कहिले तंग्रिएलान् छोटी भन्सार ?- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कहिले तंग्रिएलान् छोटी भन्सार ?

जीर्ण भवनको पुनर्निर्माण नहुनु र सहयोगीका भरमा कार्यालय सञ्चालन हुँदा आयात–निर्यात प्रभावित मात्र भएको छैन, प्रतिदिन लाखौं रूपैयाँ राजस्व घाटा भएको छ
प्रदेश ब्युरो

लुम्बिनी — बाँकेको नरैनापुर–४ स्थित छोटी भन्सार ०३५ सालसम्म जिल्लाको चल्तीको नाका थियो । यही नाका भएर सामान आयात निर्यात हुन्थ्यो । अहिले छोटी भन्सार परिसर चरन क्षेत्र बनेको छ । गोठजस्तै देखिन्छ । भन्सारको जीर्ण भवनमा स्थानीयले वस्तुभाउ बाँध्ने गरेका छन् । नरैनापुर–५, मटैयाका रामनिवास यादवले आफू बुझ्ने भएदेखि भन्सारका भवनमा वस्तुभाउ बाँधेको देखेको बताए । ‘पहिला साइकल अनि रेडियोको भन्सार गरिन्थ्यो,’ उनले भने, ‘अहिले मनपरी छ । मन लागेका बेला चाहिएको सामान ल्याए हुन्छ ।’

कपिलवस्तुको मायादेवी–४ स्थित चाकलचौडा छोटी भन्सारले कर्मचारीका लागि पुग्ने राजस्वसमेत उठाउन सकेको छैन । उक्त भन्सारमा मासिक १५ देखि २० हजार रुपैयाँ राजस्व संकलन हुन्छ । कर्मचारीको तलबमा भने मासिक १ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । एक नासु, दुई कास र एक जना भान्से गरी चार जना कर्मचारी छन् । ‘यहाँ संकलित राजस्वले तलबभत्ता दिन पनि पुग्दैन,’ सुठौली भन्सार प्रमुख अभिषेक कण्ठले भने, ‘त्यही भएर जिल्लामा रहेका चार छोटी भन्सार राख्ने नराख्ने भन्ने विषयमा विभागले पुनरवलोकन गरिरहेको छ ।’

जिल्लाभित्र कागजमा चारवटा छोटी भन्सार रहे पनि एउटा मात्र सञ्चालनमा छ । चाकलचौडाको पारि भारततिर अलिगढवामा कस्टम अफिस नहुँदा यहाँको छोटी भन्सार राम्ररी सञ्चालन हुन नसकेको उनले बताए । । यहाँबाट व्यापारिकभन्दा दैनिक उपभोग्यका खाद्यान्न र लत्ताकपडा मात्र भारतबाट आउँछन् । नाकाभन्दा भन्सार टाढा रहेको छ । भन्सार नपुग्दै तीनतिर बाटो छन् । ती बाटोबाट मान्छे जाने हुँदा भन्सार संकलनमा समस्या भइरहेको चाकलचौडा भन्सारका प्रमुख कृष्ण विश्वकर्माले बताए ।

दाङको कोइलाबास नेपाल–भारतको प्रमुख भन्सार नाका मानिन्छ । त्यसअन्तर्गत राजपुरको खांग्रा नाका नजिकै चङ्गहवा छोटी भन्सार छ तर न त प्रमुख भन्सारमा चहलपहल छ, न छोटी भन्सारमा नै । कोइलाबासमा फाट्टफुट्ट कारोबार भए पनि छोटी भन्सार सशस्त्र द्वन्द्वदेखि अहिलेसम्म बन्द नै छ । छोटी भन्सार अहिले पूर्ण रूपमा बन्द रहेको र कुनै कारोबार हुन नसकेको कोइलाबास भन्सार कार्यालय प्रमुख वसन्त रजौरेको भनाइ छ । ‘कोइलाबाससमेत सुनसान छ, छोटी भन्सार झन् कसरी चल्नु ? भारतको भन्सार नियमित नहुँदा हाम्रो भन्सार चल्न सकेको छैन,’ उनले भने, ‘भारतले दाङका नाकाबाट कारोबार गर्न इच्छा देखाएको छैन । जसले गर्दा नेपालको भन्सार सुकेको छ ।’

