१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
विद्युत् तार भूमिगत

गत कात्तिकमै सकिनुपर्ने ठेक्कामा फेरि म्याद थप

४२% प्रतिशत मात्रै काम सकियो 
हेमन्त जोशी

काठमाडौँ — काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण परियोजनाको काम सुस्त देखिएको छ । उपत्यकाभित्रको विद्युत् प्रसारण लाइन, वितरण प्रणाली र केबललाइन भूमिगत गर्ने काम थपिएको समयसीमाभित्र पनि सम्पन्न हुन नसक्ने देखिएको हो । 

गत कात्तिकमै सकिनुपर्ने ठेक्कामा फेरि म्याद थप

०७६ फागुनबाट सुरु भएको परियोजनाको काम तीन चरणमा ठेक्का लगाइएको छ । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार पहिलो, दोस्रो र तेस्रो चरणका काममा क्रमशः ६८, ४७ र १० प्रतिशत बराबर मात्रै प्रगति देखिन्छ । परियोजना सुरु भएको ३० महिनाभित्र सबै काम सकिसक्ने लक्ष्य राखिए पनि हालसम्म औसत ४२ प्रतिशत बराबर मात्रै काम सकिएको छ ।

विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजनलाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने जिम्मा प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर अहिले कुरूप देखिने विद्युत् पोल तथा बाहिरी तारलगायत संरचनालाई हटाउने उसको योजना छ । परियोजनाअन्तर्गत पहिलो र दोस्रो चरणको काम गत कात्तिकमै सकिसक्नुपर्थ्यो । तर कोभिडका कारण काममा ढिलाइ भएको भन्दै १५ महिना समय थपिएको छ । संशोधित कार्यतालिकाअनुसार आगामी पुसभित्रमा पहिलो र दोस्रो चरणका सबै काम सकिसक्नुपर्छ । तर थपिएको यस अवधिमा पनि काम नसकिने परियोजनाका अधिकारीहरू बताउँछन् । एसियाली विकास बैंक (एडीबी) को ऋण लगानीमा अघि बढिरहेको परियोजनाको काममा ढिलाइ हुँदा लागत पनि बढ्ने देखिन्छ । तीनवटै चरणका कामका लागि ११ अर्ब रुपैयाँ बराबर लागत अनुमान गरिएको छ ।

पहिलो चरणअन्तर्गत काठमाडौंको मध्यपश्चिम क्षेत्र पर्छ । यस क्षेत्रको वितरण कार्य भूमिगत गर्ने काम करिब ६८ प्रतिशत सकिएको प्राधिकरणले जनाइएको छ । आगामी पुससम्ममा सक्ने लक्ष्य राखिए पनि त्यो समयसीमा बढेर चैतसम्म पुग्न सक्ने भूमिगत वितरण प्रणाली फेज–१ का प्रमुख अभिशेष अधिकारीले जानकारी दिए । ‘आगामी जनवरीसम्ममा सक्ने लक्ष्य राखिएको छ । तर हालसम्मको प्रगति हेर्दा त्यसमा अझै दुई–चार महिना थप्नुपर्ने देखिएको छ,’ अधिकारीले भने, ‘फटाफट गर्ने हो भने पहिलो चरणको काम ६ महिनाभित्र सकिन्छ । तर चक्रपथलगायत सडक विभागको क्षेत्राधिकारमा पर्ने स्थानमा काम कसरी अघि बढाउने भन्ने अन्योल अझै सुल्झिएका छैनन् ।’

सडक विभागले भदौ मसान्तसम्ममा सडक खन्न रोक लगाएको छ । त्यसैगरी तार बिछ्याउन सडक खनेपछि त्यसलाई पुर्ने र सँगसँगै कालोपत्र पनि गर्नुपर्ने भएकाले वर्षायाममा यी काम रोकिएको हो ।

अर्कोतर्फ चक्रपथ क्षेत्रमा तार बिछ्याउने काम कसरी अघि बढाउने भनेर अझै अन्योल देखिन्छ । सडक विभागले चक्रपथ विस्तारको काम पनि गरिरहेको छ । पहिलो चरणअन्तर्गत पर्ने गोंगबु बसपार्कदेखि चाबहिलसम्म विद्युतीय संरचना भूमिगत हुन बाँकी छ । चक्रपथ विस्तार कसरी हुन्छ र विद्युतीय संरचना कहाँ राख्ने भन्ने टुंगो छैन ।

‘महानगरपालिका र नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सडकमा हामीले काम गर्‍र्यौं । तर सडक विभागअन्तर्गत पर्ने चक्रपथलगायतका मुख्य सडकमा विभागको अनुमति नै पाइएको छैन,’ आयोजना प्रमुख अधिकारीले भने, ‘ती क्षेत्रमा प्यानललगायत संरचना कहाँ राख्ने भन्ने स्पष्ट छैन ।’ प्राधिकरणले सबैभन्दा पहिले रत्नपार्क वितरण केन्द्र र महराजगन्ज वितरण केन्द्र जोड्ने गरी काम सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत महाराजगन्ज क्षेत्र, सांग्रिला होटल, गंगालाल अस्पतालदेखि बूढानीलकण्ठ क्षेत्रसम्ममा काम सकिएको छ । चक्रपथ, गोंगबुलगायत क्षेत्रमा काम बाँकी छ ।

