२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चिनियाँ नाकामा रोकिए दसैंका सामान

लुगाकपडा, जुत्ताचप्पललगायत सामान मक्किने चिन्ता, कन्टेनरभित्रै कुहिन थाले फलफूल 

रसुवा‚ सिन्धुपाल्चोक — चीनले गत सातादेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेपछि दसैं र तिहारका लागि आयात गरिएका व्यापारीका अर्बौं मूल्यका सामान केरुङमै रोकिएका छन् । तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको हो । निर्यातमा रोक लगाएपछि व्यापारीका अर्बौं मूल्य बराबरका सामान केरुङमै रोकिएका छन् । 

चिनियाँ नाकामा रोकिए दसैंका सामान

नाका बन्द हुँदा दसैं, तिहार र जाडोका लागि आयात गरिएका लुगाकपडा, जुत्ताचप्पललगायतका सामान रोकिएको व्यापारी धर्म पौडेलले बताए । ‘केरुङमा रोकिएका चिनियाँ ५० कन्टेनरमा दसैंतिहारका लागि सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो,’ उनले भने, ‘उतै थन्किएका छन् । नाका खुल्ने भन्ने निश्चित नहुँदा अन्योल भएको छ ।’ चिनियाँ एक सय कन्टेनर सामान केरुङका गोदाममा थन्किएको उनको भनाइ छ । अहिले दसैंतिहारका लागि चीनको ईयू, गोन्जाओलगायत सहरबाट धमाधम सामान आयात भइरहेको उनले जनाए ।

राजधानीलगायत मुलुकका मुख्य बजारमा चिनियाँ सामानकै वर्चस्व छ । केरुङमा रोकिएको सामान करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको पौडेलले बताए । नाका बन्द भएको बिहीबार १२ दिन पुगेको छ । कोरोनाका कारण चीनले अगस्ट २१ सम्म केरुङलगायत तिब्बतमा लकडाउन गरेको छ । तिब्बतमा लकडाउन भएका कारण केरुङसम्म आइसकेको सामान डाइभर्ट गरेर ल्याउन पनि नसकिने व्यवसायी बताउँछन् । केरुङबाट एक सातामा काठमाडौं आइपुग्ने सामान डाइभर्ट गरेर ल्याउन दुई महिना लाग्छ । दसैं सुरु हुन पाँच साता मात्र बाँकी छ ।

चाडबाडको मुखमा आयात रोकिँदा सबैभन्दा बढी मर्कामा आफूहरू परेको व्यवसायीहरूको गुनासो छ । दसैंका सामान समयमै काठमाडौं पुर्‍याउन नसकिए व्यापारीहरूले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने हिमालय सीमापार व्यापार संघका निवर्तमान उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । ‘आयातमा व्यापारीको खर्बौं रुपैयाँ लगानी छ । सिजनमा ल्याउन नसके ब्याज तिर्न सकिन्न,’ उनले भने । कोरोनाले दुई वर्ष थला परेको व्यवसाय तंग्रिन लागेका बेला फेरि नाका बन्द भएर सामान बाटोमै रोकिँदा मर्नु न बाँच्नुको अवस्था आउने व्यवसायीहरूको गुनासो छ । कोरोना भाइरस न्यूनीकरणको मापदण्ड पालना गर्दै चीनले रसुवागढी नाकाबाट हुने निर्यात तत्काल खोल्न सरकारले विशेष पहल गर्नुपर्ने श्रेष्ठको भनाइ छ । दसैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ । चाडबाडको मुखमा सामान नआउँदा बजारमा सामानको अभाव हुने, महँगी बढ्नेलगायतको समस्या हुने व्यापारी बताउँछन् । आयात रोकिनु अघिसम्म नाकाबाट प्रतिदिन बढीमा १४ चिनियाँ कन्टेनर सामान आयात भइरहेको थियो । रसुवागढी नाकाबाट गत शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले जनाए ।

‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन्, आयात ठप्प छ,’ उनले भने, ‘रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको ३० महिना भयो । मानिसको आवतजावत पनि बन्द छ ।’ चिनियाँ पक्षबाट आयात रोकेका विषयमा कुनै औपचारिक जानकारी भने नआएको मैनालीले जनाए । रसुवागढी नकाबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने विषयमा भएको सहमति कार्यान्वयन नहुँदै फेरि नाका बन्द भएको छ ।

गत असार ३० मा सम्पन्न नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा कोरोना भाइरस मापदण्डलाई पालना गर्दै रसुवागढी नाकाबाट आयात बढाउने तथा निर्यात गर्ने सहमति भएको थियो । भर्चुअल रूपमा भएको सीमासम्बन्धी परामर्श बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको सीमा तथा समुद्र सम्बन्धित मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको थियो । ०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात, निर्यात थप प्रभावित भएको हो । यसअघि पनि साढे पाँच महिना कोरोना महामारीका कारण नाका ठप्प रह्यो ।

खासामै अलपत्र डेढ सय कन्टेनर

कोरोनाका कारण सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाकाबाट हुने आयात बन्द हुँदा नेपाल ल्याउने सामान बोकेका डेढ सयभन्दा बढी कन्टेनर चीनको सिगात्से, न्यालम, खासा र ल्हासामै रोकिएका छन् । दसैं लक्षित लत्ताकपडा, जुत्ता–चप्पल जस्ता सामग्री बोकेका डेढ सयभन्दा बढी कन्टेनर खासा, न्यालम र ल्हासामै अलपत्र परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले जनाए । दसैं नजिकिँदै गर्दा चाडपर्व लक्षित व्यापारिक सामग्री उतै थन्किएपछि व्यापारी अन्योलमा छन् । ‘डेढ सयभन्दा बढी कन्टेनर उतै रोकिएका छन्, सामग्री कन्टेनरमै अलपत्र परेर बिग्रिरहँदा व्यापारी मारमा छन्,’ बस्नेतले भने । तिब्बत अटोनमस रिजन (टार) को इलाकाभेग खासा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनरमा रहेका स्याउ, लसुन र नासपातीजस्ता फलफूल कुहिएको तिब्बतस्थित सिल्क कम्पनीका व्यापारी वाङ्दी शेर्पाले बताए । ‘तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालम जस्ता बोर्डर एरियामा निषेधाज्ञा छ, दिनहुँ पीसीआर चेक भइरहेको छ, त्यसपछि मात्रै अरू गतिविधि खुला गर्ने चिनियाँ नीति छ,’ शेर्पाले भने ।

प्रकाशित : भाद्र ३, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?