१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नाकामा सामान रोकिँदा दसैं महँगिने चिन्ता

व्यवसायी भन्छन्– ‘भदौभित्र आए मात्र दसैंका सामान बिक्री गर्न मिल्छ, नत्र त्यसको अर्थ हुन्न’
सुनको माग प्रतिदिन २५ देखि ३० किलो, आयात १० किलो मात्र
सीमा तामाङ

काठमाडौँ — तीजको चहलपहल सुरु भइसके पनि उत्तरी नाका बन्द हुँदा दसैं बजार कस्तो हुन्छ भन्ने अन्योल छ । तीज सकिएसँगै दसैं बजार सुरु हुने व्यवसायीहरू बताउँछन् । दसैं सुरु हुन ३५ दिन बाँकी छ । तर दसैंमा धेरै बिक्री हुने रेडिमेड सामानलगायत विद्युतीय सामान उत्तरी नाकामै अड्किएका छन् ।

नाकामा सामान रोकिँदा दसैं महँगिने चिन्ता

सामान अड्किएकै कारण व्यापारी, तिनका कर्मचारी, बैंकको ऋण, गोदाम भाडालगायत विविध कारणले गर्दा स्वतः मूल्य बढ्ने व्यवसायीहरूको भनाइ छ ।

अबको २५ दिनमा उत्तरी नाकामा अड्किएका सामान नेपाली बजारमा आउन सकेनन् भने तिनको अर्थ नहुने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । ‘तीजलगत्तै दसैंको व्यापार सुरु हुन्छ, तर नेपाली बजारका सामान उत्तरी नाकामै छन्,’ उनले भने, ‘नाकामै आइसकेका सामान छुटाउन सरकारसँग माग गरेका छौं ।’ उत्तरी नाकाको अवस्था हेर्दा कोरोना संक्रमण घटे नाका खुल्ने नत्र नखुल्ने देखिएको उनले सुनाए । ‘दसैंका सामान नाकामा अड्किबसेका छन्, भदौभित्र आए भने मात्र दसैंका लागि बिक्री गर्न मिल्छ, नत्र त्यसको अर्थ हुँदैन,’ उनले भने ।

उत्तरी नाकाबाट लत्ताकपडा, विद्युतीय सामग्री, खाद्यान्न, फलफूललगायत सामग्री नेपाली बजारमा भित्रिन्छन् । बिग्रने सामानलगायत सयौं ट्रक सामान चिनियाँ नाकामा अड्किएको उनको भनाइ छ । ‘ती सामग्री बिग्रेको खण्डमा कसले भरपाई गर्ने ? त्यसकारण सरकारले ती सामान छुटाउन पहल गर्नुपर्छ,’ श्रेष्ठले भने । दसैंतिहारलगायत चाडपर्वमा अन्य समयको भन्दा ४० प्रतिशत बढी सामग्री बिक्रीवितरण हुने भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । बैंकको ऋणलगायत विभिन्न समस्याका बाबजुद अर्डर गरेका सामान पनि नाकामै अड्किएकाले व्यवसाय नै धरापमा पर्ने जोखिमसमेत रहेको उनको भनाइ छ । उत्तरी नाकाबाट झन्डै १ महिनामा सामान आइपुग्छ । त्यसैले व्यवसायीहरूले उत्तरी नाकाबाट नै सामान अर्डर गर्छन् । सिपमार्फत पनि सामग्री नआउने होइन तर आउनै ३ महिनाभन्दा बढी समय लाग्ने व्यवसायीहरूको भनाइ छ ।

