कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

चित्तबुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गरिने

काठमाडौँ — काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्टीकरण सोधेको छ । करिब ५ हजार सदस्यको ७ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर सञ्चालकहरू फरार भएकाले उजुरी परेपछि सहकारी विभागले गत साउन १८ मा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।

गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

सोही सिफारिसका आधारमा उक्त सहकारीलाई १५ दिनको समय दिएर स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने निर्णय भएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताए । ‘सहकारीले बुधबार नै मन्त्रालयको पत्र बुझेको छ,’ उनले भने, ‘जवाफ पेश गर्न १५ दिनको समय दिइएको छ । तोकिएको समयमा चित्त बुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने मन्त्रालयको तयारी छ ।’

करिब डेढ महिनाअघि सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरु फरार भएपछि बचतकर्ताले आफूहरुको बचत फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी दिएका थिए । जसअनुसार बुधबारसम्म उक्त सहकारीका बचतकर्ताहरुबाट करिब १४ सयभन्दा बढी उजुरी परेको छ । ती उजुरीका आधारमा सहकारी विभागले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । विभागमा उजुरी भएको करिब दुई साता पछि सहकारीका अध्यक्ष रामबहादुर गौतमले कार्यालयमा फर्केर आफूले सबै बचतकर्ताको पैसा फिर्ता दिने बताएका थिए । तर, उनी सहकारी विभाग र प्रहरीसमक्ष उपस्थित भएका थिएनन् । यही कारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने प्रक्रिया थालेको हो ।

सहकारीका सञ्चालक फरार भएपछि काठमाडौं कुलेश्वरस्थित सहकारीको कार्यालय र डिपार्टमेन्ट स्टोरमा एभरेस्ट बैंकले सिलबन्दी गरेको छ । सहकारी विभागको अनुरोधमा संस्थाका अध्यक्ष गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, व्यवस्थापक रवीन्द्र विष्ट, सुपरभाइजर अनिल गौतम र लेखापाल सुनिता सिंहलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।रामबहादुर र निर्मलाको घरजग्गा रोक्का राख्न विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र पठाएको छ ।

प्रकाशित : भाद्र २, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?