कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उद्याेगका लागि एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले सरकारलाई विभिन्न १६ बुँदे सुझाव दिएको छ । उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग छलफल गर्दै चेम्बरले १६ बुँदे सुझावहरु दिएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरे ।

उद्याेगका लागि एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको सुझाव

औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवम् सीप प्रवर्द्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘विदेशमा सिकेको सीप र लगानी हाम्रा उद्योगहरुमा प्रवर्द्धन गर्न सकियो भने कहालीलाग्दो व्यापार घाटा कम गर्न सकिन्छ । यसका लागि सरकारसँग हातेमालो गर्न चेम्बर सदैव तयार छ ।’

औद्योगिक ब्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुका लागि एकल ब्याजदरको व्यवस्था कायम गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । दश करोड रुपैयाँ बराबरको विद्युत् खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवर्द्धन गर्न सकिने बताए ।

मुख्य मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुहरुको निर्यातमा पटक पटक समस्या आउने गरेको उनको भनाइ छ । यस्तै उद्योगहरुमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) व्यवस्थामा सहजीकरण गरिदिन पनि उनले सचिव ज्ञवालीसँग आग्रह गरे । चेम्बर पदाधिकारीसँगको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रवर्द्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । विदेशबाट फर्किएका युवाहरुको सिप र लगानी प्रवर्द्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको उनले बताए । यसका लागि वैदेशिक रोजगार सम्बन्धी छुट्टै रोस्टर बनाउने तयारी भइरहेको ज्ञवालीको भनाइ छ । वार्षिक ९ खर्ब रुपैयाँ बराबरको निर्यात क्षमता भएपनि यसबाट लाभ लिन नसकिएको उनले बताए । चेम्बरका पदाधिकारीसँग सचिव ज्ञवालीले उद्योगहरुमा वातावरणीय प्रभाव मूल्याङ्कन ईआईएको सहजीकरणमा आफूले पहल गर्ने बताए ।

प्रकाशित : श्रावण ३०, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?