१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फजुल खर्च कटौतीपछि उदयपुर सिमेन्ट नाफातिर

चन्दा, उपहार र सित्तैमा सिमेन्ट दिन रोकिएको छ, कर्मचारीलाई दिइने अनावश्यक काज रोक्दा पनि खर्च कटौती भएको हो –गोपीकृष्ण न्यौपाने, महाप्रबन्धक, उदयपुर सिमेन्ट
डिल्लीराम खतिवडा

उदयपुर — तीन दशकअघि जडित उपकरण (औजार, पार्टपुर्जा) को मर्मत सम्भारपछि उदयपुर सिमेन्ट उद्योगले पुन: गति लिएको छ । मर्मत सम्भार नै नगरी जबर्जस्ती सञ्चालन गरिँदा यसअघि उद्योग लगभग बन्द हुने अवस्थामा पुगेको थियो । उपकरणको मर्मत सम्भार र फजुल खर्च कटौतीपछि उद्योगले गत आर्थिक वर्ष ०७८/७९ मा ९० दशमलव ५२ प्रतिशत उपलब्धि प्राप्त गरेको हो । उक्त आर्थिक वर्षमा उद्योगले २१ लाख ७२ हजार ४ सय १९ बोरा सिमेन्ट बिक्री गरेको थियो । उद्योगले २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको थियो ।

फजुल खर्च कटौतीपछि उदयपुर सिमेन्ट नाफातिर

पूर्ण सरकारी स्वामित्वको सिमेन्ट उद्योग झन्डै ३० वर्ष पुरानो मिल र मेसिनरीको भरमा सञ्चालन हँुदै आएको छ । उद्योगले रोपवे, रोपवेको टावर, सेकेन्डरी क्रसर ह्यामर परिवर्तन, र–मिलको टायर, बियरिङ, लाइनर, हाइड्रोलिक सिलिन्डर, नचलेको रोलरमा सोलोनाइड भल्ब, जीसीटी पम्प, कोन, नोजललगायत १६ वटा उपकरण मर्मत गरेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जनाए ।

‘उपकरण मर्मतले उत्पादन वृद्धि भएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘तर पनि बजारमा सिमेन्टको माग उच्च हुँदाहुँदै पनि कहिलेकाहीँ माग धान्नै सकिँदैन ।’ इन्धनको मूल्य एवं कर्मचारीको तलब वृद्धि भइरहेको छ । तर उद्योगले गत आर्थिक वर्षमा सिमेन्टको मूल्य बढाएन । उद्योगको उत्पादन ‘गैंडा छाप’ सिमेन्टको मूल्यवृद्धि नहुँदा निजी उद्योगले समेत बिक्री मूल्य बढाएनन् । त्यसको लाभ उपभोक्ताले पाए ।

मर्मत सम्भारमा ध्यान दिनु, फजुल खर्च कटौती र उत्पादनमा जोडले उद्योग सही मार्गमा आएको प्रवक्ता पोखरलको भनाइ छ । ०७८/७९ मा उद्योगले भ्याटबापत १८ करोड ८२ लाख ६२ हजार २ सय २७ रुपैयाँ बुझाएको छ । अन्त:शुल्कबापत २ करोड ३८ लाख ९६ हजार ६ सय ९ रुपैयाँ राजस्व तिरेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

उद्योगले अग्रिम कर १ करोड ६० लाख २९ हजार ९ सय ७९, रोयल्टी ८३ लाख ५२ हजार ५ सय ८०, प्रदूषण शुल्क ५४ लाख ३२ हजार, विद्युत् महसुल २० करोड ७५ लाख ४० हजार गरेर ४४ करोड ९५ लाख १४ हजार रुपैयाँ करबापत बुझाएको छ । उद्योगले ०७७/७८ मा दैनिक औसत २ सय ४२ दशमलव १६ टन अर्थात् ४ हजार ८ सय ४४ बोरा उत्पादन भएकामा ०७८/७९ औसत ३ सय ६२ दशमलव शून्य ७ टन अर्थात् ७ हजार २ सय ४२ बोरा सिमेन्ट उत्पादन भएको छ । ०७७/७८ को तुलनामा ०७८/७९ मा ४९ दशमलव ५० प्रतिशत उत्पादन वृद्धि भएको छ ।

उद्योगमा करिब ५६ करोड रुपैयाँ थप लगानी गर्न सके प्रतिदिन ११ सय टनसम्म क्लिंकर उत्पादन गर्न सकिने गरी उद्योगको अपग्रेडेसन सम्भव भएको विज्ञको रिपोर्टबाट देखिएको छ । ०७७/७८ सम्म ३० प्रतिशतभन्दा कम उत्पादन रहेको स्थितिमा ०७८/७९ मा ३९ दशमलव १९ प्रतिशत उत्पादन हुनु उपलब्धि भए पनि उद्योगलाई नाफामा लैजान ५० प्रतिशतभन्दा बढी उत्पादन हुनैपर्ने तथ्यांकले पुष्टि गरेको बताइएको छ ।

चन्दा/उपहार र सित्तैमा सिमेन्ट दिने कार्य कटौती गरिएको छ । यसले फजुल खर्च रोकिएको महाप्रबन्धक न्यौपानेले बताए । उद्योगको वित्तीय विवरण एनएफआरएसअन्तर्गत बनेकाले ५ अर्ब ५० करोड घाटा पूर्ति भई ५६ करोड सञ्चित नाफा कायम भएको महाप्रबन्धक न्यौपानेले बताए । ‘कर्मचारीलाई दिइने अनावश्यक काज रोक्दा पनि खर्च कटौती भएको हो,’ उनले भने ।

प्रकाशित : भाद्र ४, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?