सयबाट ४ हजार ५ सय रुपैयाँ गरेपछि प्रिमियर वायर बन्द भएको हो ।

चालु वर्षको बजेटले कच्चा पदार्थको भन्सार शुल्क र अन्तःशुल्क बढाएपछि प्रिमियर वायरले उत्पादन गर्ने जीआई वायर र त्यसको उत्पादन बन्द भयो, जसले ३ सय मजदुर कर्मचारी कटौतीमा परे । ‘सरकारको नीतिले औद्योगिक क्षेत्रमा थप लगानी गर्ने वातावरण नै छैन,’ उनले भने, ‘विदेश नगई स्वदेशमै उद्योग व्यवसाय गर्ने ठूलो इच्छा थियो तर सरकारी नीतिले इच्छा नै मरेर आयो ।’

करिब ३ अर्ब रुपैयाँको लगानीका बिस्कुट, चाउचाउ, चक्लेट, स्न्याक्सलगायतका उद्योग सञ्चालन गरिरहेको कावरा समूहको नेतृत्व सम्हालिरहेका छन्, ३० वर्षीय सिद्धार्थ कावरा । बेलायतबाट बिजनेस म्यानेजमेन्टमा स्नातक सिद्धार्थ तीन वर्षयता वार्षिक करिब ५ अर्बको कारोबार गर्ने उद्योगको नेतृत्वमा छन् । एक हजारभन्दा बढीलाई रोजगारी दिएको कावरा समूहले १ सय २० भन्दाबढी ब्रान्ड बजारमा पुर्‍याएको छ ।

‘समूहमा नयाँ उद्योग थप्ने, भएका उद्योगबाट उत्पादनको ब्रान्ड बढाउने र उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउने काम गर्दै छु,’ समूहका निर्देशक एवं उद्योगी श्याम कावराका छोरा सिद्धार्थले भने, ‘कावरा समूहका १ सय २० भन्दा बढी ब्रान्ड बजारमा पुर्‍याएको छु ।’

एक अर्ब ५० करोड रुपैयाँ लगानीको हिमगिरि साबुन उद्योग सम्हालेका छन्, उद्योगी महेश जाजुका छोरा २६ वर्षीय वेदान्त जाजुले । ५ सयभन्दा बढीलाई रोजगारी दिएर वार्षिक अढाई अर्ब रुपैयाँको कारोबार गर्दै आएको उद्योगका नेतृत्वकर्ता उनी बेलायतबाट प्रडक्ट डिजाइनिङमा स्नातक हुन् । उद्योगका निर्देशक उनले भने, ‘परिवार नै औद्योगिक क्षेत्रमा छ, म पनि स्वस्फुर्त यस क्षेत्रमा लागुको हुँ ।’

तीन वर्षदेखि उद्योगको नेतृत्व गर्दै आएका वेदान्तले लुगा धुने साबुनमा सरकारले ५ प्रतिशत अन्तःशुल्क लगाएर अचम्मित बनाएको प्रतिक्रिया दिए । लुगा धुने साबुनमा विश्वभर अन्तःशुल्क नभएको र नेपाल सरकारको नीतिले युवा उद्यमीलाई निरुत्साहित बनाउने काम मात्र गरेको उनको भनाइ छ ।

पछिल्लो समय सुनसरी मोरङ औद्योगिक क्षेत्रमा दर्जनभन्दा बढी शिक्षित युवकयुवतीले उद्योगको नेतृत्व लिएको उद्योग संगठन मोरंगका उपाध्यक्ष एवं उद्योगी नन्दकिशोर राठी बताउँछन् । ‘शिक्षित युवकयुवतीले नेतृत्व लिएपछि उद्योगमा आधुनिक प्रविधि भित्रिनुका साथै उत्पादनको गुणस्तरमा पनि वृद्धि भएको छ,’ उनले भने, ‘युवा उद्यमीले विश्वबजारमा आएका नयाँ उत्पादनबारे बुझिरहेका छन् । अनि बजारको मागअनुसारका नयाँ उत्पादन बजारमा ल्याइरहेका छन्, जसले उद्योगको गुणस्तर र कारोबार दुवै बढाएको छ ।’

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले पनि अर्बौं रुपैयाँ लगानीका उद्योगको नेतृत्वमा नयाँ पुस्ता आइरहेको बताए । ‘हरेक औद्योगिक घरानाका युवा पुस्ता उच्च शिक्षा प्राप्त छन्, उनीहरू उद्योग व्यवसायमा आउन आतुर देखिन्छन्,’ उनले भने ।

