२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

चार महिनाभित्र सक्ने गरी मुड्खु–तीनपिप्ले सडकको ठेक्का

विमल खतिवडा

काठमाडौँ — बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको ठेक्का सम्झौता एक साताभित्र गरिने भएको छ । जुन कम्पनीले ठेक्का पाउँछ, उसले ठेक्का सम्झौता भएको मितिले चार महिनाभित्र सडक स्तरोन्नति सक्नुपर्नेछ । उक्त समयमा स्तरोन्नति नसकिए ठेक्काको म्याद थपिनेछैन । बालाजु–रानीपौवा सडक टुक्र्याएर ५.५ किलोमिटर दूरीको बीचको खण्ड ‘फास्ट ट्र्याक’मा स्तरोन्नति गर्न ठेक्का आह्वान गरिएको हो ।

चार महिनाभित्र सक्ने गरी मुड्खु–तीनपिप्ले सडकको ठेक्का

बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठक्का लिए पनि काम हुन सकेको थिएन । शैलुङ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको कन्स्ट्रक्सन हो । पटकपटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेपछि उक्त ठेक्का तोडेर नयाँ ठेक्का गर्ने तयारी भएको छ । यही सडकमध्य मुड्खु–तीनपिप्ले एउटा खण्ड रहेको महानिर्देशक थापाले जनाए ।

सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोडेको थियो । ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखिसकेको छ । ‘मुड्खुदेखि तीनपिप्लेसम्मको सडकमा समस्या छ, फोहोर बोकेर बन्चरेडाँडा जाने सडक पनि यही हो,’ महानिर्देशक थापाले भने, ‘यसलाई मूल ठेक्काबाट छुट्याएर छिटो विधिबाट काम गर्न मन्त्रिपरिषद्मा सहमतिका लागि पठाइएको थियो, त्यहीअनुसार ठेक्का आह्वान गरी सम्झौताको अन्तिम तयारी छ ।’

काठमाडौंको फोहोर लैजान सडकका कारण समस्या भइरहेकाले चाँडो निर्माण सक्ने गरी ठेक्का गरिएको उनको भनाइ छ । ठेक्का रकम १७ करोड रुपैयाँ छ । ‘अरु खण्डको काम भारतीय एक्जिम बैंकको ऋणबाटै गर्नेबारे छलफल भइरहेको छ,’ थापाले भने, ‘पछि बालाजु–तीनपिप्ले–त्रिशूली खण्डलाई एउटै ठेक्का बनाएर काम गरिनेछ ।’ यसअघि सडक स्तरोन्नतिको काम सरकारले भारतीय एक्जिम बैंकबाट ऋण लिएर गरेको हो । रानीपौवा–त्रिशूली खण्डको पनी ठेक्का तोडिसकिएको छ । पटकपटक म्याद थप्दा पनि प्रगति नभएपछि ठेक्का तोडिएको हो, जसको ठेक्का दिनेशचन्द्र आर अग्रवालसँग नागार्जुन–कोसी एन्ड न्यौपाने कम्पनीले जेभीमा लिएको हो । यस कम्पनीलाई तीन वर्षसम्म नयाँ ठेक्का नपाउने गरी गत साउनमा कालोसूचीमा राखिएको हो, जुन खण्डको दूरी ३४.१८ किमि छ । सडक विभागका अनुसार रानीपौवा–त्रिशूली खण्डमा सुरुदेखि नै काममा प्रगति थिएन ।

सुरुमा बालाजु–रानीपौवा खण्डको कुल ठेक्का रकम ३४ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेकामा १८ करोड ९५ लाख ४७ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । रानीपौवा–त्रिशूली खण्डको ठेक्का रकम ५० करोड ४२ लाख ९५ हजार रुपैयाँ छ । यसमध्ये २० करोड ७४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । बालाजुदेखि मुड्खुसम्म कालोपत्र गरिए पनि सबैभन्दा बढी खाल्डाखुल्डी यही खण्डमा छ । बनाइएको सडकसमेत भत्किएकाले आवतजावतमा समस्या छ । मुड्खु–तीनपिप्लेको काम फास्ट ट्र्याकमा गर्ने गरी ठेक्का सम्झौता भएर अहिले आर्थिक/प्राविधिक मूल्यांकन भइरहेको बालाजु–रानीपौवा–त्रिशूली सडक विस्तार आयोजनाका प्रमुख गौतम श्रेष्ठले जनाए ।

बालाजु–रानीपौवाको बाँकी खण्ड र रानीपौवा–त्रिशूली सडकमा नयाँ ठेक्का गरे पनि सडक पूरा गर्न लाग्ने सबै रकम कालोसूचीमा पर्ने कम्पनीले बेहोर्नुपर्ने विभागका महानिर्देशक थापाले बताए । ‘नापी गरेर उसले काम गरे बराबरको रकम भुक्तानी दिइसकिएको छ,’ उनले भने, ‘बाँकी काम गर्दा लाग्ने थप रकम निर्माण कम्पनीले नै बेहोर्नुपर्नेछ ।’ काम गर्न सम्झौता गरेको रकमभन्दा जति बढी लाग्छ, उसैले तिर्नुपर्ने पनि उनले बताए । ‘जति काम गर्छु भनेर ठेक्का सम्झौता गरेको छ, त्यो काम सक्न लाग्ने रकम उसैले बेहोर्नुपर्नेछ । त्यसका लागि ठेकेदारलाई पैसा जम्मा गर्न आग्रह गरिनेछ,’ थापाले भने, ‘रकम नतिरे तीनपुस्ते विवरण कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा बुझाएर सरकारी बाँकी सरह असुल गरिनेछ ।’

प्रकाशित : भाद्र २०, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?