तीजमा लगाइने साडी, कुर्ता–सुरुवाललगायत सामान भारतीय बजारका हुन्छन् । त्यसैले तीजका लागि कुनै समस्या नभएको व्यापारीहरू बताउँछन् । तर दसैंलगायत अन्य चाडपर्वमा रेडिमेड कपडा नै धेरै प्रयोग गरिने हुँदा समस्या आउने उनीहरूको भनाइ छ । तीजलगत्तै दसैंका लागि धेरै सामान खोज्न आउने भए पनि यस पटक सामान आइनसकेको काठमाडौंको महाबौद्धमा जेन्ट्स कपडाको होलसेल पसल गरिरहेका शाश्वत आचार्यले बताए । ‘उत्तरी नाका बन्द भएकाले साता दिनमा सामान आउँछ भन्ने सुनेको छु, सामान झरेन भने यो दसैं स्टक सामानले नै चलाउनुपर्छ,’ उनले भने, ‘व्यापारीसँग स्टक सामान भए पनि उपभोक्ताले रुचाउने हुन् कि होइनन् ।’ नाका खुलेन र सामान आउन सकेन भने यो पटक सीमित सामानमै दसैं सकाउनुपर्ने अवस्था आउने उनले सुनाए । ‘तीजपछि बाहिर विभिन्न जिल्लाबाट पनि सामान लिन आउँछन्, काठमाडौंकै पनि नयाँ सामान लिन आइहाल्छन्,’ उनले भने ।

नाकामा चाडपर्व लक्षित सामग्री अड्किएको भन्दै आइतबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति नै जारी गरेको छ । आयातित सामग्री चिनियाँ सिमानामा रोकिएको र लामो समयदेखि निर्यात ठप्प भएको घटनाले आफूहरूको ध्यानाकर्षण भएको महासंघले जनाएको छ । ‘चाडपर्व लक्षित सामान चिनियाँ नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायी धराशायी हुने खतरा बढेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीले निकै समस्या खेपिरहेका छन् ।’

यस्तै विविध समस्याका बाबजुद चाडपर्व लक्षित सामग्री अर्डर गरिए पनि सीमामै रोकिनु दुःखद रहेको महासंघका अध्यक्ष कुमार कार्कीले बताए । सीमामा यस्तै अवरोध रहने हो भने धेरै उद्योगी व्यवसायी आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको उनको भनाइ छ । आवश्यक कूटनीतिक पहल गरी नाकामा देखिएका समस्या यथाशीघ्र समाधान गर्न सरकार, पराराष्ट्र मन्त्रालयलगायत सरोकारवाला निकायलाई महासंघले आग्रह गरेको छ ।

तीज सुरु भएसँगै सुनचाँदीको पनि मौसम सुरु भइसकेको छ । तर पर्याप्त सुन नभएको व्यवसायीहरूको भनाइ छ । उपभोक्ताको माग बढ्दै गए पनि व्यवसायीसँग पर्याप्त सुन नभएको सुनचाँदी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बताए । ‘सुनचाँदीको सिजन सुरु भइसक्यो । बजारमा सुन छैन, हामीले ग्राहकको माग नै पूरा गर्न नसक्ने अवस्था आउँदै छ,’ उनले भने । सामान्यतया प्रतिदिन २५ देखि ३० किलोसम्मको सुनको माग रहे आफूहरूले धान्न नसक्ने उनको भनाइ छ । ‘सिजनमा ४० किलोसम्मको अर्डर आउँछ, आयात जम्मा १० किलो छ, ग्राहकको माग नै धान्न सक्दैनौं,’ उनले भने, ‘सिजनमा धेरै खपत हुन्छ, सरकारलाई दबाब दिएर सुन आयातको परिमाण बढाउन जोड दिनुपर्छ ।’

सरकारले ०७६ चैत १६ देखि सुनको दिनहुँ आयात गरिने कोटालाई १० किलोमा झारेको थियो । त्यसलगत्तै सरकारले ०७७ चैतमा दैनिक २० किलोका दरले प्रतिदिन २५ किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । तर फराकिलो बन्दै गएको शोधनान्तर घाटा र तीव्र रूपले घटिरहेको विदेशी मुद्रा सञ्चितिको अवस्थालाई थप बिग्रन नदिन भन्दै ०७८ फागुनमा पुनः सुन आयातको कोटा (परिमाण) घटाएर प्रतिदिन १० किलो बनाइएको हो । एकीकृत परिपत्र ०७८ मा संशोधन गर्दै नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको हो । नेपाल राष्ट्र बैंकले सुन आयात गर्न वाणिज्य बैंकहरूलाई मात्रै अनुमति दिएको छ । हाल मुलुकमा २६ वटा वाणिज्य बैक छन् । वाणिज्य बैंकले आयात गरेको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफारिसमा बिक्री गरिन्छ ।

प्रकाशित : भाद्र १३, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?