२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बुटवल–बेलहिया व्यापारिक मार्गको बाँकी काम सक्न दबाब

संघ र प्रदेश निर्वाचनमा यही सडक मुद्दा बन्ने सम्भावना बढेपछि निर्माण पूरा गर्न सरोकारवालाको तत्परता

बुटवल — लामो समयदेखि अलपत्र रूपन्देहीको बुटवल–बेलहिया ६ लेन व्यापारिक मार्गअन्तर्गत बाँकी काम पूरा गर्न दबाब बढेको छ । अलपत्र सडक खण्डका कारण यात्रु र चालकलाई सास्ती छ । स्थानीय व्यापार चौपट बनेको छ । सडक निर्माणमा बेवास्ता भएपछि स्थानीय आक्रोशित छन् । बाँकी काम पूरा गर्न पहल नगरेको भन्दै स्थानीय सरकार र प्रशासनको आलोचना हुँदै आएको थियो । संघ र प्रदेश निर्वाचनमा यही सडक मुद्दा बन्ने सम्भावना बढेपछि यसको निर्माण पूरा गर्न सरोकारवालाले तत्परता देखाएका छन् ।

बुटवल–बेलहिया व्यापारिक मार्गको बाँकी काम सक्न दबाब

स्थानीय निर्वाचनमा व्यापारिक मार्गअन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क खण्ड चुनावी मुद्दा बनेको थियो । त्यस बेला सबै दलका उम्मेदवारले आफू विजयी भए तुरुन्त निर्माण पूरा गर्ने वाचा गरेका थिए । अहिले निर्वाचित जनप्रतिनिधिलाई निर्माण पूरा गर्न दबाब बढेको छ । वर्षा सुरु भएपछि उक्त खण्डमा ठूला खाडल बनेका छन् । जसले गर्दा पानी पर्दा हिलो र सुक्खा हुँदा धूलोको समस्या छ । सडकको बिजोग अवस्थाले घण्टौं गाडी जाम हुन थालेपछि पछिल्ला दिनमा चुनावी वाचा सम्झाउँदै स्थानीयले आक्रोश व्यक्त गर्न थालेका थिए । सर्वसाधारणले छिटो काम सक्न दबाब दिन थालेपछि बुटवल उपमहानगरपालिकाले निर्माण पूरा गर्न समन्वयकारी भूमिका खेल्न थालेको छ । यसमा जिल्ला प्रशासनले सहजीकरण गरिरहेको छ ।

उपमहानगरपालिकाको पहलमा एक महिनायता पटक–पटक आयोजना प्रमुख, निर्माण व्यवसायी, जनप्रतिनिधि, जिल्ला प्रशासन, विद्युत्, खानेपानी कार्यालयको सहभागितामा बैठक भइरहेका छन् । यस क्रममा ठेकेदार कम्पनीलाई काम गर्न प्रतिबद्ध तुल्याउनुका साथै निर्माणका क्रममा उत्पन्न अवरोध हटाउन भूमिका खेलिरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । केही दिनअघि भएको छलफलबाट व्यापारिक मार्गअन्तर्गत बुटवलतर्फको बाँकी काम गर्न अनुगमन र सहजीकरणका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको संयोजकत्वमा सहजीकरण समिति गठन भएको उनको भनाइ छ । समितिमा बुटवलस्थित विद्युत्, खानेपानी कार्यालयका प्रमुख, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष, ठेकेदार कम्पनीको तर्फबाट सुमित श्रेष्ठ र व्यापारिक मार्ग आयोजना प्रमुख दीपक झा छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकातर्फ निर्माण हुन बाँकी ७ सय ५० मिटर खण्डलाई पूर्णता दिन सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिति बनेको छ । उक्त समितिमा सिद्धार्थनगरमा रहेका विद्युत्, खानेपानी कार्यालय प्रमुख, ठेकेदार कम्पनीका तर्फबाट श्रेष्ठ र आयोजनाका तर्फबाट झा सदस्य छन् ।

उपमहानगरले अलपत्र सडक खण्डका बाँकी काम पूरा गर्न गरिएको पहलबारे जानकारी दिने र छिटो काम सक्न सरोकारवाला र स्थानीयको सुझाव संकलन गर्न छलफललाई निरन्तरता दिने जनाएको छ । उपमहानगरमा आयोजित छलफलमा आयोजना प्रमुख दीपककुमार झाले २७ किलोमिटर लम्बाइ रहेको व्यापारिक मार्गअन्तर्गत ती ठाउँमा निर्माण पूरा नभएको जानकारी दिए । सिद्धार्थनगरको सीमा नाका बेलहियामा ७ सय ५० मिटर निर्माण हुन बाँकी रहेको उनको भनाइ छ । ओमसतिया गाउँपालिकाको पडसरीमा सर्भिस लेनको काम बाँकी छ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म करिब तीन किमि खण्ड निर्माण पूरा भएको छैन । बेलहियामा निर्माण बाँकी रहेको खण्डको १ सय २० मिटर क्षेत्रको किनारा खाली गर्ने काम सकिएको छ । बाँकी खण्डमा अहिले भन्सार, इलाका प्रहरीका भवन र नाका प्रवेशद्वार छन् । ती संरचना नहटेकाले काम गर्न समस्या छ ।