कोइलाबासमा पनि व्यावसायिक कारोबार शून्य रहेको उनले बताए । स्वर्गद्वारी जाने र घुम्न आउने यात्रुका कार र मोटरसाइकलबाट मात्रै केही राजस्व उठाउने गरेको भन्सार प्रमुख रजौरेको भनाइ छ । कारोबार नभएकै कारण सरकारले टार्गेट नै कम दिने गरेको उनले जनाए । सरकारले वार्षिक १४ लाख ७८ हजार लक्ष्य दिएकामा यस वर्ष ३० लाख उठ्ने सम्भावना रहेको उनले बताए । ‘हामीले व्यक्तिगत रूपमा ल्याएका सामानमा पनि राजस्व उठाउँदा टार्गेटभन्दा बढी रकम उठेको छ,’ उनले भने, ‘स्वर्गद्वारी जाने यात्रुको संख्या बढ्दा पनि केही राजस्व बढाउन सफल भएका छौं ।’ नेपाल–भारत सीमा क्षेत्रको पुरानो नाका कोइलाबास राम्रो सडक अभावमा सुक्दै गएको थियो । ०४० सालतिर पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएपछि कोइलाबासबाट भारत आवतजावतमा कमी आयो । पहिले वीरगन्जपछिको धेरै राजस्व उठ्ने नाकामा कोइलाबास पर्थ्यो । सडकको सुविधा नभएका कारण भारतको बाटो हुँदै कोइलाबास पुग्नुपर्ने बाध्यता भयो । यातायातको असुविधा र मानिसहरूको आवतजावत घटेपछि कोइलाबास सुक्दै गएको हो ।

यी भन्सारले सशस्त्र द्वन्द्वका बेला विस्थापित भएका छोटी भन्सारको अवस्था दर्साउँछन् । द्वन्द्वका क्रममा विस्थापित बाँकेका सात वटा छोटी भन्सार पुनःस्थापना हुन सकेका छैनन् । नेपालगन्ज भन्सारअन्तर्गत सुइया बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भंघोटना, साइगाउँ र उढरापुर गरी सातवटा छोटी भन्सार छन् । ‘छोटी भन्सार नभएकाले नेपालबाट सुन, डिजेल, पेट्रोल, जडीबुटीलगायत थुप्रै सामान पैठारी भइरहेका छन्,’ व्यवसायी कृष्णप्रसाद श्रेष्ठले भने, ‘दिनहुँ साइकल, मोटरसाइकल र अटो रिक्सामा सीमावर्ती भारतीय बजारबाट सामान लिएर आउनेको लस्कर देखिन्छ ।’ विस्थापितमध्ये सुइया बघौडा, भगवानपुर, भंघोटना र उढरापुरको भवन छैन । अरु स्थानका भवन काम नलाग्ने अवस्थामा छन् । ती भवनस्थलमा तरकारी खेती गरिएको छ । केहीमा गोठ बनाइएको छ । जीर्ण भवन मर्मत गरेर सञ्चालनमा ल्याउन केन्द्रमा पत्रचार गरिएको बाँकेका भन्सार प्रमुख अर्जुनकुमार न्यौपानेले बताए । पालिकाका केन्द्रमा व्यवसाय बढ्दै गएपछि व्यवसायीले छोटी भन्सार पुनःस्थापनाका लागि दबाब दिएकाले सञ्चालनका लागि केन्द्रमा पत्र पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाए ।

