शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी लैजान श्रम सम्झौता

नेपालबाट जानेले जुनसुकै पदका लागि पुगे पनि बेलायती लाइसेन्स नलिएसम्म भने सहायक नर्सका रुपमा काम गर्नुपर्ने
होम कार्की

काठमाडौँ — बेलायतले आफ्नो नागरिकसरह नै सेवा सुविधा दिने गरी नेपाली स्वास्थ्यकर्मी लैजाने सहमति गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालका लागि राजदूत निकोला पोलिटबीच यसबारे सोमबार समझदारीमा हस्ताक्षर भएको हो ।

शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी लैजान श्रम सम्झौता

समझदारीअनुसार लैजानेहरूलाई भर्नाको प्रक्रिया भने सरकारी संयन्त्रमार्फत गरिनेछ, तेस्रो पक्षको संलग्नता रहने छैन । श्रम मन्त्रालयका सहायक प्रवक्ता थानेश्वर भुसालका अनुसार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ बनेपछि पहिलो चरणमा नर्सहरू पठाउन सुरु गरिनेछ । पहिलो चरणमा लैजाने नर्सको संख्या भने सार्वजनिक गरिएको छैन । दुवै देशको सहमतिअनुसार संख्या निर्धारण हुने जनाइएको छ । ‘नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइनेछ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने समझदारी छ ।’

स्वास्थ्यकर्मीको छनोट र पदस्थापना गर्न वैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी निकायको प्रक्रियाबमोजिम हुने मन्त्रालयले जनाएको छ । यो प्रक्रिया अगाडि बढाउन छिट्टै छनोट कार्यविधि बनाइने भुसालले बताए । बेलायत जानका लागि स्वास्थ्यकर्मीले सेवा शुल्क बुझाउन पर्दैन ।

मन्त्रालयका अनुसार ५ थरीका स्वास्थ्यकर्मी (एएनएम, बीएन, स्टाफ नर्स, बीएससी र एमएन) लाई बेलायतले लैजानेछ । छनोटमा परेका नर्सले ५ वर्ष काम गरेपछि स्वदेश फिर्नुपर्नेछ । जुनसुकै पदमा गए पनि बेलायतको लाइसेन्स नलिएसम्म भने सहायक नर्सका रूपमा काम गर्नुपर्नेछ । लाइसेन्स लिनका लागि तीन पटकसम्म परीक्षा दिन पाउने र त्यो निःशुल्क हुने व्यवस्था मिलाइएको भुसालले बताए ।

बेलायत रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीको योग्यता तोकिएको छ । योग्यता पुगेका महिला तथा पुरुष सबैले आवेदन गर्न सक्नेछन् । स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्षबीचको तोकिएको छ । स्टाफ नर्सका रूपमा काम गर्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ । नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । अंग्रेजी भाषा परीक्षामा कम्तीमा ६.५ नम्बर ल्याउनुपर्नेछ । स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासँग सम्बन्धित सम्पूर्ण जानकारी श्रम मन्त्रालयको वेबसाइटमा राखिनेछ ।

प्रकाशित : भाद्र ७, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?