टिकेन सेयर बजारको वृद्धि, सबै सूचक घटे - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

टिकेन सेयर बजारको वृद्धि, सबै सूचक घटे 

कारोबार रकम भने बढ्यो
कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार ५५.८८ अंक बढेको सेयर बजारको परिसूचक नेप्से मंगलबार फेरि घटेको छ । त्यसअघि ५ दिन लगातार घटेको बजार सोमबार बढेको थियो ।  आज मंगलबार नेप्से २४.८३ अंक घटेको छ । सो अंकको कमीपछि २०४१ अंकमा अडिएको छ । कारोबार सुरु भएपछि ११: ३८ बजे नेप्से बढेर २०८८ अंकसम्म पुगेपनि त्यसपछि निरन्तर ओरालो लाग्यो ।

नेप्से घट्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएकोमा मंगलबार २ अर्ब ७३ करोडको कारोबार भयो । सेयर बजारका सबै सूचक घटेका छन् । बैंकिङ ३, विकास बैंक १०१, फाइनान्स ४७, होटल तथा पर्यटन २४, जलविद्युत् ७९, जीवन बीमा ८६, उत्पादन ९८, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा १४२, अन्य १० र ब्यापार उपसमूह ३८ अंक घटे ।

कुल १२ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो भने ४ को स्थिर रह्यो । अपर हेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभरको मूल्य सबैभन्द धेरै ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण ३१, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

सरिता श्रेष्ठ

धादिङ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुल नजिकै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको ट्रेलरले वाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा जिपमा सवार २ जनाको मृत्यु भएको हो ।

जिपमा सवार धादिङ ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।

दुर्घटनामा ट्रेलरका चालक र सहचालक पनि घाइते भएका थिए । सामान्य उपचारपछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत राति भएको दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १५:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×