परियोजनाको दोस्रो चरणअन्तर्गत ६ सय ५ किलोमिटर क्षेत्रमा विद्युतीय संरचना भूमिगत गर्नुपर्नेमा हालसम्म २ सय ८५ किलोमिटर भूमिगत गर्ने काम सकिएको आयोजना प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । ‘फेज–२ मा ११ केभी प्रसारणलाइन २१७ किलोमिटर रहेकामा १०५ किमिमा काम सकिएको छ । वितरणतर्फ ३८८ किमिमध्ये १८० किमि सकिएको छ,’ श्रेष्ठले भने । पूर्व–उत्तर क्षेत्रमा पर्ने दोस्रो चरणको ठेक्कामा लैनचौरदेखि सांग्रिला होटल, चाबहिलदेखि चुच्चेपाटी, मित्रपार्क, नयाँबजार, खुसिबु, कोटेश्वर, जडीबुटीलगायत क्षेत्रमा काम सकिइसकेको छ ।

न्युरोड, जमल, पुतलीसडक, टेकु, थापाथली, माइतीघर एयरपोर्ट, सोह्रखुट्टे, बालाजु चोक, नयाँबजारलगायत क्षेत्रमा काम गर्न बाँकी छ । दोस्रो चरणको काम पनि गत वर्ष कात्तिकमै सकिसक्नुपर्ने थियो । तर काम नसकिएपछि १५ महिना समय थपिएको थियो, जसअनुसार आगामी पुसभित्र काम सकिसक्नुपर्ने हो । तर यस अवधिमा काम सक्न मुस्किल रहेको श्रेष्ठले बताए । ‘वर्षा लागेयता परियोजनाको काम शून्य छ । अब असोजबाट सुरु गर्छौं,’ उनले भने, ‘थपिएको १५ महिना पनि आगामी जनवरीमा सकिँदै छ । तर फेरि ६ महिना समय थप्नुपर्ने देखिन्छ ।’ आयोजनाको तेस्रो चरणको काम करिब १० प्रतिशत सकिएको छ ।

अहिले कीर्तिपुर क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख पीयूष मालाकारले जनाए । ‘तेस्रो चरणको ठेक्कामा भौतिक प्रगति १० र वित्तीय प्रगति करिब २० प्रतिशत बराबर छ,’ मालाकारले भने, ‘जुन गतिमा गरिनुपर्थ्यो, त्यो हामीले सकिरहेका छैनौं । तर २०२३ को डिसेम्बर अन्तिमसम्ममा सकिसक्ने लक्ष्य राखेका छौं,’ उनले भने । पश्चिम क्षेत्रअन्तर्गत पर्ने तेस्रो चरणको ठेक्कामा जोरपाटी, साँखु, बानेश्वर, पेप्सीकोला, टाउनप्लानिङ, कीर्तिपुर, कलंकी, कुलेश्वर, बालाजुलगायत क्षेत्रमा वितरण प्रणाली भूमिगत हुनेछ । परियोजनाको पहिलो र दोस्रो चरणको ठेक्का भारतीय निर्माण कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले पाएको छ भने तेस्रो चरणको ठेक्का एलएनटी कन्स्ट्रक्सनले पाएको छ ।

विद्युतीय तार, केबललगायत संरचना भूमिगत गर्दा प्राधिकरणले लापरबाही गरेको भन्दै सडक विभागले काममा रोकसमेत लगाएको थियो । विद्युतीय प्यानललगायत संरचना जथाभावी सडकपेटीमै राख्दा एकातिर पैदल यात्रीले सास्ती पाएको र अर्कोतर्फ गम्भीर दुर्घटनाको समेत जोखिम देखिएको विभागको भनाइ छ । तर फुटपाथमा राखिएका संरचना पैदल यात्रुलाई अप्ठ्यारो नहुने गरी सानो आकारका राख्ने प्राधिकरणको प्रतिबद्धतापछि विभाग पनि त्यसमा सहमत भएको जनाइएको छ । प्रसारण संरचनाबाट घरसम्म तार लैजाने काम पनि सुरु भइसकेको प्राधिकरणले बताएको छ । घर–घरमा बत्ती पुर्‍याउने काम एम्बेसडर होटलदेखि महाराजगन्जसम्ममा पहिलो चरणमा गर्ने गरी काम सुरु भएको छ ।

उपत्यकाको विद्युत् वितरण प्रणाली अस्तव्यस्त रहेका कारण प्राधिकरणले उच्च प्रविधियुक्त भूमिगत र स्वचालित विद्युत् वितरण प्रणाली वितरण गर्ने गरी यो योजना अघि बढाएको थियो । अहिले काठमाडौंमा मात्र सुरु भएको यो योजना उपत्यकाका भक्तपुर तथा ललितपुर र उपत्यका बाहिरका महानगरपालिका र उपमहानगरपालिकामा कार्यान्वयन गर्ने प्राधिकरणको योजना छ । तर काठमाडौंभित्रकै काममा ढिलाइ भएपछि पोखरा, भरतपुरलगायत मुख्य सहरमा विद्युतीय संरचना भूमिगत गर्ने कामले गति लिन सकेको छैन ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?