पश्चिम नवलपरासीका तीनवटा छोटी भन्सार एक वर्षदेखि बन्द छन् । जसले गर्दा सामान आयात र निर्यातमा समस्या भएको छ भने चोरी निकासी बढेको छ । जिल्लाको महेशपुर मूल भन्सारअन्तर्गत विष्णुपुरा, भुजहवा र गुठी प्रसौनी छोटी भन्सार सञ्चालनमा थिए । कर्मचारी अभाव र भौतिक संरचना नहुँदा अहिले यी नाम मात्रको भन्सार बनेका छन् । सरकारले सामान आयात र निर्यातमा एक्जिम कोड (निकासी पैठारीकर्ता संकेत) अनिवार्य गरेपछि छोटी भन्सार कार्यालय प्रयोगविहीन भएका हुन् । जीर्ण रहेका छोटी भन्सार कार्यालयको पुनर्निर्माण नहुनु र सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदा आयात निर्यात नै प्रभावित बनेको छ । कम्प्युटर प्रविधिमार्फत काम नहुँदा दैनिक लाखौ रुपैयाँ राजस्व घाटा भइरहेको छ भने सर्वसाधारणले पनि सास्ती पाएका छन् । द्वन्द्वकालमा बन्द भएका बर्दियाका ६ वटा छोटी भन्सार कार्यालय अझैसम्म पुनःस्थापना हुन सकेका छैनन् । जिल्लाको पूर्वी पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज नाकामा रहेका छोटी भन्सार कार्यालय ०५९ सालमा अन्यत्र स्थानान्तरण भएपछि सञ्चालनमा छैनन् ।

सदरमुकाम गुलरिया र तारातालमा भने छोटी भन्सार सञ्चालनमा छन् । गुलरियास्थित छोटी भन्सार कार्यालयमा सशस्त्र प्रहरी बलको टुकडी तैनाथ छ । पक्की संरचना भए पनि यस मूल नाकाबाट आयात निर्यात भने हुँदैन । मूल भन्सार कार्यालय राजापुरमा भने विगत पाँच वर्षयता सामान आयात निर्यात हुन छाडेको छ ।

रूपा गहतराज (नेपालगन्ज), नवीन पौडेल (परासी), मनोज पौडेल (कपिलवस्तु), दुर्गालाल केसी (दाङ) र कमल पन्थी (बर्दिया)

प्रकाशित : भाद्र ५, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्

गाउँसम्म फैलिँदै दुर्व्यसनीको जालो

दुर्व्यसनीको संख्या बढ्दै जाँदा जिल्ला–जिल्लामा पुनःस्थापना केन्द्रहरु खुल्ने क्रम पनि बढिरहेको छ, झापा, मोरङ र सुनसरीका पुनःस्थापना केन्द्रमा करिब २५ प्रतिशत पहाडी जिल्लाका दुर्व्यसनी छन् । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर सीमावर्ती भारतीय बजारबाट लागूऔषध ओसारपसारको ट्रान्जिट बनेका छन् 
प्रदेश ब्युरो

काठमाडौँ — एक्लो छोरालाई मावलीमा बसेर पढ्ने व्यवस्था मिलाएपछि संखुवासभाकी मनमाया (नाम परिवर्तन) इजरायल पुगेकी थिइन् । श्रीमान् रोजगारीको खोजीमा भारतको दिल्लीमा थिए । पाँच वर्षअघि छँदाखाँदाको जागिर छाडेर मनमाया संखुवासभा फर्किन् । अनि थातथलो छाडेर धरानमा डेरा गरी बस्न थालिन् ।

८ कक्षा पढ्दै गरेको छोरा ‘गर्लफ्रेन्ड’ ले धोका दिएको निहुँमा दुर्व्यसनमा फसेको थाहा पाएपछि सुधार्नका लागि उनी धरान झरेकी थिइन् । उनले छोरालाई नाम चलेको बोर्डिङमा भर्ना गरिन् । पूर्ण निगरानीमा राखे पनि छोरा दुर्व्यसनको दलदलबाट उम्किएनन् । प्रतिबन्धित खैरो हेरोइनको लतमा फसेको छोराले लागूऔषध किन्नकै लागि आमाको पैसादेखि कोठाका सामान पनि चोरेर बेच्न थालेपछि भने उनको चिन्ता झनै चुलियो । पक्राउ गरेर थुन्यो भने छोरा सुध्रेला कि भनेर उनले प्रहरी पनि गुहारिन् तर भनेजस्तो भएन । त्यसपछि भने पुनःस्थापना गृहमा राखिन् ।

