बजारमा न बिचौलिया घटे, न विकृति- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बजारमा न बिचौलिया घटे, न विकृति

खाद्यान्न र कृषिजन्य वस्तुमा व्यापारीहरुले ७ तहसम्म बनाएर लुट मच्चाए, बिचौलियालाई मालामाल, पीडामा किसान र उपभोक्ता
राजु चौधरी

काठमाडौँ — बजारलाई स्वच्छ, चुस्तदुरुस्त र अनुगमनमा हुने बेथिति हटाउन सरकारले उपभोक्ता संरक्षण ऐन ०५४ लाई संशोधन गर्दै उपभोक्ता संरक्षण ऐन ०७५ जारी गर्‍यो । ०७५ असोज २ मा प्रमाणीकरण भएको ऐनको दफा १३ मा ‘बजारको तह निर्धारण गर्ने’ भनिएको छ । ‘उपभोक्ता अधिकार संरक्षण, बजारको नियमबमोजिम बजार व्यवस्थापन तथा बजारलाई स्वच्छ, पारदर्शी बनाउने प्रयोजनका लागि तोकिएको वस्तु/सेवासम्बन्धी उत्पादन वा पैठारीकर्तादेखि अन्तिम उपभोक्तासम्म पुर्‍याउँदा संलग्न हुने बजारको तह तोकिएबमोजिम हुनेछ,’ ऐनमा भनिएको छ ।

ऐनको दफा १९ मा अत्यावश्यक खाद्यवस्तु तथा अन्य वस्तु र सेवाअन्तर्गत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको सूची निर्धारण गर्नुपर्ने भनेको छ । सूचीमा अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको अधिकतम मूल्य तोक्नुपर्ने र बिक्रेताले अधिकतम मूल्यभन्दा बढी हुने गरी बिक्री गर्न/गराउन नपाइने उल्लेख छ । तर ऐन बनेको चार वर्ष बितिसक्दा पनि सरकार मौन छ ।

वार्षिक कोटा पुर्‍याउन बजार अनुगमन गरे पनि ऐनमा उल्लेख भएअनुसार काम गरिएको छैन । ऐन कार्यान्वयन गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग हुन् । तर अहिलेसम्म बजार तह निर्धारणमा कसैले ध्यान दिएका छैनन् । न बजार मूल्य निर्धारणमै चासो दिइएको छ । अराजक बजार नियन्त्रणको एक मात्रै विकल्प बजार तह निर्धारण र वस्तुको अधिकतम मूल्य तोक्नु हो । ‘विगत र अहिलेको तुलनामा अनुगमनमा कुनै फरक छैन । बजारमा धेरेजसो वस्तुको मूल्य मनोमानी बढेको छ । बजार तह र वस्तुको भाउ निर्धारणले धेरै हदसम्म मूल्य नियन्त्रण हुन्थ्यो । तर सरकार स्वयं बजार हस्तक्षेप गर्न चाहँदैन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘बजार तह तोक्नु भनेको हस्तक्षेप हो, सरकार व्यापारी चिढ्याउन चाहन्न ।’

खाद्यान्नमा व्यापारीहरूले ७ तहसम्म बनाएर लुट मच्चाएको महर्जनको दाबी छ । कृषिजन्य वस्तुमा ६ देखि ७ तहसम्म बनाएर किसानदेखि उपभोक्ता ठगिएका छन् । तर सरकार मौन छ । ‘खाद्यान्नमा ७ तह भनेको सानो होइन, सरकारी कर्मचारीकै मिलेमतोमा भएको ठूलो चलखेल हो,’ महर्जनले भने, ‘तर, अहिलेसम्म कुनै संयन्त्र नै बनेको छैन । सरकारले हस्तक्षेप गर्न नखोज्नु ठूलो रहस्य हो ।’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना पनि ऐनले बाध्यकारी बनाए पनि सरकारले कार्यान्वयनमा इच्छाशक्ति नदेखाएको आरोप लगाउँछन् । तरकारी, फलफूल, माछामासुलगायत खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि भइरहँदा तह निर्धारणले नियन्त्रणमा सजिलो हुने उनको भनाइ छ । तह निर्धारणसम्बन्धी काम गर्नुपर्ने निकाय मन्त्रालय र विभाग भए पनि व्यापारीको दबाबमा ती निष्क्रिय रहेको उनले बताए । ‘बजार तह निर्धारणले स्वत: सुधार ल्याउँछ । अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सजिलो हुन्छ,’ उनले भने, ‘तर, विडम्बना ४ वर्ष भयो, कुनै प्रगति छैन ।’

