१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

घटिरह्यो अलैंचीको मूल्य

प्रतिमन १ लाख २० हजार रूपैयाँसम्ममा बिक्री भएको अलैंची २५ हजार रूपैयाँमा पाइन थालेको छ
किसानले खोज्न थाले विकल्प, घरेलु बजारमा खपत बढाउन ‘वाह अलैंची अभियान’ सुरू
सीमा तामाङ

काठमाडौँ — कुनै बेला प्रतिमन (४० किलो) १ लाख २० हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य अहिले २५/३० हजार रुपैयाँमा सीमित छ । झन्डै ९ वर्षदेखि अलैंचीको मूल्य घटिरहेको किसान बताउँछन् । मूल्य निरन्तर घट्दै जाँदा अलैंची किसानले वैकल्पिक व्यवसायसमेत रोज्न थालिसकेका छन् ।

घटिरह्यो अलैंचीको मूल्य

इलामस्थित रोङ गाउँपालिका सलकपुरका किसान याम अधिकारीले अलैंचीको मूल्य घट्दै जाँदा किसान कफी खेतीतर्फ आकर्षित भएको बताए । ‘अलैंची खेतीमा मिहिनेत धेरै लाग्छ, सिँचाइ चाहिन्छ, तर बजार मूल्य छैन,’ उनले भने, ‘त्यसैले बिस्तारै कफी खेतीतिर लाग्नेहरू बढेका छन् ।’

कफीलाई वर्षमा एक पटक झार गोडेर मल दिए पुग्ने र अलैंचीमा पानी, मलजलसँगै निकालिसकेपछि दाना छुट्याउने, सुकाउने, ग्रेडिङ गर्नुपर्नेलगायत झन्झट रहेको उनको भनाइ छ । अधिकारीले ०६२/६३ सालदेखि अलैंची उत्पादन गर्न थालेका हुन् । झन्डै १० रोपनीमा रोपेको अलैंची सिँचाइ अभावका कारण बर्सेनि घट्दै गएको अधिकारीले सुनाए । ‘पहिला त्यही ठाउँबाट ६ देखि ७ मन अलैंची उत्पादन हुन्थ्यो, यसपालि एक मन पनि मुस्किल छ,’ उनले भने, ‘सिँचाइको पर्याप्त सुविधा छैन, त्यसैले अलैंचीका बोट मासिँदै गएका छन् ।’

हिजोआज सलकपुरका किसान अलैंची टिप्न व्यस्त छन् । समग्रमा सलकपुरमा अलैंची उत्पादन बढे पनि बजार मूल्य घट्दा किसान चिन्तित रहेको समेत अधिकारीले बताए । सिँचाइ सुविधा भएको खण्डमा प्रशस्त उत्पादन गर्न सके प्रतिमन ३० हजार रुपैयाँमा बेच्दासमेत घाटा नहुने उनको भनाइ छ । अधिकारी आफैंले पनि अहिले अलैंचीको विकल्पमा विभिन्न जातका केरा र कफी खेती गर्न थालेका छन् । नेपालबाट प्रत्यक्ष रूपमा बगंलादेश, साउदी, कतारलगायत देशहरूमा अलैंची निर्यात गर्न नसक्दा बजार मूल्य घटेको किसानको साझा बुझाइ छ । भारत हुँदै विभिन्न देशमा अलैंची निर्यात हुने हुँदा अलैंचीको मूल्य भारत बजारमा निर्भर हुनुपरेको समेत उनीहरू बताउँछन् ।

ताप्लेजुङका बाल्मणी बराल ०३९ सालदेखि अलैंची खेती गर्दै आएका छन् । उनी नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्यसमेत हुन् । ०३९/४० सालतिर प्रतिमन १४ सय रुपैयाँ रहेकामा बिस्तारै मूल्य बढेर ०७१ सालतिर प्रतिमन १ लाख २० हजार रुपैयाँ पुगेको उनको अनुभव छ । त्यसको केही वर्ष राम्रै मूल्य पाए पनि त्यसपछि निरन्तर घट्दै गएको उनले सुनाए । बरालले सय रोपनी जग्गामा अलैंची उत्पादन गरिरहेका छन् । उनी किसानसँगै व्यवसायी पनि हुन् । ताप्लेजुङका ६० वटा वडामा अलैंची उत्पादन हुन्छ, जसबाट बर्सेनि ५ देखि ६ अर्ब रुपैयाँ जिल्लामा भित्रने गरेको समेत उनले बताए । प्रतिमन १ लाख रुपैयाँ हुँदा झन्डै १२ अर्ब रुपैयाँसम्म जिल्ला भित्रिएको उनको बुझाइ छ ।