सहरबजारमा मात्र होइन, पछिल्ला वर्ष ग्रामीण भेगमा पनि लागूऔषध दुर्व्यसनीको संख्या बढिरहेको छ । हुनेखानेका परिवारका सदस्य मात्रै होइन, मध्यमदेखि निम्नवर्गीय परिवारका सदस्यसम्म लागूऔषधको दलदलमा फसिरहेका छन् ।

झापा, धुलाबारीका २० वर्षीय मोहम्मद आलम (परिवर्तित नाम) कबाडी कारखानामा मजदुरी गर्छन् । पाँच जनाको परिवार पाल्ने दायित्व भएका उनी संगतले लागूपदार्थको दुर्व्यसनमा फसे । ‘पहिला टेन्सनबाट मुक्त भइन्छ भनेर रहरले ड्रग्स खान थालियो, अहिले लत छाड्न गाह्रो भएको छ,’ उनले भने ।

आलमका साथी समीर पनि लागूपदार्थको लतमा छन् । समीर कोरोनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । प्रवासको कमाइले उनलाई निष्फिक्री हुन पुगेको थियो । त्यहीबेला उनलाई साथीभाइले सीमावर्ती भारतीय बजारबाट लागूपदार्थ ब्राउन सुगर किनेर चखाइदिए । त्यसपछि उनको दुर्व्यसन यात्रा सुरु भयो । उनले सुनाए, ‘तीन वर्षमा कमाएको पैसा सक्न मलाई एक वर्ष पनि लागेन ।’ पछि उनी लागूपदार्थ किन्ने पैसाकै लागि आलम काम गर्ने कवाडी कारखानामा मजदुरी थाले ।

प्रदेश १ का अधिकांश जिल्लामा लागूपदार्थ दुर्व्यसनको जालो फैलिरहेको छ । दुर्व्यसनमा परेमध्येका धेरै संख्या आलम र समीरजस्ता युवकहरू नै छन् । पाँचथरको फिदिम–१ मा होटल चलाउदै आएकी ३२ वर्षीया देवु लकान्द्रीलाई गत माघ ६ को साँझ प्रहरीले सात ग्राम खैरो हेरोइन, डिजिटल तराजु र प्याक गर्ने प्लास्टिकसहित पक्राउ गर्‍यो । बयानमा उनले भाइ मिलन विकसँगको मिलेमतोमा आफूले दुई महिनादेखि खैरो हेरोइन कारोबार गरिरहेको बताइन् । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनका लागूपदार्थ सेवनकर्ता २२ वर्षीय भाइले सेवनकर्ताहरूलाई बेचेमा मनग्गे कमाइ गर्न सकिने बताएपछि आफू यस्तो धन्दामा लागेको उनले बताएकी थिइन ।

भाइले झापाबाट तरकारीको बोरा र सागको मुठाभित्र प्याक गरेर पठाएको खैरो हेरोइन आफूले होटलबाटै नियमित ५ देखि ७ जनालाई बेच्ने गरेको उनले प्रहरीसँगको बयानमा बताएकी थिइन् । अदालतको आदेशपछि उनलाई पाँचथर कारागार चलान गरिएको छ भने भाइ फरार छन् । यो घटना पहाडी जिल्लामा लागूपदार्थको कारोबार कसरी र कुन स्वरूपमा भइरहेको छ भन्ने बुझाउने दृष्टान्त हो । गत फागुनमा इलामको महमाई र दानाबारीका दुई युवक खैरो हेरोइनसहित पक्राउ परे । उनीहरूले झापाको मेचीनगर बस्ने साथीहरूको सम्पर्कमार्फत ल्याएर सेवन गरेको मात्रै बताएनन्, यसरी नै आफूजस्तै एक दर्जन किशोरकिशोरी एवं युवाले पनि झिकाउने गरेको बताए । प्रहरीले नाम मुछिएका अन्यको पनि खोजी सुरु गर्‍यो ।

