मार्सीभन्दा महँगो चिनो चामल

मुरीका नामले चर्चित चिनोको माग बढेपछि जुम्ली किसान खेतीमा हौसिएका छन्
डीबी बुढा

जुम्ला — चन्दननाथ नगरपालिका–८ तलिउमकी बास्मती रोकायाको बारीमा टन्न चिनो फलेको छ । तीन वर्षयता उनले झन्डै ५ रोपनीमा चिनो खेती गरेकी छन् । बजारमा चिनो चामलको माग बढ्न थालेपछि हरेक वर्ष उनले चिनोको चामल बेच्छिन् । एक साताअघि मात्र उनले जुम्ला सदरमुकाम खलंगामा प्रतिकिलो १ सय ५० रुपैयाँका दरले चिनोको चामल बेचेर २५ हजार कमाइन् । चिनोको चामललाई स्थानीय भाषामा मुरी भनिन्छ । बजारमा मुरीको माग बढ्न थालेपछि जुम्ली किसान चिनो खेतीमा हौसिएका छन् ।

मार्सीभन्दा महँगो चिनो चामल

सदमुकाम खलंगा बजारमा चिनोको चामल (मुरी) प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्ममा किनबेच भइरहेको छ । ‘चिनोको चामल प्रशोधन गर्ने मेसिन नहुँदा समस्या छ,’ उनले भनिन्, ‘परम्परागत ओखलमा कुट्दा झन्झटिलो लाग्छ । तर बजार मूल्य हेर्दा निकै बढी छ ।’ तिला गाउँपालिका–८ का पन्ना रावत एक महिनाअघि बुहारीसहित एक क्विन्टल मुरी लिएर सदरमुकाम खलंगा आइपुगे । बजारमा मुरी बिक्छ कि बिक्दैन भन्ने अन्योलबीच बजार पुगेको उनको भनाइ छ । तर बजार पुग्नेबित्तिकै चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले उनको मुरी किन्यो । १५ हजार हातमा आएपछि उनले खुसी हुँदै भने, ‘चामल त चिनोको पनि बिक्दो रहेछ । गाउँमा गरिबको खानाका रूपमा हेरिन्छ । तर मुरी त मार्सी चामलभन्दा महँगो रहेछ ।’

हाल खलंगामा मार्सी चामल किलोको १ सय ५० रुपैयाँमा किनबेच भइरहँदा चिनो चामल १ सय ८० देखि दुई सय रुपैयाँसम्म पुगेको छ । ‘चिनो चामलको बजार महँगो छ । अब चिनो खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँछौं । गाउँभरि चिनो चामल उत्पादन हुन्छ । तर बजारको बारेमा लामो समय गाउँमै थन्किन्छ,’ पन्नाले भने । चिनोको भातभन्दा खिर झनै स्वादिलो हुन्छ । सुर्खेत, नेपालगन्ज र काठमाडौंको बजारमा दुई सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँ किलोमा समेत मुरी बेच्ने गरिएको व्यवसायी बताउँछन् ।

तिला–१ रारामा २ सय ८५ भन्दा बढी घर छन् । सबै घरमा चिनो उत्पादन हुन्छ । उनीहरूका हरेक घरमा न्यूनतम ३० किलोदेखि अधिकतम दुई क्विन्टलसम्म मुरी बेच्ने गरी उत्पादन हुन्छ । ‘पहिले चिनो खेतीको कुनै महत्त्व बुझिएन । अहिले चिनोको बजार दर हेर्दा मात्र थाहा भयो । चिनो खेती किसानका लागि फाइदाजनक रहेछ,’ स्थानीय अर्जुन बुढाले भने । उनी गाउँबाट मुरीलगायतको रैथाने खाद्यान्न खरिद गर्ने व्यापारी पनि हुन् । उनले बर्सेनि ५ देखि १० क्विन्टलसम्म मुरी सुर्खेत, नेपालगन्ज र काठमाडौंका सहरसम्म पठाउने गरेका छन् । ‘बजारमा माग धेरै छ । मूल्य पनि राम्रो भएकाले किसान पनि खेती गर्न इच्छुक छन् । मुरी बेचेर राम्रै आम्दानी गर्न सकिने सम्भावना छ,’ उनी भन्छन् ।

जुम्लामा रैथाने वस्तु बिक्री गरिरहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीले गत वर्ष सुर्खेत, नेपालगन्ज, काठमाडांैं र कैलाली गरी १० क्विन्टल चिनोको चामल बाहिर जिल्ला पठाएको जनाएको छ । सहकारीले चामल प्रशोधनका लागि १० क्विन्टल चिनो भण्डारण गरेर राखिएको छ । चिनो कुट्ने मिलसमेत ल्याइसकेको र बिजुलीको नियमितता नभएकाले प्रशोधन गर्न नसकिएको सहकारीका प्रबन्धक क्रृषिराम पाण्डेले बताए । ‘यहाँको उत्पादन सहरका सुविधासम्पन्न होटलमा पाहुनाको खान्की बनिरहेको छ । तर जिल्लामै चिनोको महत्त्व बुझ्न नसक्नु विडम्बना नै हो ।’

जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाका ६० वटै वडामा चिनो उत्पादन हुन्छ । कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र राराताल घुमेर आउने हरेक पर्यटकको रोजाई चिनोको चामल हुन्छ । चिनोमा धानको चामलभन्दा कम मात्रमा कार्बोहाइड्रेड पाइने जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीको भनाइ छ । ‘तर प्रोटिन, खनिज, लवण, भिटामिन, घुलनशील रेसा पदार्थलगायत अन्य विभिन्न पौष्टिक तत्त्व धानको चामलमा भन्दा बढी मात्रामा पाइन्छ,’ उनले भने ।

जुम्लामा दुई सय हेक्टरमा चिनोको खेती गरिएकोमा २ सय ५० टन उत्पादन हुन्छ । प्रतिहेक्टर १.३ टन चिनो उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्यांक छ । चिनो खेती चैतको दोस्रो साता र असारको पहिलो साता बीउ छरिन्छ । बीउ छरेको २ देखि ५ दिनमै उम्रिन्छ । असारमा छरेको चिनो कात्तिकसम्म पाक्छ । चैतमा छरेको चिनो जेठ अन्तिमतिर पाक्छ । बाला टिपेर एक/दुई दिन एकै ठाउँमा खन्याइन्छ । खुट्टाले माडेर भुस उडाई दाना निकालिन्छ । दुईदेखि तीन दिनसम्म घाममा सुकाई राम्ररी भण्डारण गर्न सकिन्छ ।

मल धेरै नचाहिने, अकासे पानीले पुग्ने, चर्को घाम र सुक्खा सहने, माड्न वा चुट्न सजिलो हुने, वर्षौंसम्म राख्न सकिने र भण्डारण गर्दा किरा नलाग्ने भएकाले चिनो किसानका लागि निकै सजिलो बाली मानिन्छ । चिनो चामल स्वास्थ्यका हिसाबले निकै लाभदायक हुने भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयको कृषि महाशाखा प्रमुख धनबहादुर कठायत बताउँछन् । मधुमेह भएका मानिसका लागि चिनो उत्तम खानेकुरा मानिन्छ । चिनोमा शरीरलाई विभिन्न रोगबाट बचाउन, खाना पचाउन पाचन रसहरू सक्रिय हुन आवश्यक कोफ्याक्टरका रूपमा काम गर्ने तत्त्वसमेत पाइने गरेको कृषि प्राविधिक बताउँछन् ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?