कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विदेशी लगानी घट्यो

अघिल्लो आवको तुलनामा गत आवमा ९५ करोड रुपैयाँ कम, आएको लगानीमध्ये ८६ प्रतिशत जलविद्युत्‌मा
गत आवमा करिब ३० वटा कम्पनीमा विदेशी लगानी
यज्ञ बञ्जाडे

काठमाडौँ — गत आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत मुलुकमा १८ अर्ब ५६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा करिब ५ प्रतिशतले कम लगानी आएको हो । अघिल्लो आवमा १९ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको थियो । गत आवमा जम्मा १९ अर्ब २१ करोड ८९ लाख ८१ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । तर, सोही अवधिमा ६५ करोड ८६ लाख ७२ हजार विदेशी लगानी फिर्ता भएको छ । गत आवमा भित्रिएको विदेशी लगानीबाट बाहिरिएको रकम घटाएर राष्ट्र बैंकले कुल प्रत्यक्ष विदेशी लगानी गणना गरेको हो ।

विदेशी लगानी घट्यो

गत आवका सबै महिनामा सामान्य रूपमा भए पनि विदेशी लगानी बढेको राष्ट्र बैंकको तथ्यांक छ । वर्षभरि अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक उच्च अंकले ऋणात्मक रहे पनि मासिक रूपमा विदेशी लगानी बढ्नुलाई अर्थ क्षेत्रमा चासोका साथ हेरिएको छ । तथ्यांकमा बढी देखिए पनि यथार्थमा (परिमाणमा) निकै कम मात्र लगानी आएकाले अर्थतन्त्रमा त्यसको योगदान नगण्य देखिएको अर्थविद्हरूले जनाएका छन् । खासगरी कोभिड–१९ संक्रमणपछि विश्वव्यापी रूपमै अर्थतन्त्र मन्दीको दिशामा रहेकाले धेरै मुलुकमा विदेशी लगानीमा कमी आएको छ । त्यसको प्रभाव नेपालमा पनि परेकाले अपेक्षित रूपमा विदेशी लगानी बढ्न नसकेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘यद्यपि अरुण जलविद्युत् आयोजना, अपर कर्णालीलगायत परियोजनामा केही लगानी आएपछि गत वर्षका धेरै महिनामा विदेशी लगानी वृद्धिदर सकारात्मक देखिएको छ । तर, अघिल्लो वर्षको तुलनामा भने लगानी घटेको छ,’ उनले भने ।

गत आवमा कुल विदेशी लगानीमध्ये सबैभन्दा धेरै ८८.५ प्रतिशत उद्योग क्षेत्रमा, ३.५ प्रतिशत सेवा क्षेत्रमा र ७.९ प्रतिशत अन्य क्षेत्रमा आएको छ । उद्योगमा आएको कुल विदेशी लगानीमध्ये ८६.२ प्रतिशत जलविद्युत् आयोजनामा छ । गत आवमा करिब ३० वटा कम्पनीमा विदेशी लगानी आएको देखिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा अरुण तेस्रो जलविद्युत्, अपर कर्णाली जलविद्युत्लगायत आयोजनामा तुलनात्मक रूपमा बढी लगानी आएकाले धेरै लगानी उद्योग क्षेत्रमा आएको देखिएको राष्ट्र बैंकले जनाएको छ । जलविद्युत्पछि धेरै विदेशी लगानी आएको क्षेत्र होटल हो । गत आवमा सेवा क्षेत्रमा प्रवाह भएको विदेशी लगानीमध्ये होटल तथा रेस्टुरेन्टमा १.६ प्रतिशत, शिक्षामा ०.२ प्रतिशत, सूचना प्रविधिमा ०.९ प्रतिशत र स्वास्थ्य तथा सामाजिक सेवामा ०.८ प्रतिशत लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

विदेशी लगानी अपेक्षाभन्दा कम भएकाले विदेशी मुद्रा सञ्चिति वृद्धि र शोधनान्तर घाटा कम देखिने गरी योगदान नपुगेको राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् । ‘विदेशी लगानीको आकार निकै कम हो । यो वृद्धिलाई राम्रो अर्थमा विश्लेषण गर्न सकिँदैन,’ एक उच्च अधिकारीले भने, ‘अघिल्लो आवको आधार कम भएकाले गत आवमा थोरै लगानी आउँदा पनि प्रतिशतमा धेरैको वृद्धि देखिएको हो ।’ अघिल्लो आवका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । तर, गत आवका सबै महिनामा बढेको छ ।

वार्षिक रूपमा तुलना गर्दा अघिल्लो आवमा आएको विदेशी लगानीको तुलनामा गत आवको विदेशी लगानी करिब ९५ करोड रुपैयाँले कम हो । पछिल्ला केही वर्षयता नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको राष्ट्र बैंकको विदेशी लगानी सर्वेक्षणले देखाएको छ । अघिल्ला तीन आवमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी छ । नेपाल भित्रिएर लगानीमा रहेको कुल एफडीआईमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । यो नेपालमा आएर लगानीमा रहेको (स्टक) एफडीआई हो । नेपालमा कुल लगानीमध्ये भारतको हिस्सा ३१.५ प्रतिशत छ । उक्त अवधिसम्म भारतबाट ६२ अर्ब ४४ करोड रुपैयाँ लगानी आएको देखिन्छ । भारतबाट आएको कुल लगानीमध्ये ३९.१ प्रतिशत उत्पादनमूलक, ४२.२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बिमा र ३.७ प्रतिशत अन्य क्षेत्रमा छ । भारतपछि धेरै लगानी आउने राष्ट्र चीन हो । अघिल्लो आर्थिक वर्षसम्म चिनियाँ लगानीकर्ताबाट ३० अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो त्यतिबेलाको कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०.३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।

कर छल्न सजिलो मानिएको ‘ट्याक्स हेवन’ भनिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको सर्वेक्षणले देखाएको छ । यो कुल विदेशी लगानीको करिब साढे ७ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७५/७६ सम्म उक्त राष्ट्रबाट करिब २४ अर्ब रुपैयाँ लगानी आएको थियो । आयरल्यान्डबाट कुल लगानीको ६.५, सिंगापुरबाट ६.३, अस्ट्रेलियाबाट ५.५, यूएईबाट ३.६ र दक्षिण कोरियाबाट ३.६ प्रतिशत लगानी छ । यस्तै, अमेरिकाबाट ३.१, बंगलादेशबाट २.७ र अन्य शीर्षकमा करिब १४ प्रतिशत लगानी भित्रिएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ ।

प्रकाशित : भाद्र २, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?