लागूपदार्थ कारोबारीको संख्या कति ठूलो छ भनेर बुझ्न प्रहरीको हिरासत कक्ष पुग्दा थाहा लाग्छ । गत मंगलबार मोरङको इलाका प्रहरी कार्यालय रानीमा ५३ थुनुवा थिए । तीमध्ये ४९ जना लागूऔषध तस्करी आरोपमा पक्राउ परेकाहरु थिए । प्रहरी निरीक्षक महेन्द्र दर्नाल लागूपदार्थ ओसारपसार गर्नेहरु पक्राउ नपरेको दिन नै नहुने बताउँछन् । उनले भने ‘बोकेर आउनेलाई मात्र पक्राउ गर्दा त हिरासतमा राख्ने ठाउँ हुँदैन, खाएर आउनेलाई पनि पक्राउ गर्ने हो भने कहाँ राख्ने ?’

जोगवनीबाट लागूपदार्थको कारोबार र सेवनमा पक्राउ पर्नेमा विराटनगर, इटहरी, धरानलगायत सहर र पहाडी जिल्लाका युवायुवती छन् । प्रदेश १ प्रहरीको लागूऔषध नियन्त्रण इकाइका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रदेश १ मा मात्रै लागूपदार्थ सेवन र ओसारपसारसम्बन्धी ६ सय ९१ मुद्दा दर्ता भए । जसमा संलग्न ४९ महिलासहित ९ सय ९२ जना पक्राउ परे । आव २०७७/७८ मा प्रदेशभर यस्तो मुद्दा ६ सय ८० दर्ता थिए भने १ हजार ४५ जना पक्राउ परेका थिए ।

जिल्लागत रूपमा हेर्ने हो भने प्रदेश १ का हरेक जल्लामा औसतमा लागूपदार्थसम्बन्धी डेढ सयको हाराहारीमा मुद्दा दर्ता भएको देखिन्छ । जस्तो कि गत वर्ष मोरङमा २ सय ६५ मुद्दा दर्ता हुँदा ३ सय ५२ जना पक्राउ परे । सुनसरीमा १ सय ५९ मुद्दामा २ सय ३१ र झापामा १ सय ८३ मुद्दामा २ सय ६९ पक्राउ परे । धेरैजसो जेल लागू पदार्थसम्बन्धी मुद्दाका कैदीबन्दीले भरिएको छ । मोरङ कारागारमा १ हजार १३ कैदीबन्दीमध्ये लागूपदार्थका मात्रै १ सय ९९ जना छन् । गत वर्ष मात्र गाँजा २ हजार २१ किलो, चरेस २३ ग्राम ९ सय ग्राम, ब्राउन सुगर २ किलो ४५ मिलिग्राम, विभिन्न मनोद्विपक क्याप्सुल ३१ हजार ९ सय ७०, मनोद्विपक एम्पुल १० हजार २ सय ६५ र मनोद्विपक औषधि ७ सय ६९ ट्याब्लेट बरामद भएको छ ।

लागूपदार्थ सेवनकर्ताको संख्या बढ्दा लत छुटाउने सुधारगृह खुल्ने क्रम पनि बढेको छ । विराटनगरमा ५ वटा सुधारगृह छन् । सुनसरीको धरानमा महिलाका लागि दुईसहित १०, इटहरीमा ७ र इनरुवामा एउटा पुनःस्थापना केन्द्र छन् ।

