आईपीओ भर्दा बढीमा ५ रुपैयाँ मात्रै शुल्क लाग्ने व्यवस्था गरिँदै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

आईपीओ भर्दा बढीमा ५ रुपैयाँ मात्रै शुल्क लाग्ने व्यवस्था गरिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — अब प्राथमिक सेयर (आईपीओ) भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने व्यवस्था हुने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीआस्बा शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउनेगरी व्यवस्था गर्नेबारे छलफल भएको जानकारी दिए ।

नेपाल स्टक एक्स्चेन्जले राजधानीमा आयोजना गरेको डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा हमालले यसबारे जानकारी दिएका हुन् । हाल बैंक तथा वित्तीय संस्थाहरुले आईपीओ भरेबापत ग्राहकसँग धेरैजसोले १५, २० र २५ रुपैयाँ शुल्क लिने गरेका छन् ।केहीले नि:शुल्क गरेका छन् । थोरै संख्याको आईपीओ जारी हुने गरेकाले आईपीओ नै नपर्ने तर शुल्क महँगो भएको गुनासो लगानीकर्ताले गर्दै आएका थिए । हाल २० लाखभन्दा धेरैले आईपीओ भर्ने गरेका छन् ।

पुँजी बजारको विकासका लागि आफू निरन्तर लागिरहेको बताउँदै हमालले डेरिभेटिभ्स बजारको विकासका लागि निकै चनाखोपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए । १० वटा प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटललाई संभवत: भदौभित्रै स्वीकृति दिइने उनले बताए ।


प्रकाशित : भाद्र ६, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्

१४ वर्षसम्म बनेन अछाम दरबार

लामो समयसम्म निर्माण नगरेको भन्दै प्रशासनद्वारा ठेक्का रद्द गर्न पुरातात्विक विभागलाई सिफारिस तर प्रक्रिया अघि बढेन
मेनुका ढुंगाना

अछाम — सरकारी ठेक्कामा निर्माण सुरु भएको योजना वर्षौंसम्म अलपत्र पर्नेमा अछाम सदरमुकाम मंगलसेनमा निर्माणाधीन अछाम दरबार पनि एक हो । अछामको निर्वाचन क्षेत्र नम्बर २ मंगलसेनमा पर्ने यो दरबारलाई स्थानीय निर्वाचन होस् या प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन, सबै उम्मेदवारले चुनावी एजेण्डा बनाउने गरेका छन् । तर निर्माण कम्पनीलाई राजनीतिक दलबाटै संरक्षण गर्ने र निर्माणमा चासो नदिनाले पुनर्निर्माण सुरु भएको १४ वर्ष र ध्वस्त भएको २१ वर्ष हुन लाग्दासमेत दरबार अझै ठडिइसकेको छैन ।

तत्कालीन विद्रोही माओवादीले सदरमुकाम मंगलसेन आक्रमणका क्रममा २०५८ फागुन ४ को राति अछाम दरबार पनि ध्वस्त भएको थियो । ध्वस्त दरबारको पुनर्निर्माण २०६५ सालमै सुरु भएको हो । तर, कहिले निर्माण व्यवसायीको ढिलाइ त कहिले निर्माणमा अवरोधका कारण योजना अझै पूरा भएको छैन । ‘अछाम दरबारसँग हाम्रा पुर्खाको इतिहास जोडिएको छ,’ मंगलसेन नगरपालिका–४ का नैनसिंह विकले भने, ‘दरबार बनाउँछौं भनेर पटक–पटक अलमल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै यसका विरुद्ध उत्रिनेछौं ।’ दरबारको विषयमा जिल्लाका सबै सरोकारवाला एक ठाउँमा रहेकाले निर्माणमा भएको ढिलाइबारे कोही पनि बोल्न नचाहने उनको आरोप छ ।

पटक–पटक सरकारमा गए पनि माओवादीले समेत दरबार पुनर्निर्माणमा चासो नदेखाएकोमा मंगलसेनका कपुरे नगार्जीले आक्रोश पोखे । ‘माओवादी शान्ति सम्झौतापछि पटक–पटक सरकारमा पुग्यो । अहिले पनि सरकारमै छ । तर बजारकै स्वरूप बिगारेको अवस्थामा रहेको दरबार पुनर्निर्माणमा चासो दिएको छैन,’ उनले भने, ‘योभन्दा नराम्रो के नै हुन्छ र ?’

दरबारको पुनर्निर्माण २०६७ सालमै सक्नेगरी २ करोड २५ लाखमा ठेक्का सम्झौता भएको हो । राजेन्द्र–साउद–तुल्छिदुर्गा–बडिमालीका–कुँवर जेभीले निर्माणको ठेक्का लिएको थियो । सुरुमा मीनबहादुर कुवँरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरु निर्माण कम्पनीले केही रकम लगेर बाहिरिए । हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएको छ । पुरानै संरचनाअनुसार दरबार निर्माण गर्नुपर्ने भएकाले आवश्यक सालको काठ सजिलै उपलव्ध नहुने भएकाले दरबार निर्माणको काममा ढिला भइरहेको निर्माणको साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउद बताउँछन् ।

जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माणमा तोकिएको समयसीमा नाघेको अवस्थामा जिल्ला पुनर्निर्माण समितिले ठेकेदारलाई हर्जाना तिराए पनि राष्ट्रिय महत्त्वको क्षेत्र भएर पनि दरबारको काम समयमै नगर्ने ठेकेदार माथि भने हालसम्म कुनै कारबाही भएको छैन । लामो समयसम्म निर्माण नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले निर्माण कम्पनीसँगको ठेक्का रद्द गर्न पुरातात्त्विक विभागलाई सिफारिस भने गरेको छ । यसमा विभागले कुनै प्रक्रिया अघि बढाएको छैन ।

दरबारमा पहिले प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि आक्रमणका बेला भने प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसमेत मारिएका थिए । अछाम आक्रमणमा सेनाका क्याप्टेनसहित ५३ सैनिक, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो ।

अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा सम्पन्न भएको यसका जानकार मंगलसेन–५ का चन्द्रमणि भाटले बताए । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा उक्त दरबार किनेको बताउँछन्, अछामी इतिहासका जानकार सुरतबहादुर शाह । योगेन्द्रबहादुरका भाई तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको उनले बताए । त्यस बेला तीनतले दरबारमा ३० कोठा थिए ।

प्रकाशित : भाद्र ६, २०७९ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×