यसअघि वाणिज्य विभाग स्वयंले गरेको अध्ययनमा उत्पादकदेखि उपभोक्तासम्म खाद्य वस्तुको अस्वाभाविक तह देखिएको थियो । ०७७ असारमा गरिएको अध्ययनले उत्पादक र उपभोक्ताबीच ६ तहसम्म रहेको निष्कर्ष निकालेको थियो । अनुगमन टोलीले तेल, पानी, औषधि, सिमेन्ट र स्टिलमा अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको थियो । खाने तेलमा अधिकतम ४ देखि ६, पानीमा अधिकतम ३ देखि ५, जारमा ३ देखि ५ र बोतलमा ५ तह देखिएको थियो ।

पानीको ढुवानी गर्ने गाडीमा समेत तह देखिएको विभागको निष्कर्ष छ । औषधिमा ५, सिमेन्टमा ६, स्टिल उद्योगमा ४ र सर्जिकल सामग्रीमा १० देखि ११ तहसम्म व्यापारीको संलग्नता देखिएको थियो । बढी तह हुँदा उपभोक्ता ठगिने सम्भावना उत्तिकै रहन्छ । अत्यधिक तह देखिएपछि वाणिज्य विभागका तत्कालीन महानिर्देशक नेत्र सुवेदीले तह र मूल्य निर्धारण गर्न मापदण्डको मस्यौदा तयार पारेका थिए । विभागले तयार पारेको ‘वस्तु वा सेवाको बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्ड ०७७’को प्रारम्भिक मस्यौदामा तीन तह राख्ने प्रस्ताव थियो । मस्यौदामा उत्पादक, वितरक र बिक्रेता गरी तीन तहको मात्र बजार हुनुपर्ने र अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवा पुग्ने गरी बजार प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरिएको थियो । प्रारम्भिक मस्यौदा विभागकै पूर्वमहानिर्देशक योगेन्द्र गौचनले बनाएका थिए । उत्पादक, वितरक वा बिक्रेता र उपभोक्ता गरी समग्रमा तीन तहको व्यापार प्रणाली मात्र कायम गर्दा उचित हुने सुझाएका थिए । मस्यौदा तयार भए पनि बजार तह निर्धारण त्यत्तिकै तुहियो ।

‘बजार तह निर्धारण हुन नसक्दा बजारभाउ अनियन्त्रित छ । महँगी बढेको छ,’ गौचनले भने, ‘बजार तह र वस्तुको अधिकतम मूल्य निर्धारण गर्न सके मूल्य घटाउन सकिन्छ ।’ बजार तह र मूल्य निर्धारणको सन्दर्भमा ऐनमै व्यवस्था भएकाले तत्काल कार्यान्वयनतर्फ जानुपर्नेमा गौचनको जोड छ । ‘महँगी नियन्त्रण गर्ने उपाय नै तह निर्धारण हो तर मन्त्री र सचिवले राम्रोसँग यसबारे बुुझ्न सकेनन्,’ उनले भने, ‘इच्छाशक्ति भए तुरुन्तै कार्यान्वयन गर्न सकिन्छ ।’

यता विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने बजार तह निर्धारण गर्ने सन्दर्भमा अध्ययन गर्ने गरी मन्त्रालयमा प्रतिवेदन पेस गरिएको दाबी गरे । विगतमा ठोस रूपमा केही काम नभएकाले मन्त्रालयमा पुन: प्रतिवेदन पेस गरेको उनले जनाए । ‘मन्त्रालयले कार्यदल गठन गरे काम अगाडि बढ्छ । कार्यदलले कुन सामानको कति तहसम्म निर्धारण गर्ने, अत्यावश्यक वस्तुको सूची तयार पार्ने र मूल्य निर्धारणको मापदण्ड बनाउँछ,’ शर्माले भने, ‘कार्यदलले काम गरेपछि कार्यान्वयन गर्न सहज हुन्छ ।’

प्रकाशित : भाद्र ४, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

पहाडमा तरकारी क्रान्ति !

