आयल निगमले भन्यो : हाललाई मूल्य घटाउन सक्दैनौं - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

आयल निगमले भन्यो : हाललाई मूल्य घटाउन सक्दैनौं 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा हाललाई घटाउन नसक्ने आयल निगमले बताएको छ । एक विज्ञप्ति जारी गर्दै आयल निगमले समग्रतामा अझै पनि निगमलाई मासिक ६२ करोड ५८ लाख नोक्सानी रहेकाले मूल्य घटाउन नसकिएको जनाएको छ ।

निगमले हाल पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफा रहे पनि डिजलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले भारतीय आयल कर्पोरेसनलाई हाल २३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेकाले पनि मूल्य घटाउन नसकिएको बताए ।

भारतबाट मंगलबार मात्रै निगमलाई प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ । यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन ।


प्रकाशित : श्रावण ३१, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा ट्होटेंको रौनक [तस्बिरहरु]

दीपक परियार

पोखरा — गुरुङ समुदायको मौलिक पर्व ट्होटें मंगलबार पोखरामा मनाइएको छ । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार यो पर्व मनाइन्छ । यो पर्वले नकारात्मक उर्जालाई हटाइ सकारात्मक उर्जा दिने काम गर्दछ भन्ने जनविश्वास रहीआएको छ । आफ्नो गाउँठाउँ, बस्तीमा भूतप्रेत, रोगव्याधी र अनिकाल हटाउन वर्षमा २ पल्ट यो पर्व मनाइन्छ ।

ट्होटेंकै अवसरमा मंगलबार तमुधिं नेपालले विशेष समारोह आयोजना गर्‍यो । तमुधिंकै अगुवाइमा तमु संघसंस्थाले विसं २०५२ देखि साउन र चैतको अन्तिम मंगलबार सामूहिक रूपमा धुमधामका साथ यो पर्व मनाउँदै आएका छन् । यसपल्टको महेन्द्रपुलमा पूजाआजा गरी उधौली ट्होटें खेल्दै नयाँबजारस्थित तमुधिंको केन्द्रीय कार्यालय परिसरमा पुगेको थियो । र्‍यालीमा विभिन्न हातहतियार, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्तालगायत ऐतिहासिक सामग्री प्रदर्शनसमेत गरिएको थियो । समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी थिइन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारीलगायतले पनि ट्होटेंमा सहभागी भए । समारोहमा गुरुङ समुदायको मौलिक संस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोरा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो । ट्होटेंमा कास्कीका ५० भन्दा बढी तमु समाजमा आबद्ध हजारौं तमुहरु सहभागी थिए ।

भूतप्रेत भागोस् र रोगव्याधी नलागोस् भन्ने विश्वाससहित गुरुङ समुदायले ट्होटें पर्व मनाउँदै आएका थिए । पछिल्लो समय विकृति, विसंगतिको विरोध गर्दै आफ्नो पहिचान स्थापित गर्न यो पर्व मनाउन थालिएको छ । ‘ट्होको अर्थ राज्य, गाउँ, बस्ती र टें को अर्थ बैरी, विकृति, विसंगति, अन्याय, अत्याचर र विभेद धपाउने भन्ने बुझिन्छ । यो पर्व गण्डकी प्रदेशमा छरिएर रहेका गुरुङ समुदायले भव्यरुपमा मनाउने गर्छन् ।

काठमाडौं, चितवन, बुटवललगायत ठूला सहरमा बसोबास गर्ने गुरुङ समुदायले पनि ट्होटें मनाउँदै आएका छन् । ट्होटें पर्व मनाउन मंगलबार कास्कीका पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकाले शिक्षण संस्थामा बिदा दिएका थिए ।


प्रकाशित : श्रावण ३१, २०७९ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×