नाफामा अब्बल सरकारी कम्पनी : विद्युत् प्राधिकरण, टेलिकम र राष्ट्रिय वाणिज्य बैंक
काठमाडौँ — कतिपय सरकारी कम्पनीहरु टाट पल्टिएर उठ्नै नसक्ने अवस्थामा रहेका बेला केही कम्पनीहरुले भने उत्साहजनक नाफा कमाइरहेका छन् । एक वर्षअघिसम्म राम्रो नाफा कमाएको आयल निगम अहिले घाटामा गएको छ भने केही वर्षअघिसम्म घाटामा रहेकाे नेपाल विद्युत् प्राधिकरणले अहिले सबैभन्दा धेरै नाफा कमाएको छ ।
सबैभन्दा धेरै नाफा कमाएकाे सरकारी संस्थान नै विद्युत् प्राधिकरण हो । सार्वजनिक वित्तीय विवरणअनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ९ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा उसको नाफा १६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा प्राधिकरणले १ खर्बको बिजुली बिक्री गरेको जनाएको छ । कुशल व्यवस्थापन, चुहावट नियन्त्रण र बिजुली उत्पादन बढेसँगै प्राधिकरणको नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्ष कम्पनीको नाफा अझै बढ्न सक्ने छ ।
सबैभन्दा धेरै नाफा कमाउनेमा दाेस्रो सरकारी कम्पनी हो- नेपाल टेलिकम । नेपाल टेलिकमले गत आर्थिक वर्ष ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमले अघिल्लो अर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो कम्पनीको जगेडा कोष पनि निकै मजबुत छ । जगेडा कोषमा ७७ अर्ब रुपैयाँ छ । यो कम्पनीमा करिब ९२ प्रतिशत सेयर हिस्सा सरकारको छ । विभिन्न संस्था र सर्वसाधारणको करिब ८ प्रतिशत हिस्सा छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५६ पैसा छ ।
टेलिकमपछि सबैभन्दा धेरै नाफा कमाएको तेस्रो सरकारी संस्था हो राष्ट्रिय वाणिज्य बैंक । सबै बैंकहरुलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २१ करोड खुद नाफा कमाएको छ । सो बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ४२ करोड खुद नाफा कमाएको थियो । शत प्रतिशत सरकारी स्वामित्व रहेको यस बैंकले कमाएको नाफाबाट दिने सबै लाभांश सरकारलाई जान्छ । गत आर्थिक वर्षको नाफाबाट यस बैंकले ३ अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्ने क्षमता राख्छ । यो सरकारी बैंकको आधार व्याजदर अरुकोभन्दा कम ७.८६ प्रतिशत मात्रै भएकाले ऋण लिनेका लागि पनि ब्याज अरुकोभन्दा सस्तो पर्न आउँछ ।