एक वर्षमा प्रतिव्यक्ति ५० लाख रूपैयाँसम्म कमाइ, परम्परागत, निर्वाहमुखी हुँदै किसान समृद्ध कृषितर्फ उन्मुख
दीपेन्द्र बडुवाल, गगनशिला खड्का

गुल्मी — गुल्मीको छत्रकोट–४ दिगामकी तिलका न्यौपानेका तीन छोरा घरबाहिरै छन् । माइला वैदेशिक रोजगारीमा छन् । जेठा काठमाडौंमा बस्छन् । कान्छो छोरा बुटवलमा रमेका छन् । घरमा तिलका र उनका पति कृष्णमात्र छन् । पौरखी दम्पती छोराबुहारीसित सन्चो–बिसन्चो सोधिरहन्छन् । तर, खर्च माग्दैनन् । बरु छोराबुहारीलाई अपुग भएका बेला घरबाटै पठाउँछन् । ‘छोराबुहारीले सके कृषि गर्नुस्/नत्र छाड्नुस् भन्छन्,’ तिलकाले भनिन्, ‘हाम्रो मन मान्दैन ।’

पौरखी यी दम्पतीका बारीमा अहिले खुर्सानी, काउली, बोडी, टमाटर, करेला र सिमी लहलह छन् । ‘फेरि साग रोप्ने तयारी छ,’ उनले भनिन्, ‘अहिले १५ रोपनीमा तरकारी खेती छ ।’ त्यसबाहेक बारीमा उखु रोपेका छन् । भुइँकटहर पनि राम्रो भएको छ । ‘खुदो पनि बिक्री गर्छौं,’ उनले भनिन्, ‘अब मकै छाडेर सबै बारीमा तरकारी रोप्ने सोच छ ।’ तरकारी बेचेर छोराछोरी पढाएको उनले बताइन् । ‘बाख्रा किन्न पुगेको छ,’ उनले भनिन्, ‘भैंसी खरिद गर्दा तरकारीकै आम्दानीले थपथाप भो ।’ बिरामी हुँदा उपचार खर्चका लागि कसैलाई गुहार्नु नपरेको उनले बताइन् । ‘यसपालि डल्ले खुर्सानी राम्रो फलेको छ,’ उनले भनिन्, ‘काउली, सिमी, काँक्रा र टमाटर तयार छन् ।’ न्यौपाने दम्पती प्रतिदिन दुई घण्टा उकालो उक्लेर डाँडापोखरीमा रहेको संकलन केन्द्रमा आउँछन् । ‘लौरो टेकेर आउँछौं,’ उनले भनिन्, ‘खेताला पाइँदैनन्, आफैं दु:ख गर्छौं ।’ अहिले यहाँका डाँडापाखा हरिया छन् । प्रत्येक घरमा तरकारी खेती गरिएको छ । यस्तो खेतीमा विविधता छ । जसले गर्दा सर्वसाधारणले बाह्रैमास आम्दानी गरिरहेका छन् ।

छत्रकोट–४ डाँडापोखरीका शारदा र नीलकण्ठ न्यौपाने दम्पती व्यावसायिक किसानका रूपमा कहलिएका छन् । बाँदरले मकै स्याहार्न नदिएपछि बसाइँ सर्ने सोचमा पुगेका थिए । जन्मेहुर्केको बस्ती छाड्न मन लागेन । बाँदरले हानि नपुर्‍याउने खेती गर्ने सोच बनाए । ‘सुरुमा काउली र आलु खेती थाल्यौं,’ नीलकण्ठले भने, ‘त्यसमा हानि पुर्‍याएपछि डल्ले खुर्सानी खेती गर्‍यौं ।’ घर आसपास २० रोपनी बारीमा खुर्सानीलगायत तरकारी खेती गरेका छन् । ‘मिनामकोटमा २२ रोपनीमा खेती गरिरहेका छौं,’ उनले भने, ‘यसपालि ६ हजार खुर्सानीका बोटबाट ५ लाख आम्दानी भयो ।’