झापा, मोरङ र सुनसरीका ४९ पुनःस्थापना केन्द्रमा करिब २५ प्रतिशत पहाडी जिल्लाका दुर्व्यसनी छन् । तीमध्ये धेरैजसो गाँजा र खैरो हेरोइनका दुर्व्यसनीहरू रहेको इटहरीस्थित आस्था फाउन्डेसनका सञ्चालक चन्द्र बरालले बताए । उनले भने, ‘तराईका युवायुवती हेरोइनको लतमा सबैभन्दा बढी फसेको देखिन्छ तर कुलतमा फसेकामध्ये निकै थोरै मात्रै पुनःस्थापना केन्द्रसम्म आइपुग्छन् ।’ विराटनगरको रिचमन्ड सुधारगृहका सञ्चालक सञ्जीव चापागाईंले पछिल्ला वर्षहरूमा दुर्व्यसनको जालो गाउँगाउँसम्म फैलिएको र यसमा समाजमा सबै तह र तप्काका युवायुवती फसिरहेको बताए । उनका अनुसार लागूऔषधको खुला सीमासँग जोडिएको तराई–मधेसका जिल्लाबाट पहाड उक्लिँदै छ । ‘दुर्व्यसनीको उपचार र सुधार गरिने ठाउँबारेमा गाउँलेलाई कमै जानकारी हुन्छ,’ उनले भने, ‘जिम्मेवार सबैले सचेतना अभियानमा लाग्नु जरुरी छ ।’

प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार नेपालमा प्रतिबन्धित लागूऔषधको ओसारपसार भारतमा कडाइ नगरिँदा असर परिरहेको छ । ‘पारि सहजै किन्न पाएपछि खुला सिमानाको फाइदा उठाएर यता ल्याउँछन् र यता पहाडी भेगबाट गाँजा विभिन्न बाटो हुँदै भारत तस्करी हुने गरेको छ,’ उनले भने, ‘यसको ओसारपसार रोक्ने काम प्रहरी एक्लैले मात्र सक्दैन ।’

भारतसँगको खुला सीमाका कारण पनि झापाका नाका लागू पदार्थ ओसारपसारका लागि सुरक्षित मानिन्छन् । सीमावर्ती भारतीय बजारहरू पानीटंकी, नक्सलबाडी र सिलिगुडीबाट थरीथरीका लागू पदार्थ खरिद गरी नेपाल भित्र्याइन्छ । ‘भारतमा लागू पदार्थको बिक्री वितरण खुलाजस्तै छ,’ झापाका एसपी विश्वमणि पोखरेलले भने, ‘विभिन्न बहानामा भारत जाने अनि सुटुक्क ड्रग्स बोकेर फर्किने गर्छन् ।’ प्रहरी तदारुकताका बाबजुद पनि विभिन्न नाकाबाट तस्करी हुने गरेको उनले जनाए ।

प्रदेश १ का सबैजसो जिल्लाका प्रहरी प्रमुखहरू लागूपदार्थ दुर्व्यसनीहरूको सन्जाल फैलिरहेकोमा चिन्ता व्यक्त गर्छन् । जिल्ला प्रहरी उदयपुरका एसपी सुवासचन्द्र बोहरा न्यूनीकरणका प्रयास भइरहे पनि दुर्व्यसनीको अवस्था जिल्लामा डरलाग्दो गरी बढिरहेको बताउँछन् । प्रहरीका अनुसार जिल्लाको कटारी, बेल्टार, गाईघाट, नेपालटार जस्ता ठाउँका युवाहरूले लागूऔषध प्रयोग गरेको देखिन्छ । तराई–मधेससँग नजिक भएको हुनाले पनि उदयपुर लागू पदार्थको कारोबारीहरूको नजरमा परेको हो ।

चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेटदेखि गाँजा र खैरो हेराइनसम्मका लागू पदार्थको ओसारपसार र प्रयोग जिल्लाभित्र भइरहेको देखिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका मनोचिकित्सक असिस्टेन्ट प्रोफेसर डा. सुरेन लिम्बूका अनुसार कुलतमा फस्नुका पछाडि पारिवारिक पृष्ठभूमि, सामाजिक वातावरण र मानसिक अवस्थामा भर पर्छ ।

