१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न सहमति

भारतीय बजारमा मात्र निर्भर रहँदा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार खुम्चिएको सरोकारवालाको गुनासो
अर्जुन राजवंशी

बिर्तामोड — प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न प्रदेश सरकारका मन्त्री, सांसद तथा सचिव सहमत भएका छन् । यसका लागि आवश्यक अध्ययन तथा नीति निर्माणमा प्रदेश सरकार लाग्ने उनीहरूको भनाइ छ । वार्षिक चार अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने चिया क्षेत्रमा देखिएका समग्र समस्या सम्बोधन गर्न पनि चिया विशेष क्षेत्र घोषणा आवश्यक रहेको उनीहरूको तर्क छ ।

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न सहमति

विश्व बजारमा नेपाली चियाको माग उच्च छ । तर भारतीय बजारमा मात्र निर्भर रहँदा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार खुम्चिएको सरोकारवालाको आरोप छ । नेपाली चियाको प्रवर्द्धन, विकास र विस्तारमा योजनाबद्ध कार्यक्रम गर्ने गरी प्रदेशलाई चिया विशेष क्षेत्र घोषणाको पहल थाल्ने उनीहरूको भनाइ छ । चिया क्षेत्रको विकास एवं प्रवर्द्धनमा प्रदेश सरकारको भूमिका र जिम्मेवारी महत्त्वपूर्ण रहने प्रदेश कृषिमन्त्री झलकबहादुर मगरले बताए । चिया क्षेत्रमा देखिएका समस्या संबोधनसहित प्रवर्द्धन, विकास र विस्तारका लागि प्रदेशलाई चिया विशेष क्षेत्र घोषणा गर्न जायज भएको उनको भनाइ छ ।

बिर्तामोडमा बिहीबार आयोजित ‘चिया क्षेत्रका समस्याहरूको दिगो समाधानमा प्रदेश सरकारको भूमिका र जिम्मेवारी’ विषयक अन्तरक्रियामा प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावागीले प्रदेशलाई चिया विशेष क्षेत्र घोषणा गर्न आफ्ना तर्फबाट सबै खाले भूमिका खेल्ने प्रतिबद्धता जनाए । ‘चिया निर्यातबाट मुलुकले अर्बौं रुपैयाँ विदेशी मुद्रा आर्जन गर्छ तर यस क्षेत्रमा देखिने समस्या समाधानतर्फ वर्षौसम्म सुनुवाइ नभएको विगतको अनुभव छ,’ उनले भने ।

अर्गानिक र गुणस्तरीय चिया उत्पादनका लागि पनि चिया विशेष क्षेत्र घोषणाले महत्त्वपूर्ण अर्थ राख्ने प्रदेश कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाको तर्क छ । प्रदेशको आर्थिक परिवर्तनमा चिया, अम्लिसो, अलैंची, अदुवालगायत कृषि उत्पादनको ठूलो महत्त्व र भूमिका छ । त्यसैले सबै सरोकारवालासँग हातेमालो गरेर चियालाई प्रदेशकै एउटा महत्त्वपूर्ण उत्पादनका रूपमा चिया विशेष क्षेत्र घोषणा गर्न हामी तयार छौं,’ उनले भने ।

चिया क्षेत्र हेर्ने स्पष्ट निकाय नहुँदा ठूलो सम्भावना भएर पनि यस क्षेत्रले निरन्तर संकटपूर्ण अवस्थाको सामना गर्नुपरिरहेको नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेश मित्तलले बताए । नेपाली चिया भारतीय बजारमा मात्र निर्भर हुनुपर्दा यसको आशातित विकास हुन नसकेको उनको तर्क छ ।

प्रकाशित : भाद्र १७, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?