गुल्मीको छत्रकोट गाउँपालिका–२, पल्लीकोटमा स्थानीय इमानसिंह रानाले टनेल प्रविधि अपनाएर गरेको टमाटर खेती । तस्बिर : दीपेन्द्र/कान्तिपुर

बारीमा एकपटक रोपेपछि २ देखि ७ वर्षसम्म फल्ने जातका खुर्सानीका बोट छन् । स्थानीय जातका खुर्सानी धेरै छन् । ‘सुरुमा ज्ञान भएन, अलि निराश भइयो,’ उनले भने, ‘अहिले प्राविधिकको सहयोगमा खेती गर्दा खुसी छौं ।’ बचेको बारीमा उखु रोपेका छन् । ‘यहाँको परम्परागत उत्पादन खुदो हो,’ उनले भने, ‘७/८ वर्ष भयो हामी तरकारीमा लागेको ।’ तीनवटा गाई छन् । दिन बिराएर ४५ लिटर दुध बिक्री गरिरहेको शारदाले बताइन् । ‘तरकारी, दूध, गुँड, खुदो र उखु बेचेर वर्षमा ४० देखि ४५ लाख रुपैयाँ कमाइ हुन्छ,’ उनले भनिन्, ‘१४ रोपनीमा स्ट्रबेरी खेती गर्ने तयारीमा छौं ।’ छोराछोरी बुटवलमा छन् । ‘यहाँ मिहिनेत गर्ने बूढाबूढीमात्र हौं,’ उनले भनिन् ।

रुरुक्षेत्र–५ बसाडका रामबहादुर नेपाली काउली किसान हुन् । उनको घरवरिपरि बारीमा अहिले काउली फुल्न तयार छ । चाडबाड नजिएकाले उत्साहित छन् । तीजदेखि दसैंसम्म फल्ने गरी मिलाएर खेती गरेका छन् । सात वर्षअघिसम्म मकै खेती गर्थे । सात वर्षदेखि काउली उत्पादन गरिरहेको उनले बताए । काउलीसँगै मुला र धनियाँ उत्पादन गर्छन् । जसले अतिरिक्त कमाइ हुने गरेको नेपालीको भनाइ छ । ‘गत वर्ष काउलीका १६ हजार बेर्ना जमाएर रोपें,’ उनले भने, ‘पाँच लाख बराबरको बिक्री गरें ।’ यसपालि लट अनुसार त्यति नै बेर्ना रोपेको उनले बताए । ‘एक किलो काउली फले ६० रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने, ‘एक घोगा मकैको ६० रुपैयाँ पर्दैन ।’ काउली खेतीबाट घाटा नहुने नेपालीको भनाइ छ । यहाँका साना किसान आवश्यकताअनुसार स्थानीय पैंचो पसलमा तरकारी बिक्री गरेर नुन, तेल, साबुनदेखि खाद्यान्न लैजान्छन् । ‘ठूला किसानले नगद प्राप्त गरिरहेका छौं,’ उनले भने, ‘पैंचो पसलले घरमै आएर तरकारी संकलन गर्ने भएकाले बजारको दु:ख छैन ।’