गत वर्ष प्रतिमन ५० हजार रुपैयाँ रहेको अलैंचीको मूल्य यस वर्ष ३० हजार छ । ‘कालो सुन’का रूपमा परिचित अलैंचीलाई राज्यले संरक्षण गर्न नसक्दा बर्सेनि किसान मर्कामा परिरहेको बरालको भनाइ छ । ‘नेपालबाट बंगलादेश निर्यात गर्दा ३८ प्रतिशत भन्सार दर तिर्नुपर्छ, यद्यपि भारतबाट भुटान हुँदै बगंलादेश पुग्दा त्यति महँगो पर्दैन,’ उनले भने, ‘सरकारले बंगलादेशलगायत अन्य मुलुकसँग कुरा गरेर सिधै जाने व्यवस्था गर्न सक्नुपर्थ्यो ।’ नेपालको आफ्नै लेबलिङ नहुँदा भारतीय बजारले कम गुणस्तरको अलैंची नेपालको नाम र उच्च गुणस्तरको अलैंची आफ्नो नाममा निर्यात गर्ने गरेको उनको दाबी छ । अलैंचीको जात र लेकबेंसीअनुसार साउनदेखि पुसको पहिलो सातासम्म अलैंची निकालेर छोडाउने र सुकाउने काममा किसान व्यस्त रहन्छन् ।

कृषि मन्त्रालयको कृषि तथ्यांक (०७७/७८) अनुसार देशभर १५ हजार ६६८ हेक्टर जग्गामा अलैंची खेती हुन्छ, जसबाट ८ हजार २८९ टन अलैंची उत्पादन हुन्छ । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । तर नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढेको छैन । देशका ४३ जिल्लामा अलैंची उत्पादन हुन थालेको महासंघले जनाएको छ । अन्य मुलुकमा निर्यात हुने गरे पनि अलैंचीका नेपाली बजार सुकमेलले प्रतिस्थापन गरिरहेको भन्दै नेपाल अलैंची व्यवसायी महासंघले घरेलु बजारमा खपत बढाउन ‘वाह १ अलैंची’ अभियानसमेत सुरु गरिसकेको छ । महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘वाह १ अलैंची’ अभियान सुरु गरेको जनाएको छ ।

‘सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेस्डर बनाएका छौं, उहाँले चाहिँ अन्तर्राष्ट्रियस्तरमा अलैंचीलाई प्रवर्द्धन गर्ने हो,’ महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले भने ‘अहिलेसम्म नेपाली अलैंचीको ब्रान्ड बनेको छैन, आफ्नै ट्रेडमार्क छैन ।’

नेपालमा उत्पादित ४ प्रतिशत अलैंची मात्रै स्वदेशमै खपत हुने र बाँकी उत्पादन भारत हुँदै अन्तर्राष्ट्रियस्तरमा जाने ढुंगानाले सुनाए । अभियानमार्फत अलैंचीको आन्तरिक बजारबारे पनि अध्ययन भइरहेको उनले सुनाए । भारत र भुटानमा अलैंचीको उत्पादन बढ्दै जाँदा, अन्य मुलुकसँग प्रत्यक्ष रूपमा व्यापार गर्न नसक्दा अलैंचीको मूल्य बर्सेनि घटिरहेको उनको भनाइ छ । अन्य मुलुकमा थोपा सिँचाइलगायत किसानलाई सहुलियत दिएर उत्पादन बढाउँदै गइरहेको समेत उनले सुनाए । पूर्वमा विविध रोगले उत्पादन घट्दै गए पनि पश्चिममा अलैंची खेती विस्तार भइरहेकाले उत्पादनमा असर नदेखिए पनि घट्दै गएको ढुंगानाको भनाइ छ । राज्यले ट्रेडमार्क दिई प्रत्यक्ष व्यापार गर्न सकेको खण्डमा मूल्यमा १० देखि २० हजार रुपैयाँ फरक पर्ने उनी सुनाउँछन् ।

आर्थिक वर्ष ०७७/७८ मा ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांक छ । ८८ लाख ४२ हजार ७६२ किलो निर्यात भएको विभागको भनाइ छ । ६ अर्ब ८२ करोड ४२ लाख ६६ हजार रुपैयाँ बराबरको ८५ लाख ९६ हजार ७६२ किलो भारतमा निर्यात भएको विभागको तथ्यांक छ । पाकिस्तानमा ८ करोड ६५ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ४६ हजार किलो निर्यात भएको थियो । नेपाली अलैंचीको बजार भारत र पाकिस्तान हुन् ।

गत आर्थिक वर्ष पनि भारतमा सबैभन्दा धेरै निर्यात भएको छ । गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको थियो । भारतमा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो र पाकिस्तानमा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको ७० हजार किलो अलैंची निर्यात भएको छ । चालु आर्थिक वर्षको साउनमा २२ करोड ८५ लाख ८६ हजार रुपैयाँ बराबरको २ लाख ७७ हजार ८७० किलो अलैंची भारत निर्यात भएको विभागले जनाएको छ

प्रकाशित : भाद्र १२, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?