प्रकाशित : भाद्र २२, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्

आफ्नै क्षेत्रमा सर्वसम्मत हुन सकेनन् कोइराला

विनोद भण्डारी

विराटनगर — आसन्न संघीय निर्वाचनमा आफ्नो गुटबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका कांग्रेस नेता शेखर कोइराला आफ्नै निर्वाचन क्षेत्र मोरङ–६ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन् । उनलाई संस्थापन पक्षका डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतले चुनौती दिएका छन् । 

संग्रौला समानुपातिकबाट वर्तमान सांसद र रायमाझी राष्ट्रिय सभामा दलका नेता हुन् । त्यसैगरी बस्नेत पूर्वमन्त्री हुन् । पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनमा उनी क्षेत्रीय प्रतिनिधिमै पराजित भएका थिए । कोइराला अघिल्लो निर्वाचनमा यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका लालबाबु पण्डितसँग ६ सय ७५ मतले पराजित भएका थिए । आगामी निर्वाचनका लागि एमालेले पण्डितसहित प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरीलाई सिफारिस गरेको छ । त्यसैगरी माओवादी केन्द्रबाट हेमबहादुर कार्की र जसपाले राजेन्द्र गुप्ता र महेश्वर यादवको नाम पठाएको छ ।

मोरङ क्षेत्र नं १ मा कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बूसहित रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गर्दा एमालेले वर्तमान सांसद घनश्याम खतिवडासहित पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेको नाम सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा खतिवडाले कांग्रेसका लिम्बूलाई हराएका थिए । यो क्षेत्रमा माओवादी केन्द्रले प्रेममिभक लिम्बूको नाम मात्र पठाएको छ । क्षेत्र नं २ मा एमालेले जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको एकल नाम पठाएको छ । उनी अघिल्लो निर्वाचनमा कांग्रेसका मिनेन्द्र रिजालसँग हारेका थिए । कांग्रेसले रिजाल र सुजाता कोइरालाको नाम तय गरेको छ । यो क्षेत्रमा माओवादी केन्द्रले प्रदेश कमिटी सचिव गणेश उप्रेतीको एकल नाम सिफारिस गरेको छ । उनी अघिल्लो निर्वाचनमा प्रदेश सांसदका उम्मेदवार हुँदा कांग्रेसका शिवनारायण गनगाइसँग पराजित भएका थिए । यो क्षेत्रमा जसपाले प्रेमनारायण थापाको नाममा सहमति जुटाएको छ ।

क्षेत्र नं ३ मा कांग्रेस र एमाले दुवैले एक/एक उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमालेले वर्तमान सांसद भानुभक्त ढकाल र कांग्रेसले काठमाडौं र नोबेल मेडिकलका सञ्चालक सुनिल शर्माको नाम पठाएको छ । ढकाल र शर्मा २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । यो क्षेत्रबाट माओवादी केन्द्रले सावित्रीकुमारी काफ्ले र खेम सुन्दासको नाम सिफारिस गरेको छ । क्षेत्र नं ४ मा एमालेले केन्द्रीय सदस्य विनोद ढकालको एकल नाममा सर्वसम्मति गर्दा कांग्रेसले महेश आचार्य, महानगका पूर्वमेयर भीम पराजुली, अमृत अर्याल, गुरुराज घिमिरे र दिलीप गच्छेदारको नाम अघि सारेको छ । पराजुली, अर्याल र गच्छेदार सस्थापन पक्षका हुन् । आचार्य २०५१ देखि यो क्षेत्रबाट हरेक संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् । उनी अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अमनलाल मोदीसँग फराकिलो मतान्तरले हारेका थिए । यो क्षेत्रमा माओवादी केन्द्रले मोदीको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नं ५ मा एमालेले जीवन विकास संस्थाका सञ्चालक तथा सामाजिक अभियन्ता योगेन्द्र मण्डल (जोगी) को नाम तय गरेको छ । माओवादी केन्द्रले हालका सांसद शिवकुमार मण्डलको एकल नाम सिफारिस गरेको छ । मण्डलले अघिल्लो निर्वाचनमा कांग्रेसका अमृत अर्याललाई हराएका थिए । यो क्षेत्रमा कांग्रेसले अर्यालसहित हसन अन्सारीको नाम सिफारिस गरेको छ । यो क्षेत्रमा जसपाले केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम अगाडि बढाएको छ ।

प्रकाशित : भाद्र २१, २०७९ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×