रुरुक्षेत्र–५ बम्घाका हिमलाल पुरीले ०४० सालबाट तरकारी खेती गरिहेको जनाए । ‘त्यस बेला जति फल्थ्यो, डोकोमा बोकेर उल्लीखोला र खैरेनी बजार पुर्‍याउँथें,’ उनले भने, ‘त्यति बेला थोरै खेती गर्दा पनि धेरै हुन्थ्यो ।’ किनेर खाने चलन नभएकाले कसैले एक किलो टमाटर मागे १० किलो सित्तैमा दिने गरेको उनले सम्झिए । अहिले ५ रोपनीमा तरकारी खेती गरिरहेको उनले बताए । ‘अहिले करेला र काँक्रो फलेको छ,’ उनले भने, ‘बोडी फल्दै छ ।’ अन्य तरकारीमा सिमी र काउली रोपेको उनको भनाइ छ । उनका तीन छोरा र एक छोरी हुन् । छोरीको बिहे भइसक्यो । एक छोरा काठमाडौंमा छन् । अर्का भारतमा छन् । कान्छा छोरा गाउँपालिकामा रोजगारी गर्छन् । ‘गत वर्ष साढे २ लाखको तरकारी बेचें,’ पुरीले भने, ‘बीउलाई मात्र खर्च हो, बाँकी परिश्रम बूढाबूढीले गर्छांै ।’ पहिले गोरुले जोतेर खनजोत गर्थे । दुई वर्षयता हाते ट्रयाक्टरले जोतिरहेका छन् । बस्तीमा सिँचाइ सुविधा छ । ‘बस्तुको मल हाल्छौं,’ पुरीले भने, ‘यसैको आम्दानीले छोराछोरीलाई डिग्रीसम्म पढाइयो ।’

बम्घामा रहेको स्मार्ट कृषि गाउँका अध्यक्ष चेतनारायण श्रेष्ठका अनुसार स्थानीय १ सय ५० परिवारले तरकारी खेती गरिरहेका छन् । गाउँबाट पैंचो पसलले मात्र वार्षिक २ करोड रुपैयाँको तरकारी खरिद गरिरहेको उनले जानकारी दिए । ‘सोचेको जस्तो भएको छ,’ उनले भने, ‘एकजुट भएर खेती गरिरहेका छौं ।’

यहाँका धेरैजसोले परम्परागत तरिकाबाट खेती गर्थे । धेरै उत्पादन हुँदा बिक्री गर्थे । नत्र घरमै खपत हुन्थ्यो । अहिले किसान आधुनिक बनेका छन् । उनीहरूले आधुनिक प्रविधिबाट खेती गरिरहेका छन् । जसले गर्दा उत्पादन बढेको छ । छत्रकोट–२, पल्लीकोटका इमानसिंह राना आधुनिक प्रविधि प्रयोग गर्नेमध्येका हुन् । भिरालो पाखामा उनले १४ वटा फलामका स्थायी टनेल निर्माण गरेका छन् । ६ वटा बाँसका छन् । ‘१० रोपनीमा टनेल निर्माण गरेर टमाटर खेती गरेको छु,’ रानाले भने, ‘त्यसमै भित्री बालीका रूपमा बोडी, सिमी र काँक्रा खेती गर्छु ।’ जीवनको उर्वर समय भारतमा बिताएको उनले बताए । ‘२० वर्ष भारतमा बसें,’ उनले भने, ‘पूरै भारत घुमेर वेल्डिङको काम गरेको छु ।’

०७२ सालबाट तरकारी खेती गरिरहेका रानाले भारतको दु:खभन्दा यहीं तरकारीबाट भइरहेको आम्दानी राम्रो भएको बताए । अहिले दिनरात तरकारी हेरचाहमा बितिरहेको छ । ‘रातभरि पनि टमाटरका बेर्ना रोपें,’ उनले भने, ‘आराम छैन, तैपनि दु:खी छैन ।’ उनले दुई जना नियमित कामदार राखेका छन् । उनीहरूलाई प्रतिव्यक्ति मासिक १२ हजार रुपैयाँका दरले पारिश्रमिक दिन्छन् । ‘साँझ एक छाक खाना दिन्छु,’ उनले भने, ‘वार्षिक ६ लाख आम्दानी हुन्छ ।’ जेठा छोरा बुटवलमा व्यवस्थापनमा स्नातक अध्ययन गरिरहेका छन् । कान्छा छोरा घरमै छन् । उनको घरमै तरकारी संकलन केन्द्र छ । त्यसैले आसपासका किसानले उत्पादन यहीं ल्याएर जम्मा गर्छन् । ‘सातामा दुई दिन तरकारी संकलन गर्छौं,’ रानाले भने, ‘पैंचोको गाडी आएर लैजान्छ ।’