‘बाँकी काम पूरा गर्न ठेकेदारलाई पटक–पटक पत्राचार गरिएको हो,’ प्रमुख झाले भने, ‘किनारा क्लियर भएका ठाउँमा समेत काम भएको छैन ।’ पडसरीमा सर्भिस लेन निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको छ । ‘वर्षा लागेपछि बाँकी २ सय मिटरको काम रोकिएको हो,’ उनले भने, ‘पानी पर्न रोकिएपछि त्यो काम पूरा हुन्छ ।’ अहिले समस्या भएको बुटवल खण्डमा हो । बुटवलको राजमार्ग चौराहादेखि गोलापार्कसम्म निर्माणका लागि ०७३ चैतमा निर्माण कम्पनीसित सम्झौता भएको थियो । ‘०७६ असोजमा निर्माण पूरा गर्ने सम्झौता थियो,’ आयोजना प्रमुख झाले भने, ‘उक्त अवधिमा काम नभएपछि दुई पटक म्याद थप भइसक्यो ।’

पहिलो पटक ०७७ जेठमा म्याद थपिएको थियो । उक्त अवधिमा काम नभएपछि मन्त्रिपरिषद्बाट निर्णय गरेर ०७९ असारमा म्याद थप भएको थियो । पछिल्लो अवधिमा पनि उल्लेख्य काम नभएपछि सर्वत्र आलोचना भइरहेको छ । राजमार्ग चौराहादेखि गोलपार्क खण्डमा घर नभत्काउन अदालतले दिएको अन्तरिम आदेशले गर्दा ढिलाइ भएको आयोजनाको भनाइ छ । लामो समयपछि सर्वोच्च अदालतले घर भत्काएर सडक निर्माण गर्न आदेश दियो । ‘त्यसपछि डिजाइन परिवर्तन गर्नुपर्‍यो,’ झाले भने, ‘यस खण्डमा नाली निर्माण पछि थपिएको हो ।’ नाली थप भएपछि यस खण्डको लागत ४५ बाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ । अहिले पनि पाँचवटा घर भत्काउन बाँकी रहेको उनी बताउँछन् । विद्युत्, टेलिकमका पोल, खानेपानीका पाइपले गर्दा निर्माणमा अवरोध भइरहेको छ । ‘विद्युत्का पोल र खानेपानीका पाइप हटाउने काम बाँकी छ,’ झाले भने, ‘मुख्य सडक क्लियर छ ।’

निर्माणमा कुनै प्रगति नदेखिएपछि आयोजनाले गत साउन १३ मा सूचना प्रकाशन गरेर निर्माण कम्पनीसित ठेक्का किन अन्त्य नगर्ने भनेर प्रस्टीकरण सोधेको थियो । त्यसपछि कञ्चनजंघा–बिरुवा निर्माण सेवाले जवाफ पेस गरेको छ । ‘निर्माण कम्पनीले चालु आर्थिक वर्षमा काम सक्ने गरी नयाँ तालिका पेस गरेको छ,’ प्रमुख झाले भने, ‘उक्त अवधिमा काम पूरा नगरे ठेक्का रद्द गरी जरिवाना गरिनेछ ।’ कञ्चनजंघा–बिरुवा निर्माण सेवाका प्रतिनिधि सुवित श्रेष्ठले भने ०७३ सालमा ठेक्का सम्झौतालगत्तै अदालतको अन्तिम आदेशले ढिलाइ भएको दाबी गरे ।

‘सुरुको डिजाइनमा ७२ मिटरमा काम गर्ने उल्लेख थियो,’ उनले भने, ‘०७८ सालमा आएको नयाँ डिजाइनअनुसार ८२ मिटरमा काम गर्नुपर्ने भयो ।’ त्यसले लागत बढेको उनले बताए । ‘७/८ करोडको नालीको काम थपियो,’ उनले भने, ‘सडकमा भएका अवरोध हटेमा चालु आर्थिक वर्षमा काम पूरा गर्छौं ।’ नयाँ तालिकाअनुसार काम नगरे कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । करिब तीन किलोमिटर खण्ड निर्माणमा वर्षौं लाग्नु सुखद पक्ष नभएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

ठेकेदार कम्पनीले निर्माण पूरा गर्न तालिका पेस गरेकाले त्यहीअनुसार काम पूरा गर्न सहजीकरण गरिरहेको उनको भनाइ छ । निर्माणमा कुनै अवरोध नपुगोस् भनेर विद्युत्, खानेपानी, टेलिकम, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधि बोलाएर छलफल गरिएको उनले बताए । ‘अब पनि आलटाल गरिए मान्य हुँदैन,’ पाण्डेले भने, ‘सहजीकरणका लागि समिति गठन गरिएको छ । नगर प्रमुख तात्नु भएको छ । म आफैं पनि जतिसुकै बेला सहजीकरण गर्न तयार छु ।’ निर्माणका लागि सरोकारवाला पक्षलाई घचघच्याउन यस्ता छलफल नियमित गरिने उनले बताए ।

प्रकाशित : श्रावण ३१, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?