मंगल ग्रहमा अक्सिजन निकाल्ने मोक्सी रोबट

सजना बराल

काठमाडौँ — सर्वाधिक ९६ प्रतिशत कार्बन डाइअक्साइडले भरिएको मंगल ग्रहमा मान्छे पुर्‍याउने कुरा चलिरहेको छ । इलन मस्कजस्ता धनाढ्य र अन्तरीक्ष यानसम्बन्धि कम्पनीका मालिकहरूले मंगल ग्रहमा मानव उपनिवेश खडा गर्ने बताइरहेका छन् । चीनले सन् २०३३ मा त्यहाँ मान्छे पठाउने लक्ष्य लिएको छ । तर, मंगल ग्रहमा मानिसका लागि नभई नहुने अक्सिजनको मात्रा जम्मा १.३ प्रतिशत छ । यस्तोमा मानिस कसरी रहने ?

मंगल ग्रहमा अक्सिजन निकाल्ने मोक्सी रोबट

मंगल ग्रहमा अक्सिजन अभावको समस्या समाधान गर्न वैज्ञानिकहरू लागिपरेका छन् । यही प्रयोजनका लागि हाल एउटा सानो रोबट मंगल ग्रहमा पठाइएको छ । पछिल्लो केही महिनादेखि त्यो रोबटले निरन्तर अक्सिजन उत्पादन गरिरहेको छ । पृथ्वीमा रुख–बिरुवाले हावाबाट कार्बन डाइअक्साइड लिएर अक्सिजन फ्यालेझैं मंगल ग्रहमा फुच्चे रोबटले समान काम गरिरहेको छ । अहिले यो नमूनाका रूपमा रहेको र विस्तारै पूर्ण क्षमताको यस्तै रोबट पठाएर घण्टैपिच्छे सयौं ग्राम र पाउन्ड अक्सिजन निकाल्नेबारे वैज्ञानिकहरूले योजना बनाएका छन् ।

यसै साता प्रकाशित साइन्स एड्भान्सेस जर्नलमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजी (एमआईटी) का अनुसन्धाताहरूको लेखमा मार्स अक्सिजन इन–सिटु रिर्सोस युटिलाइजेसन एक्स्पेरिमेन्ट (मोक्सी रोबट) ले मंगल ग्रहको वायुमण्डलमा पर्याप्त मात्रामा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउन सक्ने उल्लेख छ । नासाको जेट प्रोपल्सन प्रयोगशाला र एमआईटीले निर्माण गरेको टिफिन बट्टाजत्रै आकार/प्रकारको यस रोबटले हरेक प्रहर र मौसममा अनवरत अक्सिजन उत्सर्जन गर्न सक्ने वैज्ञानिकहरूको दाबी छ ।

नासाले फेब्रुअरीमा प्रिजर्भरेन्स रोभर नामक यन्त्र मंगल ग्रहमा पठाएको थियो । त्यसले उक्त रातो ग्रहमा पुरातन जीवनका संकेत खोज्नुका साथै पृथ्वीमा फर्किएर आउँदा साथमा ल्याउनका लागि त्यहाँको चट्टान र माटोका नमूना संकलनको काम गरिरहेको छ । प्रिजर्भरेन्स रोभर मिसनकै पाटोका रूपमा गएको मोक्सी रोबटले प्रतिघण्टा ६ ग्राम अक्सिजन उत्पादन गर्न सक्छ । पृथ्वीमा सामान्य रुखले पनि औसतमा यति नै मात्रामा अक्सिजन निकाल्छ । मोक्सी रोबटबाट १० ग्रामसम्म अक्सिजन निकाल्न सकिने वैज्ञानिकहरूले बताएका छन् । मंगल ग्रहमा मानिस पठाउनुअघि नै अझै परिष्कृत स्वरुपको मोक्सी रोबट बनाएर सयौं संख्याका रूखले झै त्यहाँ धेरैभन्दा धेरै मात्रामा अक्सिजन उत्पादान गर्न खोजिएको छ । अहिलेको रोबट प्रिर्जभरेन्स रोभरसँगै पठाइएको हुनाले त्यसमा मिल्ने गरी सानो आकारको बनाइएको द गार्डियन पत्रिकाको यस समाचारमा भनिएको छ ।