छत्रकोट–१ स्थित ठूलापोखरा तरकारी उत्पादन केन्द्र हो । यहाँका प्रत्येक घरमा अहिले टनेलभित्र तरकारी लटरम्म छन् । धेरैले मल्चिङ प्रविधिबाट खेती गरेका छन् । स्थानीयका अनुसार यहाँका ५ सय घरधुरी तरकारी खेती गर्छन् । बिक्री र ज्याला मजदुरी गर्नेसमेत गाउँका ७ सय परिवार तरकारीबाट आत्मनिर्भर छन् । यहाँका २९ वर्षीय भुवन खराल सबैभन्दा धेरै आम्दानी गर्ने किसान हुन् । ‘जिल्लामा सबैभन्दा बढी आधुनिक प्रविधि प्रयोगमा ल्याउने पालिका यही हो,’ खरालले भने, ‘घरैपिच्छे प्लास्टिक टनेल र मल्चिङ विधि अपनाइएको छ ।’ गत वर्ष सबै ठाउँमा गरी आफूले ५० लाखको तरकारी उत्पादन गरेको खरालले जानकारी दिए । आफूले १० वर्षदेखि तरकारी खेती गरिरहेको उनले बताए । ‘घरवरिपरि ८० रोपनीमा तरकारी लगाएको छु,’ उनले भने, ‘पाल्पाको अर्गेलीमा ४ सय रोपनीमा खेतीको तयारी छ ।’

पहिले टमाटर र खुर्सानी यहाँ धेरै उत्पादन गरिन्थ्यो । अहिले रातो मुला, काँक्रो, टमाटर, काउली र बन्दा खेती गरिरहेको खरालले बताए । शिक्षाशास्त्रमा स्नातक भुवनले वैदेशिक रोजगारीमा जाने योजना बनाएका थिए । ‘सुरुमा दाइले तरकारी उत्पादन गरिरहेका थिए,’ उनले भने, ‘पछि विदेश जाने सोच त्यागेर यही खेतीलाई निरन्तरता दिएँ ।’ खेतीका लागि प्राविधिक सहयोग पंैचोले उपलब्ध गराइरहेको उनको भनाइ छ । ‘खेती सुरु गर्ने बेलादेखि पैंचो पसलका कृषि प्राविधिक घरमै आएर सल्लाह दिन्छन्,’ उनले भने, ‘उत्पादन भएपछि पैंचोले सबै तरकारी किनेर लैजाने भएकाले बजारको समस्या छैन ।’ वार्षिक ८ सय क्विन्टल टमाटर, २ सय क्विन्टल काउली, ३ सय क्विन्टल खुर्सानी र १ सय क्विन्टल रातो मुला उत्पादन गरिरहेको उनले सुनाए ।

जिल्लाभरिका किसानलाई सघाउन पैंचो पसल प्रालिले एक जना कृषिमा स्नातकसहित विभिन्न विधाका १६ जना प्राविधिक खटाइरहेको जनाएको छ । ‘बीउ राख्ने बेलादेखि हाम्रा प्राविधिकले किसानलाई सघाउँछन्,’ पैंचो पसलका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले भने, ‘कृषि उत्पादन गरेर मात्र हुँदैन, बजारीकरण मुख्य भएकाले किसानसित सम्झौता गरेर हामीले सबै तरकारी खरिद गरिरहेका छौं ।’ प्रत्येक गाउँमा संकलन केन्द्र रहेकाले स्थानीय आफ्ना उत्पादन त्यही ल्याएर तौलिने गर्छन् । तौलिएपछि विद्युतीय मेसिनबाट तुरुन्त भुक्तानी गरिन्छ । उक्त भुक्तानी किसानको खातामा जम्मा हुन्छ ।

प्रकाशित : भाद्र ४, २०७९ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×