लागूऔषधको ट्रान्जिट बन्दै कैलाली र कञ्चनपुर

८ कक्षामा पढ्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ का १८ वर्षीय राम सिंह (नाम परिवर्तन) लागूऔषध दुर्व्यसनीको संगतमा परे । साथीभाइको कर र आफ्नो लहडले चिकित्सकको सिफारिसमा औषधिजन्य प्रयोगमा मात्रै खाइने नाइट्राभेटका ट्याब्लेटबाट सुरु भएको उनको दुर्व्यसनी यात्रा त्यतिमै रोकिएन ।

दैनिक एकाध ट्याब्लेटबाट सुरु भएको उनको यात्रा दैनिक ३०/४० ट्याब्लेटसम्म पुग्यो । उनले पढाइ छाडे । सीमावर्ती भारतको उत्तर प्रदेशस्थित पलिया पुगेर ग्यारेजमा काम गर्न थाले । लागूऔषध सेवनकर्ताले पनि प्रयोग गर्ने नाइट्राभेट सहजै पाइने भएकाले उनी त्यसको सेवन मात्रै गर्थेनन्, छुट्टीमा घर आउँदा नाइट्राभेट बोकेर पनि ल्याउँथे । सेवनकर्ताबाट कारोबारी बन्दै गर्दा पक्राउ परेका उनी १३ दिनयता प्रहरी हिरासतमै छन् ।

लहलहैमा लागूऔषधको दुर्व्यसनमा फस्ने किशोरहरूको संख्या सुदूरपश्चिममा प्रत्येक गाउँमा भेटिन्छन् । दुर्व्यसनमा फसेकाहरू सुरुमा प्रयोगकर्ता भए पनि पछि कारोबारीमा परिणत भएको देखिन्छ । जसले दुर्व्यसनलाई गाउँ–गाउँसम्म पुर्‍याइरहेको छ । भीमदत्त नगरपालिका २ भासीका २८ वर्षीय युवक पनि साथीभाइकै लहलहैमा लागूऔषधको कुलतमा फसे । काठमाडौंमा पढ्ने उनी नेपालगन्ज घर भएका साथीको संगतले ब्राउन सुगर प्रयोगकर्ता भए । साथीले प्रयोग गरेको देख्दा हुने कौतूहलताले कुलतमा फसेको बताउने उनी विस्तारै कारोबारी पनि भए ।

पाँच वर्षयता खैरो हेरोइन प्रयोग गरिरहेका उनी पढाइ छाडेर घर फर्किए । खैरो हेरोइनकै लागि दिनहुँ सीमावर्ती बजार खटीमा पुग्ने उनी फर्किंदा लागूपदार्थ बोकेर ल्याउँथे । ‘त्यहाँ सस्तो र सहजै पाइन्छ,’ उनले भने, ‘नेपालमा पुगेपछि मूल्य दोब्बर हुन्छ ।’ उनका अनुसार एक सट (एक पटक प्रयोग गर्न बनाइएको पोका) को खटिमामा ४ सय पर्छ भने यहाँ ८/९ सयसम्म पर्छ ।

२९ दिनदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बेदकोट नगरपालिका ९ सिसैयाका २९ वर्षीय युवा आफू पनि लहैलहैमा कुलतमा फसेको बताउँछन् । पेसाले गाडी चालक रहेका उनले भने, ‘लतमा फसेपछि उम्किनै सकिएन ।’ फुर्सद मिलेका बेला सीमावर्ती बजार वनबासा पुग्ने उनी प्रयोगकर्ता मात्रै थिएनन्, लागूऔषधको स–साना कारोबारी पनि थिए ।