प्रिजर्भरेन्स रोभर ।

मोक्सी मिसनका उप–प्रमुख अन्वेषक एवं एमआईटीको एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स विभागका प्रोफेसर जेफ्री हफम्यानले साइन्स एड्भान्सेस जर्नलमा भनेका छन्, ‘अर्को कुनै ग्रहमा त्यहीँ उपलब्ध स्रोत प्रयोग गरी रासायनियक प्रक्रियाद्वारा त्यसलाई मानव मिसनमा उपयोगी हुने चिजमा परिवर्तन गरिएको यो पहिलो पटक हो ।’ मोक्सीले आफ्नो एयर फिल्टर (हावा छान्ने) द्वारा मंगल ग्रहमा रहेको कार्बन डाइअक्साइड सोस्ने गर्छ । त्यसबाट अक्सिजन आयन र कार्बन मोनोअक्साइडलाई प्रशोधन गरी अलग गर्दछ । प्रशोधित आयनलाई फेरि आपसमा मिश्रण गरेर त्यसलाई सास फेर्न योग्य अक्सिजन बनाउँछ । त्यसपछि त्यो अक्सिजन पुनः मंगल ग्रहको वायुमा निस्कासन गरिन्छ ।

विज्ञान तथा प्रविधिसम्बन्धीका पत्रकार टोनी हो ट्रानले द डेली बिस्टमा लेखेका छन्, ‘सास फेर्न योग्य हावा उत्पादन गर्नुका साथै यस रोबटले अन्तरीक्ष यात्री र मंगल ग्रहका नमूनाहरू पृथ्वीमा पठाउन अन्तरीक्ष यानका लागि आवश्यक इन्धन उत्पादन गर्न सक्छ । हाइड्रोजन र अक्सिजनको समिश्रणबाट यसले पानीसमेत बनाउन सक्छ ।’ पृथ्वीबाट करिब १० करोड माइल्स (१६ करोड किलोमिटर) पर रहेको उजाड र धुलाम्मे ग्रहमा स्वच्छ हावा र पानी उपलब्ध हुन भएपछि त्यहाँ मानव जीवन सम्भव हुने अपेक्षा गरिएको छ ।

तर, मंगल ग्रहमा मान्छे पुर्‍याउनु असाध्यै जटिल काम भएको वैज्ञानिक हफम्यानले द वासिङटन पोस्टको यस लेखमा बताएका छन् । उनका अनुसार मंगल ग्रहमा जाने यात्रीले ज्यादै तेज किसिमको ब्रम्हाण्डीय विकिरण लामो अवधिसम्म सहन सक्ने तागत निर्माण गर्नुपर्छ । पृथ्वीबाट मंगल ग्रहमा पुग्न ८ महिनाभन्दा बढी समय लाग्छ । त्यत्तिञ्जेलका लागि खाना, पानी, औषधीको प्रबन्ध हुनुपर्छ । स्पेस एजेन्सीहरूले अन्तरीक्ष यात्रीलाई मंगल ग्रहमा जान–आउन पुग्ने गरी अक्सिजन उपलब्ध गराउन सके तापनि त्यो असाध्यै महँगो पर्ने हफम्यानको भनाइ छ । उतै अक्सिजन बनाउन सकियो भने खर्च कम हुने उनले बताएका छन् ।

म‌ंगल ग्रहमा पुगेर प्रिजर्भरेन्स रोभरले लिएको सेल्फी ।

हफम्यानका अनुसार मंगल ग्रहमा मानिस पुर्‍याएर उनीहरूलाई फर्काउन मोक्सीले प्रतिघण्टा कम्तिमा ४.५ पाउन्डदेखि ६.५ पाउन्डसम्म अक्सिजन उत्पादन गर्नुपर्ने हुन्छ । त्यसका लागि रोबटको क्षमता सयौं गुणाले वृद्धि गर्नुपर्ने र सो सम्भव भएको उनले बताएका छन् । ‘अधिकांश समयमा मेसिनले काम गरेको छ,’ मोक्सी अभियानका प्रमुख अन्वेषक माइकल हेचले भनेका छन्, ‘मंगल ग्रहको तापक्रममा उल्लेख्य बदलाव आउने साँझ र बिहानको समयमा भने हामीले परीक्षण गर्न पाएका छैनौं । यसबारे प्रयोगशालामा परीक्षण गर्ने तयार भइरहेको छ ।’

मंगल ग्रहमा मान्छे पठाउन स्पेस एजेन्सी, वैज्ञानिक र उद्यमीहरू लालायित भइरहेका बेला नासाले आज (३ सेप्टेम्बर) साँझ आर्टेमिस मिसनअन्तर्गत स्पेस लन्च सिस्टम (एसएलएस) रकेट चन्द्रमामा पठाउन लागेको छ । अगस्ट २९ (१३ भदौ) मै आर्टेमिस–१ को प्रक्षेपण गर्ने तय भए पनि इन्जिनमा प्राविधिक खराबी देखिएपछि मिति पर सारिएको थियो । यो मिसनलाई आगामी दसकमा गरिने मंगल ग्रह अन्वेषणका लागि पहिलो पाइलाका रूपमा हेरिएको छ ।

प्रकाशित : भाद्र १८, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?