सीमावर्ती क्षेत्रमा खटिएका प्रहरीहरू लागू पदार्थ खैरो हेरोइनदेखि चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने नाइट्राभेट, फेनार्गनजस्ता मनोद्वीपक औषधिहरू लागूपदार्थ सेवनकर्ताहरूले प्रयोग गरिरहेको बताउँछन् । ‘यहाँ लागूऔषध सीमावर्ती बजारबाटै आयात भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने, ‘वनबासा, खटिमा र टनकपुर क्षेत्रमा सहजै र सस्तो रूपमा पाइन्छ ।’ सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखहरूको बैठकमा प्रत्येक पटक लागूऔषध नियन्त्रणको विषय उठ्छ । नेपाली पक्षले यो विषय उठाउँदा भारतीय पक्षले गम्भीरता नदेखाएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा अहिले लागूऔषध प्रयोग तथा ओसापसार गर्ने ३ महिलासहित १८ जना छन् । कञ्चनपुर कारागारमा रहेका साढे ४ सय कैदीबन्दीमध्ये १ सय ४७ जना लागूऔषधसम्बन्धी मुद्दाका छन् । जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार गत आर्थिक वर्षमा लागूऔषध प्रयोग तथा ओसारपसारमा संलग्न ६ महिला, २ सय १० पुरुष र १३ भारतीय नागरिक गरी २ सय २९ जना पक्राउ गरेको थियो । उनीहरूबाट करिब ३४ किलोग्राम चरेस, ६ सय ग्राम खैरो हेरोइन, नाइट्राभेट, स्पास, डाइजेपाम र फेनार्गनलगायत बरामद भयो । जसमा प्रहरीले १ सय ३६ मुद्दा दर्ता गर्‍यो ।

सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र कैलालीमा लागूऔषध कारोबारीको संख्या बर्सेनि बढ्दै छ । प्रहरीका अनुसार कैलालीमा लागूऔषधका प्रयोगकर्ताको संख्या ३ हजारभन्दा बढी छ ।

कैलाली प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७८/८९ मा लागूऔषध सेवन तथा कारोबारमा संलग्न ३ सय २५ जना पक्राउ परेका छन् भने २ सय १ मुद्दा दर्ता भएका छन् । प्रहरीले आर्थिक वर्ष २०७४/७५ मा १०८ जनालाई पक्राउ गरी ७१ जनालाई मुद्दा चलाएको थियो । आर्थिक वर्ष २०७५/७६ मा त्यो संख्या बढेर १ सय २७ जना पक्राउ परे र ८७ जनालाई प्रहरीले मुद्दा चलाएको थियो । गत आर्थिक वर्षमा अघिल्लो वर्ष पक्राउ परेको संख्याभन्दा करिब दोब्बर पक्राउ परेका छन् । चार महिनाअघि गृह मन्त्रालयको लागूऔषध शाखाले धनगढीमा आयोजना गरेको लागूऔषधसम्बन्धी अन्तर्क्रियामा प्रहरीले कैलालीमा वार्षिक ३६ करोडको लागूऔषध भित्रिने गरेको विवरण प्रस्तुत गरेको थियो ।

लागूपदार्थ सेवन र ओसारपसारभन्दा पनि प्रहरीको चिन्ता यसका कारण हुने गम्भीर अपराधहरूले बढाएको छ । डेढ वर्षअघि धनगढीको उत्तर बेहडीका २७ वर्षीय विजय थापाको हत्या भयो । आफ्नै साथी आशिष सेठीले चिर्पट प्रहार गरेर थापाको हत्या गर्नुको पछाडि लागू पदार्थकै भूमिका थियो । सोही समयमा धनगढी नजिकैको अत्तरिया बजारमा २० वर्षीय अरुण भट्टको हत्या भयो । हत्या अभियोगमा सोही उमेर समूहका सात युवा पक्राउ परे । दोस्रो घटनाको अन्तर्यमा पनि लागू पदार्थको भूमिका रहेको प्रहरीले निष्कर्ष निकाल्यो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेगेन्द्र साउद हत्या, चोरी, झगडालगायत सामाजिक अपराधका पछाडि लागूऔषधको भूमिका रहेको बताउँछन् ।

विनोद भण्डारी (विराटनगर), प्रदीप मेन्याङ्बो (सुनसरी), पर्वत पोर्तेल (झापा), कुम्भराज राई (ओखलढुंगा), लक्ष्मी गौतम (पाँचथर), भवानी भट्ट (कञ्चनपुर) र अर्जुन शाह (धनगढी)

प्रकाशित : श्रावण १०, २०७९ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×